Friday, December 26, 2014

एलियन ‘पीके’


 गुमाउनु । संघर्ष । सफलता । सामान्य विषयवस्तुको उपलब्धी उत्कृष्ट ।
माया । प्रेम । अफेयर । एकआपसमा जेलिएर कसिएको विशिष्ट ।
हरेक संवाद हाँस्यास्पद र गहिरो भावमा जोडिएको छ पीकेमा । दुःख र समस्याको उन्मुक्ती, खुशी र हाँसोको खोजीमा अडिएको कथावस्तु । ईश्वरको खोजीलाई सामान्य र सरल अनि मिहिन प्रस्तुतीकरणले उत्कृष्ट बनाएको छ पीकेलाई ।
मानिसको अध्ययन गर्न अर्कै ग्रहबाट आएर फर्किन नपाएको एलियन र एलियनको संघर्षका क्रममा उसँग जोडिन आउने पात्रहरुको प्रस्तुतीको वरिपरि घुमेको कथाले क्षणिक मनोरञ्जन मात्र पस्किएको छैन । साझा सन्देश पनि पस्किएको छ । धर्म र धर्मसँगै जोडिएका व्यवहारलाई केलाईएको छ ।
मानिसका दैनिकी जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय नै पीकेको प्रमुख कथा बनेको छ । त्यही कथालाई राजकुमारी हिरानी र विधुविनोद चोपडाको जोडीले उत्कृष्ट बनाएर प्रस्तुत गरेको छ । थ्री इडियट्स बाट वाहवाही बटुलेको पाँच वर्षको अन्तरमा यो जोडीले बनाएको यो फिल्म दर्शकले थ्री इडियट्स जस्तै मन पराएका छन् ।  
 फरक अनि जीवनलाई गति दिने सन्देशलाई प्रस्तुत गर्ने कलाकारको छवि बनाएका आमिर खान पीकेबाट सफलताको अर्को एक खुड्किलो उक्लिएका छन् । छोटो भुमिकामा देखिएका कलाकार सबैको प्रस्तुती उत्कृष्ट रहेको छ ।
पीके बौद्धिक श्रेणीको उत्कृष्ट फिल्म बनेको छ । फरक शैलीको प्रस्तुतीले फिल्मी क्षेत्रमा फरक फिल्मको रुपमा पीकेलाई स्थापित गरेको छ । पीकेले दर्शकलाई मनोरञ्जन मात्र दिँदैन । छुट्टै सन्देश दिन पनि सफल भएको छ ।
आमिर खानको फिल्म भन्ने बित्तिकै दर्शको अपेक्षा नै फरक हुन्छ । रमाईलो मात्र होईन् केही विशेष हुन्छ भन्ने आम दर्शकको धारणालाई फिल्मले मर्न दिएको छैन ।

Tuesday, November 18, 2014

उनी अामा

उनी दाउराको भारी मिलाउँदै थिईन् । उनको के कुराले मेरो ध्यान तान्यो । मेशो भएन । र पनि उनको फोटो खिच्न मन लाग्यो । ब्यागबाट क्यामेरा झिकेर उनको नजिक गएँ । उनी उभ्याईएको दाउराको भारीमा बाँकी रहेका दाउरा माथिबाट राखेर मिलाउँदै थिइन् ।
दाउरा लिन आउनु भएको हो, आमा ! मेरो प्रश्न सोधाईमा उनले उत्तर दिईन् सँधै आम्छु नानी । उनी बोल्दा अगाडीका केही दाँत झरेकाले थोते देखियोे । मिठाई खानुहुन्छ ?? मैंले अर्को प्रश्न सोधें । खान्छु नी उत्तर आयो । रसवरी भएको प्याकेट उनको हातमा राखिदिएँ ।
उनको आँखा रसायो । नानीले माया गरेर दिएको खान्छु नी भन्दै चोलोको खल्तीमा राखिन् । आमाको फाटो खिच्छु है मैंले सोधें । स्विकृती पाएपछि केही फोटाहरु खिचें ।
नारायणगढ नारायणी किनार छेउमा घर भएको उनले बताईन् । उमेर ९० वर्ष । ‘९० सालको भुइँचालो जाँदा छोरी १८ वर्षकी भई भन्थे’ जन्मेको साल भन्न सकिनन् । ११ वर्षे उमेरमा विहे भएको उनले बताईन् । घर, माईतीका पीडा, ६ छोरा र २ छोरीकी आमा भएर भएर पनि भोगिराख्नु परेको दुःख सुनाईन् । छोरीहरुले सँगै बस्न बोलाए पनि कुटुम्बको घर जान नहुने उनले बताईन् ।
छोरा र छोरी एउटै होईन् र ?? मेरो प्रश्नमा उनले भनिन् समाजले राम्रो मान्दैन नी नानी ।। कहिलेकाँही धाएर जाँदा उनारको राम्रो देख्छु । यहीमा खुशी लाछ ।
म उनीबाट बिदा भएँ । अलि पर आएर फर्केर हेर्दा उनी खुशी मानेर रसवरी खाँदै थिइन् । मनमा एक प्रकारको आनन्द भरिएर आयो । दिउँसो एउटा पत्रकार सम्मेलनमा जाँदा दिईएको खाजाको प्याकेट थियो त्यो ।
देवघाटको बागेश्वरी नजिकै ती आमालाई भेटेको थिएँ । उनको उमेर ठ्याक्कै कति थियो त्यो अन्दाज गर्ने सकिन । दुब्लो पातलो अनि होचो कदको उनको शरीरमा बुढ्यौलीको रेखा प्रत्यक्ष देखिएको थियो । घरपरिवारका सदस्यसँग बसेर आराम गर्ने उमेरमा उनी वनजंगल चहारी राखेकी थिईन् । कति होलान् यस्ता आमाहरु जो छोराछोरी भएर पनि एक्लिएका, वृद्ध अवस्थामा खान, लाउनको लागि पसिना बगाईरहेका छन् ।


Monday, September 22, 2014

मैदानमा रौतहटको राज

नारायणगढ । रातो, निलो, खैरौ जर्सीले नारायणगढको सिनारियो नै बदलिएको छ । मध्यान्ह्को घाम घर्कर्दै गर्दा यिनै जर्सीमा समेटिएका उनीहरु नारायणगढको क्याम्पाचौरमा हुन्छन् । कोही मैदानमा उत्रिन्छन् । कोही बाहिर बसेर सपार्ट गर्छन् । नारायणगढमा जारी रहेको वेष्टर्न युनियन महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिताले नारायणगढको माहौल फुटबलमय बनेको छ ।
प्रतियोगितामा आर्मी, प्रहरी र शशस्त्रका तीन विभागीय टिम र पाँच विकास क्षेत्रका पाँच क्षेत्रिय टिम उपाधीको लागि भिडीरहेका छन् । विभागीय टिमसँग दह्रो प्रतिस्पर्धा गरिरहेका टिमहरुमा मध्यमाञ्चल टीमको चर्चा छुट्टै छ । प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्ने तीन विभागीय टीमसँगै मध्यमाञ्चल टीम पनि परेको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल प्रहरीको विभागीय टीमसँग एक गोलले हार बेहोरेको मध्यमाञ्चल टीमले पुर्वाञ्चललाई दुई –एकको गोल अन्तरले पराजिय ग¥यो । त्यस्तै मध्यपश्चिमाञ्चललाई चार – शुन्यको गोल अन्तरले पछि पार्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
फुटबलमय माहौलमा मध्यमाञ्चलको प्रतिनिधित्व गर्ने रौतहटको चर्चा चुलिएको छ । चर्चा चुलिनुमा पनि एक मात्र कारण छ । भैरहेको प्रतियोगितामा मध्यमाञ्चल टिममा सहभागी भएका १८ खेलाडी मध्ये १५ जना रौटहटका छन् । २ चितवनका र १ पर्साका खेलाडी टिमसँग जोडिएका छन् । खेल हुँदा मैदान उत्रने भने सबै रौतहट कै हुन्छन् । टीमले गरेको प्रदर्शनले फुटबलप्रेमीहरुको सहानुभुति पाएको छ । साथै, प्रंशशित बनेको छ ।
फुटबल खेल महिलाहरु थोरैले मात्र खेल्छन् त्यसमा पनि एउटै ठाउँबाट यति धेरै जना सहभागी भएर खेल्नु रौतहटको लागि गौरवको कुरा भएको छ ।  आफ्नो ठाउँ र क्षेत्रको नामले फुटबल खेल्न पाउनु गौरवको कुरा भएको टीमकी क्याप्टेन सुनिता योञ्जन बताउँछिन् । १६ वर्षीय उनले ९ वर्षको उमेरदेखी फुटबल खेल्न थालेकी हुन् ।
सुनिताको गाउँघरको माहौल नै फुटबल मय छ । केटीहरु पनि हरेक दिन रमाईलोका लागि फुटबल खेल्न मैदान पुग्थे । उनलाई पनि त्यहि माहौलले आकर्षित ग¥यो । ‘गेम खेलेर घुम्न पायो, साथीहरु चिन्न पायो’ उत्साहित हुँदै उनले फुटबलप्रतिको मोह बस्नुको कारण खुलाईन् । फुटबल खेल्न कै लागि उनी पुर्वी नेपाल ईलामदेखी देखी पश्चिम धनगढीसम्म पुगेकी छिन् । १० कक्षाकी विद्यार्थी उनी फुटबललाई नै आफ्नो करियर बनाउन चाहन्छिन् ।
टिमकी अर्की सदस्य एलिसा जिम्बा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा सहभागी भएकी छिन् । हालै मात्र श्रीलंकामा भएको एशियन क्षेत्रिय गेम नेपालले जित्दै गर्दा उनले मोष्ट भ्यालुएवल प्लेयरको उपाधी जितिन् । देशभित्र भएका प्रतियोगिताहरुमा पनि उनले बेष्ट फरवार्डको उपाधी पाएकी छिन् । घरमा एलिसाका बुबा र दाईले पनि फुटबल खेल्छन् । घरका अग्रजहरुको प्रेरणा र प्रोत्साहनले नै फुटबल खेल्न थालेको उनी बताउँछिन् । ‘फुटबल खेल्नु रमाईलो र राम्रो छ’ कक्षा ९ की विद्यार्थी उनले भनिन्–‘पढाई र फुटबल दुवैलाई सँगै लैजान्छु ।’
टीमका प्रशिक्षक शेरबहादुर दर्लामीका अनुसार रौटतहमा महिला फुटबलर त्यत्तिकै अघि बढेका छैनन् । संघर्ष गरेर नै सफल भएको उनी बताउँछन् । घरबाट बाहिर निस्केर फुटबल खेलमा महिलाले गरेको प्रर्दशन सफल हुन थालेपछि परिवारले पनि महिला तथा बालिकाहरुलाई फुटबल खेल्न प्रोत्साहन गर्न थालेको उनले बताए ।
फुटबल खेल्न सहभागी किशोरी सबै निम्न र मध्यम वर्गका छन् । धेरै जसो आदिवासी जनजाति समुदायका छन् । ‘आर्थिक अवस्था कमजोर छ । लैङ्गिक भेदभाव छ । घरपरिवारको अवरोध छ ।’ प्रशिक्षक दर्लामी भन्छन्–‘ र पनि मेहनत गरेर अघि बढेका छन् ।’
प्लान नेपाल र चन्द्रनिगाहपुर फुटबल क्लबको समन्वयमा महिला फुटबलरलाई प्रशिक्षण दिने गरिएको छ । हरेक वर्ष ५० जनाको हाराहारीमा नयाँ अनुहारका बालिका तथा किशोरीहरु फुटबल सिक्न आउने गर्छन् । उनीहरुलाई दिईने नियमित प्रशिक्षणबाट छनौट भएका खेलाडीले रौतहटको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने गरेका छन् । प्लान नेपालले महिला फुटबल कै लागि भनेर वार्षिक ३ लाख रुपैयाँ रकम दिने गरेको छ ।
त्यही रकमले प्रशिक्षक र सह प्रशिक्षकलाई तलबको व्यवस्था गर्ने तथा खेल सामाग्रीको व्यवस्थापनमा खर्च जुटाईने गरिएको छ । प्लान नेपालले ८ लाख खर्च गरेर महिला फुटबलरको लागि एट्याज बाथरुम सहितको चेन्जिङ रुम बनाई दिएको छ । जसले खेल खेल्न महिला खेलाडीलाई सहज भएको दर्लामीले बताए ।
रौतहटका महिला फुटबलरले अन्तर मावि राष्ट्रिय फुटबल प्रतियोताको उपाधी तीन पटक जितेका छा् । अहिले पनि प्रतियोगिता जितेर यो लिग खेल्न टोली काठमाण्डौंबाट सिधै चितवन आएको हो । क्लोज क्याम्प केही नभई प्रतियोगितामा सहभागी हुन आए पनि खेलाडीमा आत्मविश्वास दह्रो रहेको छ ।
  नियमित प्रशिक्षण तथा मैत्रीपुर्ण खेलहरुको अनुभवले नै टोली गर्व गर्ने ठाउँसम्म आईपुगेको दर्लामीले बताए । खेलाडीको लागि आम्दानी हुने कुनै स्रोत छैन । र पनि टुर्नामेन्टमा सहभागी भएर जितेको प्राईज मनी खर्च कटाएर टीमले खेलाडीलाई बाँड्ने गरेको छ । जसले खेल खेल्न हौसला मिल्ने उनी बताउँछन् ।  टीमले एक वर्षमा एक पटक मात्र खेलाडीलाई खेल सामाग्री दिने गरेको बताउँदै उनी भन्छन् –‘त्यतीले त पुग्दैन । अहिले घरपरिवारले नै सामाग्री दिएर खेल्न पठाउँछन् ।’
   रौतहटले महिला फुटबलमा गरेको प्रतिनिधित्व लोभलाग्दो बन्दै गएको छ । अञ्जली वाइबा, नमिता दली, सुधा थोकर, अनु लामा, लक्ष्मी पौडेल लगायतका खेलाडी अहिले पनि राष्ट्रिय टीममा रहेको प्रशिक्षक दर्लामी बताउँछन् । विभागीय टीममा पनि रौतहटकै महिला फुटबलर बढी छन् । फुटबलमा राम्रो पर्दशन गर्न सक्षम रौतहटका २० बढी खेलाडी आर्मी, पुलिस तथा शशस्त्रको टीममा सहभागि भएर फुटबल खेलिरहेको उनले बताए । भर्खरै श्रीलंकामा भएको एशियन क्षेत्रिय गेम नेपालले जित्यो । त्यसमा सहभागी हुन गएका १६ जना खेलाडी मध्ये ५ जना रौतहटका नै थिए । ‘प्रोत्साहन भएको छ । प्रेरणा मिलेको छ । नाम र दाम कमाउन सकिन्छ । देशको नाम राख्न सकिन्छ भन्ने सबैमा छाप परेको छ’ रौतहटकै महिला खेलाडी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी हुन थालेपछि फुटबलको माहौल विस्तारै बन्दै आएको प्रशिक्षक दर्लामी बताउँछन् ।


Thursday, August 7, 2014

सिद्धार्थ पढ्दा

‘संसारमा देखिएका सम्पुर्ण दृष्यहरु भ्रम हुन्, फगत दुर्गन्धित भ्रम । अन्नतोगत्वा नष्ट हुने क्षणिक भुलभुलैया बाहेक अरु केही होइनन् । वस्तुतः संसारको वास्तविक नियती नै फगत् दुःख हो र जीवन भन्नु नै पीडाहरुको शृङखला हो ।’
हर्मन हेस्सेले लेखेको उपन्यास ‘सिद्धार्थ’ का पंक्ति हुन् यि । सन् १९२२ मा लेखिएको यो किताबले १९४६ मा नोबेल पुरस्कार पाएको थियो । अंग्रेजी साहित्यको यो किताब शुशिल शर्माले नेपालीमा भावानुवाद गरेका छन् ।
केही वर्षअघिदेखी यो किताब पढ्ने इच्छुक थिए । कहिलेकाँही काठमाण्डौं हानिएका बेला केही किताब पसलमा खोजेको थिए । खोज्दा नेपालीमा पाईए । अंग्रेजीमा नै भएको पढ्न पाए अंग्रेजीको ज्ञान केही बढ्छ की भन्ने लोभ मलाई थियो । त्यसैले नेपालीमा किनिएन । किताबको प्रशंशा केहीबाट सुनेको पनि थिए । त्यसैले पढ्ने उत्सुकता बढ्दो थियो ।
त्यही उत्सुकतालाई यो वर्ष गएको आफ्नो जन्मदिनले पुरा गरिदियो । जन्मदिनकै दिन उपहारको रुपमा किताब हात परेको थियो । अँग्रजीमा लेखिएको पढ्ने चाहनालाई नेपालीमा लेखिएको किताबले पुरा गदै थियो । उत्साह, जिज्ञाशा र असन्तुष्टिका प्रश्नहरुको उत्तर खोज्दै हिँड्ने युवाको जीवनकालका महत्वपुर्ण कार्य र अनुभवलाई किताबले समेटेको छ ।
आफुभित्रको तृष्णा, इच्छा, आकांक्षा, राग देष अनि सुख र दुःखका अनुभुतिबाट पुर्णत मुक्त हुने.......सिद्धार्थले आफ्नो जीवनको युवा अवस्थासम्म आइपुग्दा नियालेका चित्रणहरु यिनै थिए । उनी आफ्नै जीवनसँग सिक्दै थिए ।
आफ्नो सिकाई र अनुभुतिलाई खार्न आलिसान जीवनबाट सन्यासी हुनु उनको जीवनको एक विशेष निर्णय थियो । ब्राह्मण पुत्रको रुपमा धर्तीमा आएका उनले श्रवण जीवन अंगिकार गरे, त्यागे, कमलाको यौवनमा लिन भए, मनुष्यको बीचमा रहेर दुनियाँ बनाए, अनि नदि किनारलाई जीवन बनाए, माझिकोे सामिप्यता स्विकार गरे, छोराको मायामा पुर्णता डुबे, अनि सबैबाट टाढा भएर शान्त बने । सिद्धार्थ यसरी नै आफ्नो जीवनलाई डो¥याउँछन् । मात्र शान्तिको खोजीमा ।
घरपरिवार, साथिभाई, श्रवण, गौतमबुद्ध, कमला, माझी, रुख। नदी, ढुङ्गा, छोरा सबैबाट उनले केही न केही सिकेका छन् । ‘प्रत्येक पल हामी मरिरहेका छौं र प्रत्येक पल हामीले नवल जिवन पाइरहेका छौं’ जीवनको यथार्थलाई सिद्धार्थको खोजीले यसरी प्रष्ट्याएको छ ।
समयको अन्तराल भन्नु नै केवल भ्रम मात्र हो । यही भ्रमको वशिभुत हुनाको कारण हामीले समयलाई भुत, भविष्य र वर्तमानमा विभाजन गर्ने गर्दछौं । तर भुत र भविष्य भन्नु नै वस्तुतः भ्रम मात्र हुन् । समयको बीचमा हामीले कारेका यही विभाजनका रेखाकै कारण संसार र मोक्ष, दुःख र सुख, जीवन र मृत्युबीच हामी विभाजन देख्दछौं । यी विभाजनहरु केवल हाम्रा विचारका उपज मात्र हुन् । अन्यथा अस्तित्वका सम्रग कुराहरु अभिभाज्य छन् । र, जे छन् अहिले यहाँ हाम्रा दृष्टि सामु छन् ।


मानिसको आफ्नो जीवन नै एक किताब हो जसबाट हरेक दिन मानिसले सिकिरहेको हुन्छ । यो किताबले सिकाएको कुरा नै यहि हो । कुनै पनि कुराको स्वरुप चीरस्थायीकालका लागि कायम नरहनु नै त यो अस्तित्वको विशेषता र सुन्दरता हो ।

Sunday, June 29, 2014

आँप र रमाईलो बाल्यकाल


‘ड्याङ्ग’ टीनको छाना र रुखबाट झरेको आँपको दाना बीचको आवाज आयो । खाना बनाउँदै गर्दा म तर्सिए । आँफैलाई हाँसो लाग्यो । आँपको दाना झर्दा पनि कस्तो तर्सिए छु । अनि सम्झिन थालें विगतका वर्षहरुमा आँपसँग बिताएको समय र आँपसँगको अतित पनि मेरो सम्झनयोग्य नै छ । मैंले थाहा पाएदेखी नै मेरो घरमा आँपका दुई ओटा बोट थिए । टन्नै फल्ने । खाएर नसकिने । केही वर्षअघि रोपेको अर्को बिरुवा पनि फल्न थालेको बर्षहरु नाघिसक्यो । अहिले तीन वटा छ ।
असारः आँप पाक्ने महिना अनि हाम्रो स्कुल बिदा हुने महिना पनि । यस्तो लाग्थ्यो यो महिना आँप खानको लागि नै स्कुल बिदा भएको हो । बिहान आँखा खुलेदेखी बेलुका निन्द्रामा नपुगेसम्म दोस्ती नै आँपसँग हुन्थ्यो ।
हावाहुरी र पानीसँगै राति खस्ने आँपले त कति पटक निन्द्रा नै व्युझाएको छ । राती टिनको छानामा आँप खस्दा आउने आवाजले ब्युझिँदा लाग्थ्यो, आज आँप धेरै खसेको छ । अहिले बटुल्न जाँउ की । अनि बिहान उठ्ना साथ हातमुख धुने काम भन्दा अघि हुन्थ्यो । आँप बटुल्ने काम । आँपका रुखमुनीका साना घाँस पन्छ्याउँदै आँप बटुल्थ्यौं । खोजी खोजी आँप बटुल्ने काम हुन्थ्यो ताकी चाहेर पनि आँप कतै नछोडियोस् ।
बाटा, बाल्टी आँपले भरिन्थ्यो । हामीले बटुलेका आँपहरु आँप नहुनेहरुको घरमा पुग्थे । आँपले भरिएका बाटा, बाल्टी खालि हुन्थे । अर्को बिहान हामी त्यसरी नै भर्ने गथ्यौं । यसरी आँप झर्ने क्रम र हामीले बटुल्ने क्रम आँप नसकिदाँसम्म चलिरहन्थ्यो । हाम्रो दिन नै सुरु हुन्थ्यो सबैभन्दा पहिला आँपको स्वाद लिएर । घरमा नै बसे त आँप खान टुट्थेन । घर बाहिर खेत बारी कतै जानु परे पनि आँप नखाई बस्थेनौं । बारीमा जानुपर्ने होस् या घरबाहिर कतै हातमा आँपको दाना लुकेका हुन्थ्ये ।
बिहान र साँझको समयमा खेतबारीमा लागेपनि दिउँसो त घरमै भईन्थ्यो । अनि घर भनेको नै आँपको रुख हुन्थ्यो । आँपको रुपमा चढ्यो । टिप्यो । अनि बोटमा नै बसेर खायो । रुखमा चढेर आँप खानेमा बहिनीसँग मेरो झगडा नै हुन्थ्यो । एउटा हाँगामा बहिनी चढे म अर्को हाँगामा चढ्थे । आँपको रुखको हाँगा भागवण्डा हुन्थ्यो । एउटाले बढि खायो भने अर्कोलाई त्यो भन्दा बढि खानुपर्ने । एक दिनमा नै कति आँपका दाना खाएर सक्थ्यौं । गिन्ती नै छैन ।
अनि कतिखेर लौरो लिएर आमा लखेट्न आईपुग्नु हुन्थ्यो हाम्रो भागाभाग हुन्थ्यो । गाउँतिर एकछिन हरायो अनि घर फर्कियो । हाम्रो घरमा फल्ने आँप पनि अचम्मकै छ एक वर्ष विराएर फल्छ । एक वर्ष टन्नै फल्ने अनि अर्को वर्ष एउटा, दुईटा हाँगामा भन्दा नफल्ने । अनि रुख चढेर आँप खान पनि एक वर्ष विराउनुपर्ने । र पनि आँपको सिजन धेरै रमाईलो हुन्थो ।
यसरी आँप खाने क्रम एसएलसी सक्दासम्म चल्यो । त्यसपछि भने घर बाहिरको बसाइँ भयो । कहिलेकाँही घर पुग्दा पहिला जसरी आँप खाने मेशो नै नमिल्ने । यो वर्ष भने आँपको रुखमा चढ्ने मेशो मिल्यो । रुखमा नै बसेर आँप नखाए पनि आँप झार्ने काम भने गरियो ।

Thursday, May 29, 2014

स्ट्याचुः काला प्रतिबिम्ब


स्ट्याचु, मन र दिमागमा एकैपटक यो शब्दले क्लिक ग¥यो । सेकेन्ड मै रियालीटि नै हो भनेर क्लिक भयो । छेउमै बसेको म हातमै रहेको निकोनको प्युसो क्यामेरा समातेर झरिहाले । क्लिक.... क्लिक... क्लिक... केही संख्यामाा तस्विर खिचें । गाडीमा हुँदा तालको किनारमा प्रष्ट देखिएका तीन काला चित्रहरु क्रमश झाडीमा हराउन थाले ।
जेठ १५ गते बिहीबार एका बिहानै यि सबै घटना मै सँग भएका थिए । लामो समयपछि आजको दिन एका बिहानै उठेको थिए । सौराहाको बसाईमा नवलपरासी, रुपन्देही र चितवनका केही साथीहरु बिहान ५  बजे नै बिसहजारी तालतिर लाग्ने अघिल्लो दिनको सल्लाह अनुसार नै तयार भएको थिए ।
सबै भएर भ्यानमा चढेर सिमसार क्षेत्र तिर लागियो । पिच रोडमा भ्यान कुद्दै गर्दा सुर्यले बादलसँग लुकामारी गर्दै थियो । कहिले आधा छोपिएर, कहिले पुरै छोपिएर अनि कहिले पुरै देखिएर । आफ्नै गतिमा कुदिरहेको गाडीमा बसेर पुर्व तर्फका अग्ला घरहरुलाई छल्दै सुर्यको लुकामारी हेरें । सिमसार क्षेत्र प्रवेश गर्दा घडीले ६ बजाएर अघि बढ््दै थियो । गुरुजीले गाडी चलाएको बाटो मेरा लागि नौलो थियो ।
 बिसहजारी ताल यो भन्दा अघि पनि धेरै पटक पुगेको थिए । तर फरक बाटो गएको थिए । बाटोको दुई छेउमा देखिएका जरायो, मृग, चराहरु हेदै सानो तलाउ भएको ठाउँमा पुग्दा आँखाले देखेका काला तीन प्रतिबिम्ब देखेर अचान स्ट्याचु शब्दले मलाई छोएको थियो ।
तीन काला प्रतिबिम्ब थिए कुमाल तालमा पानीमा रमाएर निस्किएका गैंडा । गाडीबाट झरेर सबैले तस्विर खिच्न थाल्यौं । तालको वारी हामीले हे¥यौं । पारीबाट हामीलाई हेर्दै घाँस चपाउँदै एकछिनमा जंगलभित्र हराए ।
दुई गैंडालाई सँगै त पहिला पनि देखेको थिए । तर, पहिलो पटक तीन गैंडालाई सँगै देख्दै थिए म । उत्साहित भए । पहिलो पटक त्यस्तो दृष्यलाई कैद गर्न पाएको थिए । जुम गर्दै वारीबाट खिचेको तस्विर आँखाले देखेजस्तो प्रष्ट आएन । र पनि सन्तोष मान्ने केही तस्विर बटुल्न सकें । हामी भन्दा पहिला पुगेको एक टोलीले पनि गैंडा देख्न पाएका थिए ।
 गैंडाले जंगलको बाटो समातेपछि हामी पनि बिसहजारी तालतर्फ लाग्यौं । फर्किदैं गर्दा भारतीय पर्यटकले भरिएको जीप र भ्यानको लस्कर लागेको थियो । उनीहरु सोध्दै थिए वनमा के के देख्यौं भनेर । तर हामीले जति देख्यौं उनीहरुले देख्न पाएनन् ।

Wednesday, May 28, 2014

बिगमायाको खुशी


 सेतै फुलेका कपाल । धमिलो देख्ने आँखा । कम सुन्ने कान । अप्रष्ट बोली । घर्किदो उमेर । बुढेसकालका विशेषताहरु हुन् यि सबै । यिनै विशेषतासँग पारङ्गत भएकी छिन् बिगमायाँ चेपाङ । उमेरले ८८ को नेटो काटिसक्यो । ढल्कदो उमेरले घर आडकै बारी, पानी पँधेरा सबै परदेश भएका छन् । सबै परदेश भएका बेला उनको सहारा बनेको छ छोरी सुनमायाँको परिवार । बोल्ने साथी, सञ्चो विसञ्चो सोध्ने र हेरचाह गर्ने सबै छोरीले गर्छिन् ।
उदास रहने बिगमायाँको मुहारमा खुशी छाएको छ । आफ्नो एक मात्र सन्तान छोरीको दौडधुपले उनको अधिकार प्राप्ती भएको छ । मुजा परेर छोपिएको अनुहारमा खुशीका रेखाहरु थपिएका छन् ।
आफ्नो जीवनको अधिकांश समय काउलेमा बिताएकी बिगमायाँ जीवनको उत्तरार्धमा छोरी ज्वाँइको शरणमा शक्तिखोर पुगेकी छिन् । उनी आफ्नो बुढेसकाल आफ्नो एक मात्र सन्तान छोरीको सहारामा बिताउन बाध्य भईन् । श्रीमान् मिरसिंहको ३ वर्षअघि मृत्यु भएपछि उनी घरबार विहीन भईन् । श्रीमान्को मृत्यु भएपछि श्रीमान्को अर्को श्रीमती तर्फका छोराहरुले उनलाई घर निकाला गरे । जीन्दगीको हुँदोखाँदो समय श्रीमान्को घरमा नै बिताईन् । दुःख गरेर घर चलाईन् ।
सौतने छोराहरुले घर निकाला गर्दा उनीसँग न श्रीमान्को साथ थियो, न बस्ने ओत थियो न त बाँच्ने आधार सम्पती नै । श्रीमान् बितेको ३ वर्षपछि भने उनको नाममा सम्पती जोडिएको छ । छोरीले गरिदिएको संघर्षका कारण उनले सम्पती पाएकी छिन् । श्रीमान्को सम्पतीबाट आफ्नो हक लाग्ने अंश पाएकी छिन् ।
अंशवण्डा मुद्धा जितेर काउलेमा रहेका ५ कठ्ठा १० धुर जग्गा उनको नाममा नामसारी भएको छ । चितवन जिल्ला अदालतले उनलाई अंश दिने फैसला गरिदिएपछि गएको चैत्रको दोस्रो साता अदालतका कर्मचारी काउले पुगेर उनको जग्गाको साँध किल्ला छुट्याईदिएका हुन् ।
आर्थिक अवस्था कमजोर भएकी बिगमायाँले २०६९ को भदौमा छोरी मार्फत अंशवण्डा मुद्धा दायर गरेकी थिईन् । श्रीमान्को ५६ र ५४ वर्षका दुई छोरालाई प्रतिवादी बनाई चितवन जिल्ला अदालतमा हालेको मुद्धाको फैसला उनको पक्षमा भएको थियो । अदालतबाट भएको फैसला कार्यान्वयन गर्नको लागि अदालतका कर्मचारी, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरु काउलेमा रहेको जग्गा छुट्याएर उनलाई भेट्न शक्तिखोर पुगेका थिए ।
आफ्नो नाममा आएको जग्गाको नक्सा छिमेकीले आँगनमा बसेर हेरिरहदाँ उनले भने हात जोडेर सबैलाई धन्यवाद भनिरहेकी थिईन् । श्रीमान्को मृत्यु भएपछि आफ्नो हक लाग्ने जग्गा आफ्नो नाममा नामसारी गर्नको लागि निवेदन दिन लाग्दा छोराहरुबाट उनले दुव्र्यवहार पाएकी थिईन् । मुद्धा लड्नको लागि चाहिने खर्च नहुँदा उनीहरुले समयमा नै मुद्धा लड्न सकेनन् । ढिला भएपनि दिएको मुद्धाले उनको अधिकार उनलाई नै फर्कादियो ।
मानवअधिकारकर्मीको पहलमा मुद्धाको प्रक्रिया अघि बढाईएको थियो । मुद्धा लड्नका लागि कानुन व्यवसाय अधिवक्ता विनोद मिश्रले सहयोग गरे । अंश मार्फत जग्गा पाएपछि बिगमायाँ खुशी छिन् । उनले आफुले पाएको अंश शेषपछि आफ्नो हेरचाह गर्ने छोरीलाई दिने उनको मनसाय छ ।


Wednesday, April 9, 2014

आत्मनिर्भर रामको उत्साहित जीन्दगी

देव तेरो रैछ नी खटन
सुन्नु होला यो रामको घटना
२०६७ साल पुसको महिना
खासा घुमी आउँदा धन्दै ज्यान गएन
खासा घुमी फर्किआयौं चार बजे तिर
झ्याप्पै रोक्यो खाजा खान दोलालघाट निर
घट्यो घटना सात बजे राती
ठूलो दशा आई लाग्यो म माथी
दश मिनेट रोकेपछि गुड्यो गाडी फेरी
हामी पनि चढिहाल्यौं हतार हतार गरी

उनले आफ्नै कथा सुनाए । उनले गन्धर्व शैलीमा गाएको सुन्न सानो भीड जम्मा भएको थियो । भीडमा मिसिएर सुन्नेहरुमा मेरो पनि सहभागिता थियो । उनको कुरा सुन्दै गर्दा सबै मन मर्माहत कान टाठा भएका थिए । सानो सानो आवाजमा सुर र लय भिकेर उनी यस्तो सुनाउँदै थिए ।


पुग्न पाईन म त कठै आफु बस्ने सिटमा
एकैछिनमा पुगि गाडी डर लाग्दो भिरमा
डाईभर दाई तिम्रै भर पर्दछु
रक्सी नखाउ म बिन्ति गर्दछु
घटना भाको पाँच दिनपछि ढाड मेरो चि¥यो
१२ वटा पेचकस सहित दुईटा रड राख्यो
रड राखी ढाड मेरो सिधा चाँही भयो
कम्मरदेखी तल शरीर त्यसै खेर गयो
चुहाएर आँशुका धारा
ह्विल चियर भयो जीवनको सहारा .....।।


उमेरले ३१ पुगेका सिन्धुपाल्चोकका रामबहादुर तामाङ्गको जीवनमा भएको तितो अतित हो । दुःखद् घटनाले उनको जीवनको मोड नै परिवर्तन गरिदियो । र पनि उनी जिवनलाई संघर्षपुर्ण रुपमा अघि बढाउँदै छन् ।
आफु जिउनुलाई एक यर्थाथ बनाउन खोजेका छन् । जीउनको लागि लक्ष्य र उदेश्य बनाएका छन् । दुर्घटनाको कारणबाट मेरुदण्डको पक्षघात हुँदा शरीरको तल्लो भागले काम गर्दैनन् । ह्विल चियर नै उनको दिगो साथी भएको छ । कहिले साथ नछोड्ने गरी ।
जीवनमा भोग्नु परेको भोगाई एकातिर र अर्को तिर उनको साहस र आँट । तुलना गर्नु र तौलिने नै हो भने पनि उनको साहस र जीवनप्रतिको उत्साह कयौं गुणा माथि छ । जसले उनलाई ह्विल चियरमा यात्रा गर्न हौस्यायो । काभ्रेको नमोवुद्धबाट लुम्बिनीसम्मको ३६० किलोमिटरको यात्रा ह्विल चियरबाट गर्ने योजना बनाए । जुन योजनाको कारण १४ दिनमा २०३ किलोमिटर यात्रा गर्दै उनी चितवन आईपुगे ।
चैत २४ गते सोमबार बिहान उनले आफ्नो यात्रा चितवनबाट लुम्बिनीतर्फ अघि बढाएका छन् । तीन वर्षअघि काभ्रेको दोलालघाटमा भएको बस दुर्घटनामा परेका उनको मेरुदण्डको पक्षघात भएको छ । उनी आफु जस्तै पीडामा परेका व्यक्तिहरुलाई हौसला प्रदान गर्न र शान्तिको कामना यात्रामा निस्किएका हुन् ।
जिउँदो लाश भनेर हेपिएको उनलाई मन पर्दैन । ह्विल चियर नै सहारा भए पनि उनले आफुलाई आत्मनिर्भर बनाएका छन् । भने आफु जस्तै पीडामा रहेकालाई  आत्मनिर्भर बन्न सिकाउँछन् । हातले मात्र गर्न सकिने ३६ किसिमका सीप उनले जानेका छन् । आफुसँग रहेको ती सीपहरु उनी आफु जस्तै मेरुदण्डका पक्षघात भएकाहरुलाई सीप सिकाउँछन् । सीप सिकाउनको लागि मेरुदण्ड पक्षघातहरुका लागि बनाईएको पुर्नस्थापना केन्द्रसम्म नै पुगेर सीप सिकाउँछन्  ।
जसले पनि उको जीवनलाई उत्साहपुर्ण बनाईदिएको छ । उत्साहित रामको जीवन संधै उत्साहपुर्ण होस् ।।।



Monday, April 7, 2014

सोर्सले बैंक पनि खुल्ने रहेछ

शुक्रबारको दिन कृषि विकास बैंक दिउँसो १२ः३० बजे बन्द हुने रहेछ । सामान्य अरु सरकारी बैंक जस्तै १ बजेसम्म खुल्छ भन्ने मैंले सोचेको थिएँ । तर कृषि विकास बैंकको नियम नै साँढे १२ बजेसम्म खुल्ने रहेछ । संस्थाको नाममा रहेको  बैंक खाताको हस्ताक्षर परिवर्तनको लागि डकुमेन्ट लिएर बैंकको नारायणगढ शाखामा १२ः४५ पुगेको थिएँ ।
गेट बन्द भैसकेको रहेछ । गेटमा सुरक्षा गार्ड पनि थिएनन् । ताला बन्द थियो । म सँगसँगै दुई युवा पनि गेटमा पुगेका थिए । माथिबाट झरेका बैंकका एक कर्मचारीले भने –‘आज त बैंक बन्द भैसक्यो ।’ गेटमा पुगेका ति युवा भन्दै थिए ‘हामी काठमाण्डौंबाट आएको महेश बस्नेतको मान्छे ।’
ती कर्मचारीले बैंक बन्द भएको जानकारी फेरी पनि गराए ।  यसरी पर्खिदाँ पाँच मिनेट समय गइसकेको थियो । माथिबाट सुरक्षागार्ड झरे । अनि उनले काठमाण्डौंबाट आएको को भनेर सोधेपछि गेट खोले र ती दुई युवामा भित्र पस्न दिए । अनि मलाई आईतबार आउनु भन्दै पठाए । मैंले कागजपत्र छोड्न आएको हुँ भने । उनले आईतबार आउनुभन्दै गेट बन्द गरे ।
बैंक तथा बित्तिय संस्थाको नियमहरुको पालना पुर्णतया हुन्छ भन्ने मलाई लागेको थियो । त्यसमा पनि सरकारी बैंक । ऋणको लगानी र वितरणमा सार्स लागेपनि बैंक खुल्ने र काम गराउने कुरामा पनि सोर्स लाग्दो रहेछ भनेर चाँही शुक्रबार मात्र थाहा पाएँ ।  
शुक्रबार पुर्वी चितवनमा रहेको जग्गाको बिक्रि वितरणका लागि महेश बस्नेत चितवन आएका थिए । उनले आफ्नो जग्गा पदपुरको एक नीजि स्कुललाई बेचेका थिए । शुक्रबारको दिन मालपोत कार्यालयमा काम सक्दा बैंक खुल्ने समय भने कटेको थियो । लाखौं रुपैयाँ साथमै लिएर काठमाण्डौं फर्कन रिक्सी थियो । त्यसैले उनले फोन बाटै बैंकलाई आदेश दिएर आफ्ना केटाहरु बैंक पठाएका थिए । बैंक अवधि सकिए पनि उनले जग्गा बिक्रीबाट आएको लाखौं रुपैयाँ आदेश दिएर भनौं सोर्स लगाएर केटाहरु मार्फत आफ्नो खातामा डिपोजित गरे ।
उनका भरौटेहरु बैंक पुग्नु अघि नै बस्नेतले एक बजेसम्म बसेर भए पनि आफ्नो काम गदिनुैपर्ने भनेर फोनबाटै आदेश गरेका रहेछन् । उनको सोर्सका कारण नै साँढे १२ बजे बन्द हुने बैंक १ बजेसम्म पनि खुलेको थियो ।
विकास बैंक तथा अन्य कर्मसियल बैंकमा यस्तो हुन्छ भन्ने त मलाई लागेको थियो । सरकारी बैंकमा पनि हुँदो रहेछ । अच्चमको कुरा । अनि त बैंकको सेवा र सुविधामा सबैको पहुँच र समान अवसर कहाँ भयो र ? अनि हामीले कसरी मान्ने नेपाली सबैलाई एउटै व्यवहार हुन्छ भनेर ?????????

Tuesday, February 18, 2014

विषालु च्याउले रित्तो बनेको ‘घर’


शनिबारको दिन बिहानको खानापछि हुँईकिएको थियौं भरतपुरबाट जुगेडी तिर । जुगेडी पार गर्दै भोर्लेबाट पनि स्कुटरमा उक्लिने साहस ग¥यौं । कच्ची र उकालो बाटोमा स्कुटर पञ्चर हुन सक्ने र ओरार्लो झर्न गाह्रो हुने भयले स्कुटर उकाल्ने साहस नै सकियो । अनि पिच छोडेर केही उकालो उक्लिएपछि भेटिएको पहिलो घरमा नै स्कुटरलाई विश्राम दिएर हिँड्यौं ।
मध्यान्हको समय थियो । माघको महिना भएर पनि उकालो उक्लिदै गर्दा पसिना बगेको थियो । नयाँ ऋतुको आगमन हुनको लागि रुखबाट पातहरु झर्दै थिए । अघि अघि हिँडेकी प्रतिमा ‘दि’ लाई भेट्न नै मुस्किल भैरहेको थियो मलाई । केही घण्टाको उकालोको हिँडाई पछि उनको घरमा पुगेको थिएँ । जो भेटन् गएको हो उनी भेट हुने हो कि होईन भन्ने दोधार भने त्यहाँ नपुग्दासम्म मनमा अड्किएको थियो ।
परैबाट देखिएको उनको घर र घर छेउमा बसेका उनलाई । हामी भेट्दै थियौ उमेरले ८० कटेका मैतबहादुर चेपाङलाई । कविलाश गाविस ७ चौकीडाँडाका मैतबहादुर ७४ वर्षीय श्रीमती कमिनीको भरमा बाँचिरहेका छन् । दुई घण्टा लाग्ने ठाउँबाट पानी ल्याउने, बाख्रा चराउने, घाँसपात र दाउराको जोहो, खेती गर्ने सबै काम कमिनी एक्लैले गर्छिन् । मैतबहादुर घर कुरेर बस्छन् । घर बाहिर निस्कन उनलाई लठ्ठीको सहारा चाहिन्छ ।
डेढ वर्ष अघिको त्यो घटना नहुँदो हो त यि दुई बुढाबुढीलाई यति बिध्न सास्ती हुने थिएन । घर भर छोरा बुहारी र नातिहरुको जमघट हुन्थ्यो । तर उनीहरुले चाहे जस्तो भएन । सन्तानले भरिभराउ घर अहिले रित्तो भएको छ ।  दुई बुढाबुढी मात्र भएर रुङ्गिरहेका छन् ।  
विषालु च्याउका कारण घरका पाँच सन्तानले ज्यान गुमाउँदा उनीहरुको आँगन सुन्य भएको छ । घर भित्र बाहिर गरेर सताउने नातीहरुको साथ छुटेको छ । बेलामा पकाएर खुवाउने बुहारी, कमाएर ल्याउने छोरा र तीन नाती ०६९ सालको जेठ अन्तिम दिन साँझको छाक खाएको विषालु च्याउको कारण उनीहरुबाट टाढा भए ।
बचेका दुई काखे नातीहरु मध्ये दुई वर्षको नाति चोकमानलाई पूर्व प्रधान सेनापति छत्रमान सिंह गुरुङले पाल्नका लागि लगे भने कान्छो नातीलाई उनकी छोरीले हुर्कारहेकी छिन् । नाती लिएर जाँदा र भेट्न आउँदा सेनाले ल्याईदिएको सामल मैतबहादुर सम्झिन्छन् । बाख्रा चराउन गएकी कमिनीले बिहानै पकाईदिएको डेढोले उनी दिउँसोको भोक मेटाउँछन् ।
दुई छोरा र एक छोरी भएका मैतबहादुर बुढेसकालमा बुढाबुढी मात्रै भएर दिन कटाईरहेका छन् । दुई छोरा छुट्ट भिन्न भएपछि उनी कान्छो छोराको परिवारसँग बस्दै आएका थिए । ‘गोरु जोत्ने छोरो नै गयो’ मैतबहादुर भन्छन्–‘खेती लाउन नी गाह्रो हुन्छ’ ।
छोरोले नयाँ घर बनाउनको लागि अड्याएको खम्बामा उनीहरुले भित्ता जोड्न पनि सकेका छैनन् ।  आडैको पुरानो घरको छानो छाउनुपर्ने भएको छ । छोराले सबै कामको मेशो मेलो मिलाउने गरेको सम्झँदै उनी घर छाउने कामको लागि जाडोमा घाम तापेर चोया काट्दै थिए । खेतला लाएर घर छाउनको लागि ज्याला तिर्ने पैसा पनि उनीसँग छैन । न त लडेर घाउ भएको खुट्टाको उपचार नै गर्न सकेका छन् । उनको घरमा मान्छेको संख्या घटेसँगै बाख्रा, कुखुरा र अन्नको संख्या र मात्रा घटेका छन् ।
अभावको समस्या झेलेर बसेका भए पनि घरमा उसिनेर राखेको पिडालुले हाम्रो सत्कार गरे । आत्मियता कति न्यानो थियो त्यो । उनको आत्मियताको साटोमा हामीसँग दिने केही थिएन । मात्र केही घण्टा उनको कुरा सुन्यो । उनको घर हे¥यौं । अनि ढल्दै गरेको दिनसँग फकियौं पनि ।




Saturday, February 15, 2014

रीतिले बाँधिएको डोरी


आज फागुन ३ गते । परेवा तिथि । घरमा फेरी जुट्दैछौं । हरेक वर्ष जस्तो आज पनि । एका बिहानै बाहुन बाजे आईपुग्नुभएको छ । परापुर्वकालदेखी चलिआएको रीति पुरा गर्न । आमाले तयार गर्नु भएको सामाग्रीहरुलाई बाहुन बाजे र दादाले माध्यम बनाउनुभयो । अनि डेढ घण्टा नपुग्दै सबै काम सकियो । रीति सकियो ।
अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि पनि मेरो निधार बाहुन बाजेको हातबाट पहेंलो अक्षताले भरिए । फेरी पनि बाहुन बाजेको हातबाट बाबाको नामको टिका मेरो निधारमा प¥यो । पहेंलो रङ्गले निधार छोपियो । आजको तीथि बाबाले संसार छोड्नु भएको दिन । सम्झने एउटा माध्यम बन्यो हाम्रो संस्कार र रीतिरिवाज । वर्ष नै गन्ने हो भने पनि दुई हात र एउटा खुट्टाको औंला गनेर पनि नपुग्ने वर्ष बितिसकेछ । छिट्टो बितेका हुन् या ढिलो वर्षहरु ।
त्यो दिन ः जुन दिन मेरो गाउँको एक दाई मलाई लिन साईकल लिएर मेरो स्कुल पुग्नु भएको थियो । साईकल लिएर लिन आउँदा म फुरफुर परेर घर गएको थिएँ । घर नजिकै चोकमा पुग्दा मेरो घरको बाटोमा मान्छेको भिड थियो । साईकलबाट झरेर आँगनमा पुग्दा बाबालाई आँगनमा राखिएको थियो । नजिकै दादा र यिनै बाहुनबाजे बसेर के के गर्दै थिए मेरो बालक मगजले केही बुझेको थिएन । घर भित्र गएर झोला राखें । झ्यालबाट हेरेको त आमा गोठमा बसेर रोईरहनुभएको थियो । सोधें आमा किन रोएको भनेर । केही उत्तर पाईन । केही बेरपछि मान्छेहरु आएर शंख बजाए । अनि सबै गए । रात परेको थियो । म निदाएछु । केही पछि उठाएर केराको पातमा घ्यूमा भुटेको केरा खान दिएका थिए । त्यसको साता दिन मलाई र बहिनीलाई स्कुल जान पनि दिईएन । कपाल कोर्नु हुँदैन थ्यो । सानै भएर हो वा बाबासँग ज्यादा घुलमिल नभएर हो मलाई बाबाको याद नै आउँदैथ थ्यो ।
अलि पछिका वर्षहरुमा स्कुलमा साथीहरुले आफ्नो बाबाको बारेमा कुरा गर्दा मेरो पनि बाबा भैदिएको भए..... सोच्थे । जतिखेर म बाबाको महत्व बुझ्न सक्ने, समझ्न सक्ने भएको थिएँ त्यती खेर त बाबा नै हुनुहुन्थेन ।
बाबालाई सम्झने हो भने एउटा कुरा मलाई संधैं याद आउँछ । २ कक्षामा पढ्दा मेरो सेरोफेरोमा प्रश्न आएको थियो तिम्रो बाबाले के गर्नु हुन्छ ? मैंले उत्तर लेखेको थिएँ मेरो बाबाले भात पकाउनुहुन्छ । त्यती बेला पनि मलाई थाहा नरहेछ मेरो बाबाले के काम गर्नु हुन्छ भनेर । उहाँ रिटाएर भएर बस्नु भएको रहेछ भनेर । उत्तर कापि दादाले हेरेपछि मलाई धेरै दिनसम्म जिस्काउनु भएको थियो ।
अहिले सम्झदा पनि अचम्म लाग्छ कसरी मैंले त्यस्तो उत्तर लेखेछु भनेर । हिजा सन्तानले गरेका कामहरुको लगाम लगाउने, अगाडीको बाटो देखाउने काम अभिभावकको हुन्छ । सन्तानले जिवनमा उचाई लिएको हेर्दा अभिभावकलाई खुशी हुन्छ । तर मेरो बाबाले त्यो देख्न पाउनु भएन । मेरो बाल्यकाल अनि बाल्यकाल पछिको युवा अवस्था सबैबाट टाढा हुनुभयो ।
र पनि पुर्खाले चलाईदिएको संस्कारले वर्षमा एक दिन भएपनि सबै संगै भएर रीति पुरा गर्ने अवसर जुट्ने गरेको छ ।


Sunday, February 2, 2014

सिजन गुच्चाको

४, ५ पढ्दासम्म खेलिन्थ्यो । साह्रै रमाईलो पो हुन्थ्यो । आफु सरहका साथीहरुसँग मात्र नभएर आफु भन्दा ठूला दाजु, दिदीहरुसँग पनि खेलियो । एक रुप्पेमा २० वटा आउँथ्यो । आफुलाई पानी कलरको मन नपर्ने रंगिन चाहिन्थ्यो । एक रुप्पे तिरेर किनेकोले अँजुली नै भरिन्थ्यो । हातभरी लियोे अनि छ्याइँछ्याइँ बजाउँदै हिँड्यो ।
स्कुल बिदाको दिन त बिहानैदेखी सुरु हुन्थ्यो हाम्रो खेल । आफु भन्दा ठूलाले खेलमा मिसाएनन् भने सानाहरुको्े छुट्टै टोली हुन्थ्यो । एउटै आँगनमा दुई, तीन टोलीको खेलले आँगन नै भरिभराउ । खहिले खाल बनाएर गुच्चा खेलिन्थ्यो त कहिले सानो सानो खोपिल्टो बनाएर ।
कहिले काँही त स्कुल जाँदा पनि सँगसँगै पुग्थ्यो गुच्चा । सरहरुको गाली खाईन्छ भनेर मिडीको गोजिमा रहेको गुच्चालाई झोलामा लुकाईन्थ्यो । केटाहरु भने स्कुलमा पनि सरहरुसँग लुकेर खेल्थे । हामी केटीहरु चाँही स्कुलमा चुँगी खेल्थ्यौं । चुँगी खेल्दा चाँही त्यती गाली खाइँदैनथ्यो जति केटाहरुले गुच्चा खेलेको देख्दा सरहरुबाट पाउँथे । स्कुलको अफिस कोठमा विद्यार्थीहरुबाट सरहरुले खोसेर लगेको गुच्चा र चुँगीको त थुप्रो नै लाग्थ्यो ।
हाम्रो गुच्चा खेल्ने सिजन सुरु हुँदा प्राय जसो धान काटेर भित्राईसकिएको हुन्थ्यो । आँगनमा छेउ कुनामा कतै कतै भुस र परालको धुलाहरु बाँकी हुन्थे । कतै पराल तथा धानको कुन्यु बनाउँदा मुसाले बनाएका भ्वाङ्गहरु हुन्थे । कहिले त खेल्दै गर्दा त्यस्तै भ्वाङ्ग अनि धान परालको घुरानको थुप्रो भित्र कता पुग्थ्यो गुच्चा । खोज्दा खोज्दा हैरान नै भईन्थ्यो ।
गएको साता माडीको गर्दी पुग्दा स्कुले बालकहरु यसरी नै गुच्चाको खेलमा रमाईरहेका थिए । जाडोको मौसममा गुच्चा खेल्दै हात तताई रहेका थिए उनीहरु पनि । खेल हेर्दै, फोटो लिँदै गर्दा मैंलें पनि आफ्नो बाल्यकाललाई सम्झिए । कति रमाईलो थिए ती बाल्यकालका समय । अहिले सम्झिदा पनि खुशी लाग्छ । खेल्न पाएपछि केही कुराको मतलब नै हुदैन्थ्यो । खेलमा कहिले हारेर गुच्चा सकिन्थ्यो त कहिले जितेर गुच्चा बटुलिन्थ्यो । जितेको गुच्चाहरु बेचेर २÷४ रुपैयाँ हात पर्दा त खेलको मज्जा नै डबल पो हुन्थ्यो त ।

Sunday, January 12, 2014

‘मिस यु नारायणी वीच’





शान्त, प्रिय, सुन्दर ठाउँ नारायणी किनार
मेरो लागि मात्र होईन प्राय सबैको लागि
रमाउने, बिसाउने थलो हो नारायणी किनार....











त्यसै मोहित बनाउने किनारमा प्राय साता दिनमा पुग्ने गर्थे । गर्मी होस् या जाडो नारायणी किनारले मन हरेको छ मेरो । भरतपुरको बसाईलाई स्विकारेसँगैको प्रिय ठाउँ बन्यो । भरतपुर बस्न थालेपछि खुरर्र भरतपुर ओरालो हिरो साईकलमा कुद्दै पुग्थें नारायणी किनार ।







जाडो होस् या गर्मी सबै समयको याद गाँसिएको छ । गर्मीको साँझ चिसो आईसक्रिम खाँदै अस्ताउँदै गरेको सुर्यलाई हेर्दै, सिरसिर हावाको शितलता अनि पानीमा खुटटा चोबलेर बिताएको समयले ताजा ऊर्जा अनि मोटर बोटमा नारायणीको पानी माथि दौडिदाको मज्जा सम्झिदा कति रोमाञ्चक बनाउँछ । अनि जाडोको दिनमा पोलेको मकै, बदाम, सुन्तला र घामको तापसँग बाँडेको समय रमाईलो पल बनेर कैद भएको छ जिन्दगी नामको एल्बममा ।





नारायणी किनारबाट देखिने अस्ताउँदो सुर्यले त मोहनी नै लगाउँछ । कति दिन त सुर्यास्त हेर्न भनेर नै कुदेको छु नारायणी किनार । कुनै दिने उद्योग वाणिज्यसंघ पछाडी किनारमा बसेर साथीसँग गफिनको लागि पुगेको छु । कुनै दिन गौरेश्वर मन्दिरबाट नदिको छाल नियाल्न पुगेको छु । साँझको समय मोहित पार्ने सुन्दरता छर्छ
नारायणीले ।






दौडधुपको जीन्दगीमा दिक्क लाग्न थाले, पट्यार लाग्न थाले म पुगिहाल्थे नारायणी किनार ‘फ्रेस’ हुने बहाना खोज्दै । त्यहाँको शान्तपनले र सुन्दरताले मेरो मन, दिमाग र शरीर नै नयाँ उमंगले सिञ्चित हुन्थ्यो । अनि त दिगदारी, नैराश्यता त सबै ‘फु’ भएर जान्थे । अनि म फ्रेस भएर, उत्साह लिएर फर्कन्थे ।







व्यक्तिगत जीवनीको पाटो खोल्ने, सुखदुःख बाँड्ने थलो नारायणी किनार । जहाँ ,मेरो निकट साथीहरुसँग मैंले आफ्नो जिवनको खुशी अनि रोदनका पलहरु सेयर गरेको छु । नारायणी  किनार धेरै पटक पुगेपनि साथ जाने साथीहरु भने थोरै छन् । बढि त म सावित्री साथीसँग र सरला दिसँग गएको छु ।
पछिल्लो समय नारायणी किनार सफासँगै सुन्दर बनेको छ । बस्नको लागि सिमेन्टका बेञ्च बनाईएका छन् । मन्दिर तथा मुर्तिहरु पनि बनेका छन् ।


म सुरुमा पुग्दाको समय र पछिल्लो समयमा धेरै फेरियो नारायणी किनारको स्वरुप । व्यवस्थित बनेको किनारको वातावरणले बसाई सहज बनाएको थियो । शान्त वातावरण, नदिको सौन्दयर्ताले गर्दा म दिन प्रतिदिन नारायणी किनारसँग मेरो सामिप्यता बढेको थियो ।
पछिल्लो समयमा मसँगै नारायणी किनार पुग्नेमा सावित्री नै बढि भएकी थिई । फुर्सद भयो की स्कुटरमा कुद्दै पुग्ने गथ्र्याै हामी । नदिलाई नियाल्दै, सुर्यास्त हेर्दै साँझ ढल्थ्यो र हामी फकिन्थ्यौं । र पनि त्यति प्रिय ठाउँ नपुगेको महिनौं भएछ ।


बितेका दिन र पल खोतल्दै जाँदा पछिल्लो पटक गएको साउनको ७ गते पुगेको रहेछु । आज हिसाब गर्दा त छ महिना पुरा हुन ८ दिन मात्र बाँकी रैछ । पछिल्लो पटक नारायणी किनार पुग्दाको साता नदिमा पानीको सहत निकै उर्लेको थियो । खतराको बिन्दु भन्दा धेरै माथि उर्लेको थियो । नदिमा पानीको सतह हेर्नको लागि नारायणी पुलमा र किनारमा जोडिएका छतहरुमा मानिसको भीड थियो । म पनि त्यहि भीडलाई नियाल्न र नारायणीको तस्विर खिच्न पुगेको थिएँ ।
खोई किन हो त्यो दिन पछि नारायणी किनार पुग्ने दिन नै किन जुरेन । व्यस्तता बढेको पनि होईन र पनि किन हो । नारायणीको पुल धेरै पटक वारपार गरेपनि किनार पुग्ने मेशो किन मिलेन खोई ?? यो बितेको समयमा धेरै पटक ‘मिस’ गरेको छु नारायणी किनारलाई ।