Sunday, January 12, 2014

‘मिस यु नारायणी वीच’





शान्त, प्रिय, सुन्दर ठाउँ नारायणी किनार
मेरो लागि मात्र होईन प्राय सबैको लागि
रमाउने, बिसाउने थलो हो नारायणी किनार....











त्यसै मोहित बनाउने किनारमा प्राय साता दिनमा पुग्ने गर्थे । गर्मी होस् या जाडो नारायणी किनारले मन हरेको छ मेरो । भरतपुरको बसाईलाई स्विकारेसँगैको प्रिय ठाउँ बन्यो । भरतपुर बस्न थालेपछि खुरर्र भरतपुर ओरालो हिरो साईकलमा कुद्दै पुग्थें नारायणी किनार ।







जाडो होस् या गर्मी सबै समयको याद गाँसिएको छ । गर्मीको साँझ चिसो आईसक्रिम खाँदै अस्ताउँदै गरेको सुर्यलाई हेर्दै, सिरसिर हावाको शितलता अनि पानीमा खुटटा चोबलेर बिताएको समयले ताजा ऊर्जा अनि मोटर बोटमा नारायणीको पानी माथि दौडिदाको मज्जा सम्झिदा कति रोमाञ्चक बनाउँछ । अनि जाडोको दिनमा पोलेको मकै, बदाम, सुन्तला र घामको तापसँग बाँडेको समय रमाईलो पल बनेर कैद भएको छ जिन्दगी नामको एल्बममा ।





नारायणी किनारबाट देखिने अस्ताउँदो सुर्यले त मोहनी नै लगाउँछ । कति दिन त सुर्यास्त हेर्न भनेर नै कुदेको छु नारायणी किनार । कुनै दिने उद्योग वाणिज्यसंघ पछाडी किनारमा बसेर साथीसँग गफिनको लागि पुगेको छु । कुनै दिन गौरेश्वर मन्दिरबाट नदिको छाल नियाल्न पुगेको छु । साँझको समय मोहित पार्ने सुन्दरता छर्छ
नारायणीले ।






दौडधुपको जीन्दगीमा दिक्क लाग्न थाले, पट्यार लाग्न थाले म पुगिहाल्थे नारायणी किनार ‘फ्रेस’ हुने बहाना खोज्दै । त्यहाँको शान्तपनले र सुन्दरताले मेरो मन, दिमाग र शरीर नै नयाँ उमंगले सिञ्चित हुन्थ्यो । अनि त दिगदारी, नैराश्यता त सबै ‘फु’ भएर जान्थे । अनि म फ्रेस भएर, उत्साह लिएर फर्कन्थे ।







व्यक्तिगत जीवनीको पाटो खोल्ने, सुखदुःख बाँड्ने थलो नारायणी किनार । जहाँ ,मेरो निकट साथीहरुसँग मैंले आफ्नो जिवनको खुशी अनि रोदनका पलहरु सेयर गरेको छु । नारायणी  किनार धेरै पटक पुगेपनि साथ जाने साथीहरु भने थोरै छन् । बढि त म सावित्री साथीसँग र सरला दिसँग गएको छु ।
पछिल्लो समय नारायणी किनार सफासँगै सुन्दर बनेको छ । बस्नको लागि सिमेन्टका बेञ्च बनाईएका छन् । मन्दिर तथा मुर्तिहरु पनि बनेका छन् ।


म सुरुमा पुग्दाको समय र पछिल्लो समयमा धेरै फेरियो नारायणी किनारको स्वरुप । व्यवस्थित बनेको किनारको वातावरणले बसाई सहज बनाएको थियो । शान्त वातावरण, नदिको सौन्दयर्ताले गर्दा म दिन प्रतिदिन नारायणी किनारसँग मेरो सामिप्यता बढेको थियो ।
पछिल्लो समयमा मसँगै नारायणी किनार पुग्नेमा सावित्री नै बढि भएकी थिई । फुर्सद भयो की स्कुटरमा कुद्दै पुग्ने गथ्र्याै हामी । नदिलाई नियाल्दै, सुर्यास्त हेर्दै साँझ ढल्थ्यो र हामी फकिन्थ्यौं । र पनि त्यति प्रिय ठाउँ नपुगेको महिनौं भएछ ।


बितेका दिन र पल खोतल्दै जाँदा पछिल्लो पटक गएको साउनको ७ गते पुगेको रहेछु । आज हिसाब गर्दा त छ महिना पुरा हुन ८ दिन मात्र बाँकी रैछ । पछिल्लो पटक नारायणी किनार पुग्दाको साता नदिमा पानीको सहत निकै उर्लेको थियो । खतराको बिन्दु भन्दा धेरै माथि उर्लेको थियो । नदिमा पानीको सतह हेर्नको लागि नारायणी पुलमा र किनारमा जोडिएका छतहरुमा मानिसको भीड थियो । म पनि त्यहि भीडलाई नियाल्न र नारायणीको तस्विर खिच्न पुगेको थिएँ ।
खोई किन हो त्यो दिन पछि नारायणी किनार पुग्ने दिन नै किन जुरेन । व्यस्तता बढेको पनि होईन र पनि किन हो । नारायणीको पुल धेरै पटक वारपार गरेपनि किनार पुग्ने मेशो किन मिलेन खोई ?? यो बितेको समयमा धेरै पटक ‘मिस’ गरेको छु नारायणी किनारलाई ।