Tuesday, February 18, 2014

विषालु च्याउले रित्तो बनेको ‘घर’


शनिबारको दिन बिहानको खानापछि हुँईकिएको थियौं भरतपुरबाट जुगेडी तिर । जुगेडी पार गर्दै भोर्लेबाट पनि स्कुटरमा उक्लिने साहस ग¥यौं । कच्ची र उकालो बाटोमा स्कुटर पञ्चर हुन सक्ने र ओरार्लो झर्न गाह्रो हुने भयले स्कुटर उकाल्ने साहस नै सकियो । अनि पिच छोडेर केही उकालो उक्लिएपछि भेटिएको पहिलो घरमा नै स्कुटरलाई विश्राम दिएर हिँड्यौं ।
मध्यान्हको समय थियो । माघको महिना भएर पनि उकालो उक्लिदै गर्दा पसिना बगेको थियो । नयाँ ऋतुको आगमन हुनको लागि रुखबाट पातहरु झर्दै थिए । अघि अघि हिँडेकी प्रतिमा ‘दि’ लाई भेट्न नै मुस्किल भैरहेको थियो मलाई । केही घण्टाको उकालोको हिँडाई पछि उनको घरमा पुगेको थिएँ । जो भेटन् गएको हो उनी भेट हुने हो कि होईन भन्ने दोधार भने त्यहाँ नपुग्दासम्म मनमा अड्किएको थियो ।
परैबाट देखिएको उनको घर र घर छेउमा बसेका उनलाई । हामी भेट्दै थियौ उमेरले ८० कटेका मैतबहादुर चेपाङलाई । कविलाश गाविस ७ चौकीडाँडाका मैतबहादुर ७४ वर्षीय श्रीमती कमिनीको भरमा बाँचिरहेका छन् । दुई घण्टा लाग्ने ठाउँबाट पानी ल्याउने, बाख्रा चराउने, घाँसपात र दाउराको जोहो, खेती गर्ने सबै काम कमिनी एक्लैले गर्छिन् । मैतबहादुर घर कुरेर बस्छन् । घर बाहिर निस्कन उनलाई लठ्ठीको सहारा चाहिन्छ ।
डेढ वर्ष अघिको त्यो घटना नहुँदो हो त यि दुई बुढाबुढीलाई यति बिध्न सास्ती हुने थिएन । घर भर छोरा बुहारी र नातिहरुको जमघट हुन्थ्यो । तर उनीहरुले चाहे जस्तो भएन । सन्तानले भरिभराउ घर अहिले रित्तो भएको छ ।  दुई बुढाबुढी मात्र भएर रुङ्गिरहेका छन् ।  
विषालु च्याउका कारण घरका पाँच सन्तानले ज्यान गुमाउँदा उनीहरुको आँगन सुन्य भएको छ । घर भित्र बाहिर गरेर सताउने नातीहरुको साथ छुटेको छ । बेलामा पकाएर खुवाउने बुहारी, कमाएर ल्याउने छोरा र तीन नाती ०६९ सालको जेठ अन्तिम दिन साँझको छाक खाएको विषालु च्याउको कारण उनीहरुबाट टाढा भए ।
बचेका दुई काखे नातीहरु मध्ये दुई वर्षको नाति चोकमानलाई पूर्व प्रधान सेनापति छत्रमान सिंह गुरुङले पाल्नका लागि लगे भने कान्छो नातीलाई उनकी छोरीले हुर्कारहेकी छिन् । नाती लिएर जाँदा र भेट्न आउँदा सेनाले ल्याईदिएको सामल मैतबहादुर सम्झिन्छन् । बाख्रा चराउन गएकी कमिनीले बिहानै पकाईदिएको डेढोले उनी दिउँसोको भोक मेटाउँछन् ।
दुई छोरा र एक छोरी भएका मैतबहादुर बुढेसकालमा बुढाबुढी मात्रै भएर दिन कटाईरहेका छन् । दुई छोरा छुट्ट भिन्न भएपछि उनी कान्छो छोराको परिवारसँग बस्दै आएका थिए । ‘गोरु जोत्ने छोरो नै गयो’ मैतबहादुर भन्छन्–‘खेती लाउन नी गाह्रो हुन्छ’ ।
छोरोले नयाँ घर बनाउनको लागि अड्याएको खम्बामा उनीहरुले भित्ता जोड्न पनि सकेका छैनन् ।  आडैको पुरानो घरको छानो छाउनुपर्ने भएको छ । छोराले सबै कामको मेशो मेलो मिलाउने गरेको सम्झँदै उनी घर छाउने कामको लागि जाडोमा घाम तापेर चोया काट्दै थिए । खेतला लाएर घर छाउनको लागि ज्याला तिर्ने पैसा पनि उनीसँग छैन । न त लडेर घाउ भएको खुट्टाको उपचार नै गर्न सकेका छन् । उनको घरमा मान्छेको संख्या घटेसँगै बाख्रा, कुखुरा र अन्नको संख्या र मात्रा घटेका छन् ।
अभावको समस्या झेलेर बसेका भए पनि घरमा उसिनेर राखेको पिडालुले हाम्रो सत्कार गरे । आत्मियता कति न्यानो थियो त्यो । उनको आत्मियताको साटोमा हामीसँग दिने केही थिएन । मात्र केही घण्टा उनको कुरा सुन्यो । उनको घर हे¥यौं । अनि ढल्दै गरेको दिनसँग फकियौं पनि ।




Saturday, February 15, 2014

रीतिले बाँधिएको डोरी


आज फागुन ३ गते । परेवा तिथि । घरमा फेरी जुट्दैछौं । हरेक वर्ष जस्तो आज पनि । एका बिहानै बाहुन बाजे आईपुग्नुभएको छ । परापुर्वकालदेखी चलिआएको रीति पुरा गर्न । आमाले तयार गर्नु भएको सामाग्रीहरुलाई बाहुन बाजे र दादाले माध्यम बनाउनुभयो । अनि डेढ घण्टा नपुग्दै सबै काम सकियो । रीति सकियो ।
अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि पनि मेरो निधार बाहुन बाजेको हातबाट पहेंलो अक्षताले भरिए । फेरी पनि बाहुन बाजेको हातबाट बाबाको नामको टिका मेरो निधारमा प¥यो । पहेंलो रङ्गले निधार छोपियो । आजको तीथि बाबाले संसार छोड्नु भएको दिन । सम्झने एउटा माध्यम बन्यो हाम्रो संस्कार र रीतिरिवाज । वर्ष नै गन्ने हो भने पनि दुई हात र एउटा खुट्टाको औंला गनेर पनि नपुग्ने वर्ष बितिसकेछ । छिट्टो बितेका हुन् या ढिलो वर्षहरु ।
त्यो दिन ः जुन दिन मेरो गाउँको एक दाई मलाई लिन साईकल लिएर मेरो स्कुल पुग्नु भएको थियो । साईकल लिएर लिन आउँदा म फुरफुर परेर घर गएको थिएँ । घर नजिकै चोकमा पुग्दा मेरो घरको बाटोमा मान्छेको भिड थियो । साईकलबाट झरेर आँगनमा पुग्दा बाबालाई आँगनमा राखिएको थियो । नजिकै दादा र यिनै बाहुनबाजे बसेर के के गर्दै थिए मेरो बालक मगजले केही बुझेको थिएन । घर भित्र गएर झोला राखें । झ्यालबाट हेरेको त आमा गोठमा बसेर रोईरहनुभएको थियो । सोधें आमा किन रोएको भनेर । केही उत्तर पाईन । केही बेरपछि मान्छेहरु आएर शंख बजाए । अनि सबै गए । रात परेको थियो । म निदाएछु । केही पछि उठाएर केराको पातमा घ्यूमा भुटेको केरा खान दिएका थिए । त्यसको साता दिन मलाई र बहिनीलाई स्कुल जान पनि दिईएन । कपाल कोर्नु हुँदैन थ्यो । सानै भएर हो वा बाबासँग ज्यादा घुलमिल नभएर हो मलाई बाबाको याद नै आउँदैथ थ्यो ।
अलि पछिका वर्षहरुमा स्कुलमा साथीहरुले आफ्नो बाबाको बारेमा कुरा गर्दा मेरो पनि बाबा भैदिएको भए..... सोच्थे । जतिखेर म बाबाको महत्व बुझ्न सक्ने, समझ्न सक्ने भएको थिएँ त्यती खेर त बाबा नै हुनुहुन्थेन ।
बाबालाई सम्झने हो भने एउटा कुरा मलाई संधैं याद आउँछ । २ कक्षामा पढ्दा मेरो सेरोफेरोमा प्रश्न आएको थियो तिम्रो बाबाले के गर्नु हुन्छ ? मैंले उत्तर लेखेको थिएँ मेरो बाबाले भात पकाउनुहुन्छ । त्यती बेला पनि मलाई थाहा नरहेछ मेरो बाबाले के काम गर्नु हुन्छ भनेर । उहाँ रिटाएर भएर बस्नु भएको रहेछ भनेर । उत्तर कापि दादाले हेरेपछि मलाई धेरै दिनसम्म जिस्काउनु भएको थियो ।
अहिले सम्झदा पनि अचम्म लाग्छ कसरी मैंले त्यस्तो उत्तर लेखेछु भनेर । हिजा सन्तानले गरेका कामहरुको लगाम लगाउने, अगाडीको बाटो देखाउने काम अभिभावकको हुन्छ । सन्तानले जिवनमा उचाई लिएको हेर्दा अभिभावकलाई खुशी हुन्छ । तर मेरो बाबाले त्यो देख्न पाउनु भएन । मेरो बाल्यकाल अनि बाल्यकाल पछिको युवा अवस्था सबैबाट टाढा हुनुभयो ।
र पनि पुर्खाले चलाईदिएको संस्कारले वर्षमा एक दिन भएपनि सबै संगै भएर रीति पुरा गर्ने अवसर जुट्ने गरेको छ ।


Sunday, February 2, 2014

सिजन गुच्चाको

४, ५ पढ्दासम्म खेलिन्थ्यो । साह्रै रमाईलो पो हुन्थ्यो । आफु सरहका साथीहरुसँग मात्र नभएर आफु भन्दा ठूला दाजु, दिदीहरुसँग पनि खेलियो । एक रुप्पेमा २० वटा आउँथ्यो । आफुलाई पानी कलरको मन नपर्ने रंगिन चाहिन्थ्यो । एक रुप्पे तिरेर किनेकोले अँजुली नै भरिन्थ्यो । हातभरी लियोे अनि छ्याइँछ्याइँ बजाउँदै हिँड्यो ।
स्कुल बिदाको दिन त बिहानैदेखी सुरु हुन्थ्यो हाम्रो खेल । आफु भन्दा ठूलाले खेलमा मिसाएनन् भने सानाहरुको्े छुट्टै टोली हुन्थ्यो । एउटै आँगनमा दुई, तीन टोलीको खेलले आँगन नै भरिभराउ । खहिले खाल बनाएर गुच्चा खेलिन्थ्यो त कहिले सानो सानो खोपिल्टो बनाएर ।
कहिले काँही त स्कुल जाँदा पनि सँगसँगै पुग्थ्यो गुच्चा । सरहरुको गाली खाईन्छ भनेर मिडीको गोजिमा रहेको गुच्चालाई झोलामा लुकाईन्थ्यो । केटाहरु भने स्कुलमा पनि सरहरुसँग लुकेर खेल्थे । हामी केटीहरु चाँही स्कुलमा चुँगी खेल्थ्यौं । चुँगी खेल्दा चाँही त्यती गाली खाइँदैनथ्यो जति केटाहरुले गुच्चा खेलेको देख्दा सरहरुबाट पाउँथे । स्कुलको अफिस कोठमा विद्यार्थीहरुबाट सरहरुले खोसेर लगेको गुच्चा र चुँगीको त थुप्रो नै लाग्थ्यो ।
हाम्रो गुच्चा खेल्ने सिजन सुरु हुँदा प्राय जसो धान काटेर भित्राईसकिएको हुन्थ्यो । आँगनमा छेउ कुनामा कतै कतै भुस र परालको धुलाहरु बाँकी हुन्थे । कतै पराल तथा धानको कुन्यु बनाउँदा मुसाले बनाएका भ्वाङ्गहरु हुन्थे । कहिले त खेल्दै गर्दा त्यस्तै भ्वाङ्ग अनि धान परालको घुरानको थुप्रो भित्र कता पुग्थ्यो गुच्चा । खोज्दा खोज्दा हैरान नै भईन्थ्यो ।
गएको साता माडीको गर्दी पुग्दा स्कुले बालकहरु यसरी नै गुच्चाको खेलमा रमाईरहेका थिए । जाडोको मौसममा गुच्चा खेल्दै हात तताई रहेका थिए उनीहरु पनि । खेल हेर्दै, फोटो लिँदै गर्दा मैंलें पनि आफ्नो बाल्यकाललाई सम्झिए । कति रमाईलो थिए ती बाल्यकालका समय । अहिले सम्झिदा पनि खुशी लाग्छ । खेल्न पाएपछि केही कुराको मतलब नै हुदैन्थ्यो । खेलमा कहिले हारेर गुच्चा सकिन्थ्यो त कहिले जितेर गुच्चा बटुलिन्थ्यो । जितेको गुच्चाहरु बेचेर २÷४ रुपैयाँ हात पर्दा त खेलको मज्जा नै डबल पो हुन्थ्यो त ।