Thursday, August 7, 2014

सिद्धार्थ पढ्दा

‘संसारमा देखिएका सम्पुर्ण दृष्यहरु भ्रम हुन्, फगत दुर्गन्धित भ्रम । अन्नतोगत्वा नष्ट हुने क्षणिक भुलभुलैया बाहेक अरु केही होइनन् । वस्तुतः संसारको वास्तविक नियती नै फगत् दुःख हो र जीवन भन्नु नै पीडाहरुको शृङखला हो ।’
हर्मन हेस्सेले लेखेको उपन्यास ‘सिद्धार्थ’ का पंक्ति हुन् यि । सन् १९२२ मा लेखिएको यो किताबले १९४६ मा नोबेल पुरस्कार पाएको थियो । अंग्रेजी साहित्यको यो किताब शुशिल शर्माले नेपालीमा भावानुवाद गरेका छन् ।
केही वर्षअघिदेखी यो किताब पढ्ने इच्छुक थिए । कहिलेकाँही काठमाण्डौं हानिएका बेला केही किताब पसलमा खोजेको थिए । खोज्दा नेपालीमा पाईए । अंग्रेजीमा नै भएको पढ्न पाए अंग्रेजीको ज्ञान केही बढ्छ की भन्ने लोभ मलाई थियो । त्यसैले नेपालीमा किनिएन । किताबको प्रशंशा केहीबाट सुनेको पनि थिए । त्यसैले पढ्ने उत्सुकता बढ्दो थियो ।
त्यही उत्सुकतालाई यो वर्ष गएको आफ्नो जन्मदिनले पुरा गरिदियो । जन्मदिनकै दिन उपहारको रुपमा किताब हात परेको थियो । अँग्रजीमा लेखिएको पढ्ने चाहनालाई नेपालीमा लेखिएको किताबले पुरा गदै थियो । उत्साह, जिज्ञाशा र असन्तुष्टिका प्रश्नहरुको उत्तर खोज्दै हिँड्ने युवाको जीवनकालका महत्वपुर्ण कार्य र अनुभवलाई किताबले समेटेको छ ।
आफुभित्रको तृष्णा, इच्छा, आकांक्षा, राग देष अनि सुख र दुःखका अनुभुतिबाट पुर्णत मुक्त हुने.......सिद्धार्थले आफ्नो जीवनको युवा अवस्थासम्म आइपुग्दा नियालेका चित्रणहरु यिनै थिए । उनी आफ्नै जीवनसँग सिक्दै थिए ।
आफ्नो सिकाई र अनुभुतिलाई खार्न आलिसान जीवनबाट सन्यासी हुनु उनको जीवनको एक विशेष निर्णय थियो । ब्राह्मण पुत्रको रुपमा धर्तीमा आएका उनले श्रवण जीवन अंगिकार गरे, त्यागे, कमलाको यौवनमा लिन भए, मनुष्यको बीचमा रहेर दुनियाँ बनाए, अनि नदि किनारलाई जीवन बनाए, माझिकोे सामिप्यता स्विकार गरे, छोराको मायामा पुर्णता डुबे, अनि सबैबाट टाढा भएर शान्त बने । सिद्धार्थ यसरी नै आफ्नो जीवनलाई डो¥याउँछन् । मात्र शान्तिको खोजीमा ।
घरपरिवार, साथिभाई, श्रवण, गौतमबुद्ध, कमला, माझी, रुख। नदी, ढुङ्गा, छोरा सबैबाट उनले केही न केही सिकेका छन् । ‘प्रत्येक पल हामी मरिरहेका छौं र प्रत्येक पल हामीले नवल जिवन पाइरहेका छौं’ जीवनको यथार्थलाई सिद्धार्थको खोजीले यसरी प्रष्ट्याएको छ ।
समयको अन्तराल भन्नु नै केवल भ्रम मात्र हो । यही भ्रमको वशिभुत हुनाको कारण हामीले समयलाई भुत, भविष्य र वर्तमानमा विभाजन गर्ने गर्दछौं । तर भुत र भविष्य भन्नु नै वस्तुतः भ्रम मात्र हुन् । समयको बीचमा हामीले कारेका यही विभाजनका रेखाकै कारण संसार र मोक्ष, दुःख र सुख, जीवन र मृत्युबीच हामी विभाजन देख्दछौं । यी विभाजनहरु केवल हाम्रा विचारका उपज मात्र हुन् । अन्यथा अस्तित्वका सम्रग कुराहरु अभिभाज्य छन् । र, जे छन् अहिले यहाँ हाम्रा दृष्टि सामु छन् ।


मानिसको आफ्नो जीवन नै एक किताब हो जसबाट हरेक दिन मानिसले सिकिरहेको हुन्छ । यो किताबले सिकाएको कुरा नै यहि हो । कुनै पनि कुराको स्वरुप चीरस्थायीकालका लागि कायम नरहनु नै त यो अस्तित्वको विशेषता र सुन्दरता हो ।

No comments:

Post a Comment