Tuesday, November 18, 2014

उनी अामा

उनी दाउराको भारी मिलाउँदै थिईन् । उनको के कुराले मेरो ध्यान तान्यो । मेशो भएन । र पनि उनको फोटो खिच्न मन लाग्यो । ब्यागबाट क्यामेरा झिकेर उनको नजिक गएँ । उनी उभ्याईएको दाउराको भारीमा बाँकी रहेका दाउरा माथिबाट राखेर मिलाउँदै थिइन् ।
दाउरा लिन आउनु भएको हो, आमा ! मेरो प्रश्न सोधाईमा उनले उत्तर दिईन् सँधै आम्छु नानी । उनी बोल्दा अगाडीका केही दाँत झरेकाले थोते देखियोे । मिठाई खानुहुन्छ ?? मैंले अर्को प्रश्न सोधें । खान्छु नी उत्तर आयो । रसवरी भएको प्याकेट उनको हातमा राखिदिएँ ।
उनको आँखा रसायो । नानीले माया गरेर दिएको खान्छु नी भन्दै चोलोको खल्तीमा राखिन् । आमाको फाटो खिच्छु है मैंले सोधें । स्विकृती पाएपछि केही फोटाहरु खिचें ।
नारायणगढ नारायणी किनार छेउमा घर भएको उनले बताईन् । उमेर ९० वर्ष । ‘९० सालको भुइँचालो जाँदा छोरी १८ वर्षकी भई भन्थे’ जन्मेको साल भन्न सकिनन् । ११ वर्षे उमेरमा विहे भएको उनले बताईन् । घर, माईतीका पीडा, ६ छोरा र २ छोरीकी आमा भएर भएर पनि भोगिराख्नु परेको दुःख सुनाईन् । छोरीहरुले सँगै बस्न बोलाए पनि कुटुम्बको घर जान नहुने उनले बताईन् ।
छोरा र छोरी एउटै होईन् र ?? मेरो प्रश्नमा उनले भनिन् समाजले राम्रो मान्दैन नी नानी ।। कहिलेकाँही धाएर जाँदा उनारको राम्रो देख्छु । यहीमा खुशी लाछ ।
म उनीबाट बिदा भएँ । अलि पर आएर फर्केर हेर्दा उनी खुशी मानेर रसवरी खाँदै थिइन् । मनमा एक प्रकारको आनन्द भरिएर आयो । दिउँसो एउटा पत्रकार सम्मेलनमा जाँदा दिईएको खाजाको प्याकेट थियो त्यो ।
देवघाटको बागेश्वरी नजिकै ती आमालाई भेटेको थिएँ । उनको उमेर ठ्याक्कै कति थियो त्यो अन्दाज गर्ने सकिन । दुब्लो पातलो अनि होचो कदको उनको शरीरमा बुढ्यौलीको रेखा प्रत्यक्ष देखिएको थियो । घरपरिवारका सदस्यसँग बसेर आराम गर्ने उमेरमा उनी वनजंगल चहारी राखेकी थिईन् । कति होलान् यस्ता आमाहरु जो छोराछोरी भएर पनि एक्लिएका, वृद्ध अवस्थामा खान, लाउनको लागि पसिना बगाईरहेका छन् ।