Wednesday, March 27, 2013

विश्व शान्तिका लागि उल्टो साईकल यात्रा


साईकल नेपाली समाजको एक मुख्य सवारी साधन हो । मधेश र तराई क्षेत्रका मानिसहरु यसको प्रयोग गर्छन् । छोटो दुरीको यात्राका लागि साईकलको भुमिका महत्वपुर्ण छ । जीवनयापन सहज बनाउनको लागि बालक, युवाका साथै पाका उमेरका मानिसहरु पनि साईकलको प्रयोग गर्छन् ।
उदयपुरको त्रियुगाका २८ वर्षे विरेस दाहालको जीवन पनि साईकलसँग जोडिएको छ । उनी पनि साईकल चलाउँछन् । तर, सामान्य मानिस भन्दा फरक तरिकाले । सबै मानिसको भन्दा उनले साईकल चलाउने ‘स्टाइल’ फरक छ । उनी उल्टो बसेर साईकल चलाउँछन् । उल्टो साईकल चलाउनु उनको रहर मात्र होईन् । आफुले गर्ने उल्टो साईकल यात्राले विश्वमा केही सन्देश दियोस् भन्ने उनी चाहन्छन् ।
त्यसैले त उनी विगत आठ वर्ष देखी उल्टो साईकल चलाएर विश्व भ्रमणमा छन् । यस अवधिमा उनले ४३ वटा देशको यात्रा गरिसके । उनको यो यात्रामा काभ्रे अनेकोटका ४६ वर्षका जनार्दन खनालले साथ दिएका छन् । खनाल भने सुल्टो साईकल चलाएर यात्रामा सहभागी भएका हुन् ।
विश्व शान्ति र सद्भावका लागि साईकल यात्रा सुरु गरेका दाहाल भन्छन् –‘शान्तिको कामना गर्दैै, शान्ति सन्देश फैलाउन उल्टो साईकल यात्रा गरेको हुँ’ । सन् २००४ मा उनीहरुको जोडीले १६ दिन लगाएर नेपालको मेचीबाट महाकालीसम्म साईकल यात्रा गरेका थिए । २००५ वाट भने उनीहरु विश्व भ्रमणमा निस्केका हुन् । विश्व साईकल यात्राका क्रममा उनले एसियाको २८ र अफ्रिकाको १५ वटा देशको भ्रमण गरिसके ।
यात्राका क्रममा दैनिक न्युनतम ८० देखी १५० किलोमिटरसम्म साईकल गुडाएको अनुभव उनीहरुसँग छ । उनीहरुको साईकल यात्राका क्रममा ३४ लाख रुपैयाँ खर्च भैसकेको दाहाल बताउँछन् । ‘हामीसँग यती धेरै पैसा पनि थिएन । साईकल यात्रामा खर्च गर्न सक्नेगरी’ उनी भन्छन् –‘जुन ठाउँमा हामी गयौं त्यहाँ बसोबास गर्ने नेपाली तथा त्यहाँको बासिन्दाले सहयोग गर्नु भएको छ । फेसबुक अभियान बाट मात्रै हामीले छ लाख रुपैयाँ सहयोग पाएका थियौं’ ।
साईकल यात्राको क्रममा उनीहरु नेपाली पोशाक दौरा सुरुवाल र ढाका टोपी लगाउँछन् भने नेपाली झण्डा साथै लिन्छन् । जसका कारण नेपालको पहिचान र संस्कृति प्रबद्र्धन गर्न सकेको दाहालले बताए । आफ्नो जोडीको साईकल यात्राबाट क्षणिक रुपमा भए पनि शान्ति स्थापना हुने उनी विश्वास राख्छन् । ‘उल्टो र सुल्टो गरेर सडकमा साईकल चलाउँदा सबैको ध्यान केन्द्रित हुन्छ; आफ्नो साईकल चलाईबाट सन्तुष्ट दाहाल थप्छन् –‘साईकलमा हामीले शान्तिको सन्देश पनि राखेका छौं, जसले विश्वमा शान्ति हुनुपर्छ भनेर सबैको मनलाई एक पटक छोएको हुन्छ ।’
दाहाल एक रंग कर्मी हुन् भने खनाल पूर्व शिक्षक । शिक्षण पेशा छाडेर खनाल साईकल यात्रामा सहभागी भएका हुन् । सन् २०१७ सम्ममा एक सय ५१ देशको भ्रमण गरेर साईकल यात्रा सम्पन्न गर्ने उनीहरुको योजना छ । यस पछिको योजना बारे पनि उनीहरु दुवै साझा योजना छ । भन्छन् –‘विश्व शान्तिको लागि सुरु गरेको साईकल यात्रा पुरा गरेपछि समाजसेवामा सहभागी बन्छौं ।’

Sunday, March 24, 2013

महिलाको सहारा बन्दै कल्पवृक्ष

रिसाईकलिङ गरेर बनाईएको हात्ती

‘रिसाईकल’ अर्थात पुनः प्रयोग । कल्पवृक्ष ग्रेटर गुड्सले पुनः प्रयोगमा जोड दिएको छ । हस्तकलाका सामाग्री होस् या त लाईट । सबैमा रिसाईकललाई ध्यान दिईएको छ । कल्पवृक्षले महिलालाई उद्यमी बनाउन रिसाईकललाई जोड दिएको हो ।
एक वर्षदेखी यसले पुनः प्रयोग गर्न मिल्ने वस्तुलाई सीपमा ढालेर आम्दानीको स्रोत बनाउन सहयोग गरिरहेको छ । कल्पवृक्षको कार्यालय सौराहामा रहेको छ । यसले हस्तकला र सोलार लाईटको बिक्रि वितरणका लागि सौराहामा बिक्री केन्द्र पनि सञ्चालन गरेको छ ।
कल्पवृक्ष ग्रेटर गुड्सको बिक्री केन्द्रमा चितवन तथा अन्य जिल्लाका महिला उद्यमीहरुले निर्माण गरेका हाते सामाग्रीहरु राखिएका छन् । ग्रीन सोसाईटीका महिलाले बनाएको हात्तिको लिडको कागज, सपना भिलेजको बोरा तथा प्लाष्टिकबाट बनाईएका ब्याग, आदर्शगृहका हस्तकला, जनकपुरको मिथिला चित्र पसलमा छन् ।
पसलमा महिला दिदिबहिनीले स्थानीय स्तरमा रिसाईकलिङ विधिबाट बनाएको सामाग्रीलाई प्राथमिकता दिएको कल्पवृक्षकी अगुवा सीता अधिकारी बताउँछिन् । जुन सामाग्रीहरु विदेशी पर्यटकले किन्छन् । १२ वर्ष महिला बचत सहकारीमा आबद्ध भएर महिलाको आर्थिक अवस्थाको बारेमा जानकार सीता कल्पवृक्षबाट सीपको विकास गरि महिलालाई आत्मनिर्भर बनाउन लागेकी छिन् ।
 बछौली गाविसको सौराहा बस्ने ३८ वर्षीय सीताको अगुवाईमा पुन रिसाईकलिङ वस्तु र ऊर्जाको क्षेत्रमा काम गर्न कल्पवृक्ष संस्था खोलिएको हो । कल्पवृक्ष मार्फत उज्यालोमा महिलाहरुको पहुँच पु¥याउन पनि उनले मेहनत गरेकी छिन् । महिलाहरुको आर्थिक हैसियत नाप्दै उनीहरुको समस्या बुझेर स्वास्थ्यलाई पनि ख्याल राख्दै उनले नविकरणीय ऊर्जाबाट अध्याँरो भगाउने मेशो मिलाएकी छिन् ।
       विद्युतको सुविधाको उपयोग गर्न नपाएका धेरै महिलाहरु बिहान र रातको समयमा अँध्यारोमा काम गर्न बाध्य छन् । १२ वर्ष महिला बचत सहकारीमा आबद्ध भएर महिलाको समस्या बुझेकी चितवनको बछौली गाविसको  सौराहा बस्ने सीता अधिकारी अहिले कल्पवृक्ष मार्फत समाजमा उज्यालो समय बढाउन व्यस्त छिन् ।
 न्युन आर्थिक अवस्था भएका महिलाहरुलाई जीविकोपार्जनका गतिविधीमा अध्याँरोले पारेको असहज परिस्थितीलाई कम गर्ने उनको प्रयास हो । उनले दुई वर्षदेखी यहि कोशिस गरिरहेकी छिन् । अर्थशास्त्रमा डिग्री गरेकी ३८ वर्षीय सीतालाई नेपाली महिलाको आर्थिक हैसियतको बारेमा पनि राम्रो जानकारी छ । त्यसैलै उनी एकै पटक आर्थिक भार नपर्ने गरी निश्चित योजना सहित आफ्नो कार्यमा लागेकी छिन् ।
महिलाहरुको दैनिक कार्यमा नविकरणीय ऊर्जाको प्रयोगका बारेमा उनको संस्थाले काम गर्छ । सौर्य ऊर्जाको उपभोगमा कल्पवृक्षले जोड दिएको छ । अहिले डि लाईट नामक सौर्य ऊर्जाबाट चार्च हुने लाईटको बिक्री वितरण गर्ने कार्य कल्पवृक्षले गरिराखेको छ ।

क्ष्तब ब्मजष्पबचष्
नेपाली समुदायको लागि सुहाउँदो भएकोले यो लाईट समुदायमा लगिएको उनी बताउँछिन् । ‘सामाग्री जुन भए पनि हामीले प्रयोग गर्न सक्ने र फाईदा लिन सक्ने हुनुपर्छ’ सीता भन्छिन्–‘अहिलेसम्मको मार्केटलाई अध्ययन गर्दा र नेपाली दिदिबहिनीले रुचाएको सामाग्री उपलब्ध गराउनमा जोड दिएका छौं ।’ जसले महिलाको दैनिक जीविका चलाउन र रातको फुर्सदमा हस्तकलाका सामाग्री निर्माण सहयोग पुगेको छ ।
       ९ सय र २९ सय रुपैयाँ पर्ने सौर्य लाईट अहिले एक हजार नेपालीले प्रयोग गरिरहेको सीताले जानकारी दिईन् । उनका अनुसार हल्का, बलियो, नफुट्ने, लिएर हिँड्न पनि सजिलो र सामान्य वल्वको तुलनामा चार देखी दश गुणासम्म उज्यालो दिने भएकोले यो लाईट रुचाईएको छ । सामान्यतया पाँच घण्टा घाममा राखेको लाईट १० घण्टा बल्ने गरेको उनले जानकारी दिईन् ।
नविकरणीय ऊर्जाको क्षेत्रमा काम गर्ने इमपावर जेनेरेशनको सीता नेपाल प्रबन्धक पनि हुन् । इमपावर जेनेरेशनले सौर्य ऊर्जाको उपभोगका लागि कल्पवृक्षलाई सहयोग गरेको छ । न्युन आर्थिक अवस्था भएकाहरुलाई किस्ताबन्दीमा र सस्तो ब्याजदरमा इमपावर जेनेरेशनको इनर्जी फन्ड मार्फत कल्पवृक्षले महिलाहरुलाई लाईट उपलब्ध गराउने गरेको छ ।
 चितवनमा अहिले झुवानी महिला, गैंडा पर्यटन र हर्नरी तीन वटा सहकारीमा यो फन्डको व्यवस्था गरिएको छ । जसबाट ८ प्रतिशत ब्याजदरमा ऋण लिएर महिला दिदिबहिनी लाईट किन्न सक्ने व्यवस्था मिलाएको उनले बताईन् । जसले उज्यालोका लागि अन्य ऊर्जामा खर्च हुने रकम बचत भएको सीता बताउँछिन् ।
       न्यून आर्थिक अवस्था भएका एक नेपाली परिवारले एक महिनामा साँझ र बिहानको समयमा आफ्नो क्षमताले सकेको उज्यालो प्रयोग गर्न सामान्यतया मासिक दुई सय देखी छ सयसम्म खर्च गर्ने गरेको उनले पाएकी छिन् । जुन टुकीमाराको ब्याट्री र मट्टितेल किन्नमा खर्च हुने गरेको छ । उज्यालोका लागि दूई महिनामा गरिने खर्चले कम्तीमा दुई बर्ष बाल्न सकिने सौर्य लाईट किन्न सकिने सीता बताउँछिन् ।
सीता अधिकारी 
बर्दियाको मुक्त कमैया र सुकुम्बासी बस्तीमा सौर्य लाईटको उपयोगको संभाव्यता अध्ययन गर्दा उनले टुकिमारामा प्रयोग गरिने व्याट्रीले बस्ती नै दुषित बनाएको पाईन् । भने, होचा घरहरुमा मट्टितेल बत्ती प्रयोग गर्दा आगलागीको जोखिम भेटिन् । त्यसैले बर्दिया र सिराहामा पनि उनी सस्तो दरमा सौर्य लाईटको व्यवस्थाका लागि योजना निर्माण गरेकी छिन् । बर्दियाको कालिका, मोतिपुर, मैनापोखर, पनाहा, मगरगढी, महमदपुर, देउडाकला गरी छ गाविस र गुल्लेरिया नगरपालिकामा सौर्य ऊर्जाको लागि काम गर्दैछिन् ।
महिलाहरुलाई उद्यमी बनाउन नविकरणीय ऊर्जाको प्रयोगमा उनले जोड दिएकी हुन् । ‘उज्यालोको व्यवस्था भएमा काम गर्ने समय बढ्छ’ महिलाको क्रय शक्ति बढाउन सौर्य लाईट सहयोगी हुने बारेमा बताउँदै उनी भन्छिन्–‘साना र घरेलु उद्यम गर्ने महिलाहरु साँझ तथा रातको फुर्सदमा एकछिन काम गर्न पाउँछन्’ । विद्युतमा पहुँच नपुगेका र लोडसेडिङ्गको समस्या बेहोर्नु परेकाहरुलाई सौर्य लाईट उपयोगी रहेको छ । भने यसले मानिसको स्वास्थ्य र पर्यावरण दुवै स्वच्छ राख्न पनि सहयोग गरेको छ ।
कल्पवृक्षले महिलाहरुलाई उद्यमी बनाउन सीप सिकाएको छ । संस्था मार्फत इम्ब्रोईडरी तालिम दिएको सीताले जानकारी दिईन् । उनीहरुले उत्पादन गरेको टि–सर्ट पनि पसलबाट बिक्री हुने गरेको छ । माग अनुसार उत्पादन भने पसललाई उपलब्ध हुन सकेको छैन । भने, महिला उद्यमीहरुको उत्पादनको गुणस्तर र मात्रा बढाउन आवश्यक रहेको सीता बताउँछिन् । जसको लागि आउने दिनमा कल्पवृक्षले काम गर्ने उनले बताईन् । रिसाइकलिङ गरेर बनाएको सामानले महिलाहरु उद्यमशील बनेर आम्दानी त हुने नै भयो यसले वातावरण पनि स्वच्छ र सुन्दर राख्न सहयोग पुगेको सीताको भनाई छ ।



Thursday, March 21, 2013

संगितको मञ्जा नै छुटटै


हिजो दिनभर पानी पर्यो । मध्य दिनको समय नै अन्धकारमय बन्यो । अकस्मात तापक्रम पनि चिसो भयो । चिसो मौसममा गीत सुन्नुको मज्जा नै बेग्लै । त्यो मज्जाको पनि मैंले भरपुर उपयोग गरें । मञ्जा लिने मेशो जुटाई दिएको थियो  सिनर्जी एफ.एमले ।
हिजोको साँझ सिनर्र्जी राईजिङ्ग स्टारको फाईनल हेर्न पुगियो नारायणी कला मन्दिर । हरेक कार्यक्रमहरुमा सँगै हिँड्ने दाईहरुसँगै । पत्रकार दाजुहरु रमेश, दिपेन्द्र, अनिल, प्रविण, विमल र साथी सावित्रि र सरितासँगै बसेर खुब रमाईलो गरियो । केही अघि भएको टप टेनको कन्सर्टमा पनि उत्तिकै रमाईलो गरिएको थियो ।
हिजो त नेपाली संगितका पुराना गीत पनि सुन्न पाईयो । यति चोखो यति मिठो दिउँला तिम्लाई माया, आँखा छोपि नरोउ भनि भन्नुप¥याछ, म त लालि गुँरास भएछु, फुलको थुङ्गा बहेर गयो गंगाको पानी, उकाली ओरालीहरुमा । विरलै सुन्ने अवसर पाईन्छ यस्ता गीतहरु । नारायण गोपाल र तारादेवीको स्वरलाई निकै मिठोसँग स्टारका पाँच फाइनलिष्टहरुले सुनाएका थिए । त्यो पनि जर्जहरुको फर्माइसमा ।
ट्रफि जित्ने र विजयी बन्ने त एउटै नै त हो । मेरो गाउँ गुञ्जनगरका किरण गुरुङ स्टार बने । उपाधी जिते । नवलपरासीका जीतु थापा र निर्मला गोदामीले पनि दर्शकलाई मोहित पारे ।

किरण गुरुङ

गीत गाउनु पनि कला हो । स्वर पाउनुपर्दो रैछ । के गर्नु आफु त त्यस मामिलामा दश कदम पछाडि नै परियो । रहर गरेर मात्र पनि नहुने । जे होस् संगितमा डुब्न चाँही मलाई खुब मज्जा लाग्छ ।
प्रतिभाको कदर गर्दै बाटोमा केही बढ्न सहयोग गरेको छ सिनर्जीले । आफु पनि आबद्ध रहेको रेडियोको यस्तो कदमले खुशी बनाउँछ । यो एउटा राम्रो कदम हो । जसले प्रतिभाको सम्मान त भयो नै कसैभित्र लुकेको प्रतिभा पनि बाहिर आउने अवसर मिलेको छ ।

विजेता किरणलाई धेरै धेरै बधाई अनि शुभकामना । नेपाली संगितको आकाशमा किरण बन्न प्रयास गर्नु । संगितको मर्मलाई कायम राख्दै आफ्नो गारेटो बनाउनु । नेपाली संगितको आकाश अझ फराकिलो बनोस् । नेपाली कुना र कन्दराका गीतहरु पनि आकाशमा अटाउन सकोस् ।

Wednesday, March 20, 2013

आमाबाट केही सिक्न सक्नुपर्छ

मेरी आमा र यो देशको आमा भनिएका नेताहरु बीच धेरै भिन्नता छ
अामा
चार दिने कान्दा यात्रा पछि मज्जाले बिरामी भईयो । रुघा र खोकीले सतायो । एक सातासम्म पनि सञ्चै भएन । हिजो घर पुगियो । घर पुगेर आमाले दिनुभएको तातो पानीले निकै हल्का बनायो ।
घरमा एक्लै बस्दै आउनुभएकी मेरी आमाले गर्नु भएको त्यो केयरले मलाई आमाको मातृत्व र ममताको अनुभूती भयो । त्यो पनि छुट्टै तरिकाको । तीन सन्तान भएर पनि आमा अहिले घरमा एक्लै हुनुहुन्छ । हामी सबै घरबाट टाढा छौं ।
उमेर ६० को हाराहारीमा रहनु भएकी आमाले घरबारी एक्लै हेरीराख्नु भएको छ । सबै मेशो मिलाई राख्नु भएको छ । दुरीको हिसाबले अलि नजिक भएकी म साता अथवा १५ दिनको मेशोमा एक पटक घर पुग्ने गर्छु । म घर पुग्दा आमाको अनुहार उज्यालो हुन्छ । माया र ममताले भरिएकी आमाले हाम्रो पनि ज्यादै ख्याल राख्नु हुन्छ ।
अक्षरको मेशो मेलो केही नभए पनि एक्लै सबै कुराको जोहो गर्नु हुन्छ । अनि व्यवस्थापन पनि । कत्ति मज्जाले गर्नुहुन्छ सबै कुराको सहज व्यवस्थापन ।
देशमा अहिले धेरै नै भद्रगोलमा छ । यो सबै हुनुमा देशको आमाले देशको सक्षम व्यवस्थापन गर्न नसकेर नै हो । देशलाई अघि बढाउने व्यवस्थापन गर्ने जिम्मेवारी लिएका राजनीतिक दल र त्यसका नेतृत्वकर्ताले देशलाई झन् भद्रगोल बनाए । उनीहरु देश सपार्न भन्दा पनि विगार्नमा तल्लिन भए । अनि आफु चाँही राम्रोसँग सप्रिए । आफु बने तर देश विगारे ।


मेरी आमा जो दिन र रात हाम्रो लागि खटिईन्, अझै पनि खटिदैछिन् । उनमा र यो देशका नेताहरु बीच त तुलना गर्न नै मिल्दैन । आमा खटिईन र त हामीलाई यो अवस्थामा पु¥याईन । यदि नेताहरु पनि मेरी आमा जसरी नै निस्वार्थ खटिएको भए यो देश पनि आज धेरै माथि जाने थियो ।

Sunday, March 17, 2013

चैते धानखेतीको चर्चा


संविधानको होइन चैते धानको खेती गर्दैछन् किसान
संविधान खेतीको चर्चा पनि ज्यादै पुरानो भैसक्यो नेपालीहरुको लागि । त्यसैले त त्यसको चर्चा गर्न छाडेर नेपाली किसान अहिले चैते धानको खेती गर्दैछन् । मेशो मिलाउँदै छन् ।
संविधानको चर्चाका लागि सिध्याएको पाँच वर्षले केही गर्न सकेन । बरु चैते धानको लागि त्यती समय दिएको भए कति नेपालीको पेट भरिन्थ्यो होला ।

सिँचाई पु¥याउन सके असारमासको भन्दा राम्रो उत्पादन हुन्छ भन्छन् कृषक । त्यसैले त उनीहरु अहिले चैते धान रोप्नको लागि जुटिरहेका छन् ।

Thursday, March 14, 2013

परिवर्तनको बाटोमा

उनीहरु अहिले जीवनमा केही सिक्दैछन् । सिकाईलाई जीवनमा उतार्दै छन् । लोत्थर गाविसको विकट मानिएको कान्दाका बासिन्दा आफुलाई परिमार्जित गर्दै छन् । जसमा उनीहरुले देखाएको तत्परताको कदर त सबैले गर्नै पर्छ ।
उनीहरुको त्यो उत्साह र जीवनशैलीलाई नजिकबाट नियाल्ने अवसर पाएँ । अवसर जुराईदियो मितेरी फाउण्डेशनले । चेपाङ गाउँ पहिला पनि पुगेको थिए । भरतपुरबाट नजिकै रहेको ठाउँहरुमा गएको मैले त्यहाँको विविधतामा धेरै अन्तर पाएँ ।
मुस्किलले छ महिनासम्म खानाको जोहो गर्न सक्षम उनीहरु अहिले आफ्नो जीविकालाई उकास्ने तरखर गर्दै छन् । सरसफाईमा ध्यान दिन थालेका छन् । हप्ताको एक पटक त नुहाईन्छ हो भन्छन् । जसले पनि उनीहरुको सचेतनालाई प्रष्ट पार्न थालेको छ । उन्नत बीउबिजन प्रयोग गरेर उत्पादन बढाउने सुर कसेका छन् । सीप सिक्न थालेका छन् ।
मुख्य कुरो त उनीहरुले आफ्नो लाज ढाक्न थालेका छन् । कपडाको अभाव हुँदाको त्यो अवस्था र अहिलेको अवस्थाको चित्रण गर्ने हो भने ठूलो अन्तर पाईन्छ । कपडा लगाउनुपर्छ, सफा बस्नुपर्छ, स्वस्थ रहनुपर्छ, सीप सीक्नुपर्छ र पढ्नुपर्छ भन्ने ज्ञानको विकास भएको छ । 
उनीहरुमो यो चेतनाको विकास गर्ने मितेरीको यो कदम उल्लेखनीय छ ।