Friday, December 26, 2014

एलियन ‘पीके’


 गुमाउनु । संघर्ष । सफलता । सामान्य विषयवस्तुको उपलब्धी उत्कृष्ट ।
माया । प्रेम । अफेयर । एकआपसमा जेलिएर कसिएको विशिष्ट ।
हरेक संवाद हाँस्यास्पद र गहिरो भावमा जोडिएको छ पीकेमा । दुःख र समस्याको उन्मुक्ती, खुशी र हाँसोको खोजीमा अडिएको कथावस्तु । ईश्वरको खोजीलाई सामान्य र सरल अनि मिहिन प्रस्तुतीकरणले उत्कृष्ट बनाएको छ पीकेलाई ।
मानिसको अध्ययन गर्न अर्कै ग्रहबाट आएर फर्किन नपाएको एलियन र एलियनको संघर्षका क्रममा उसँग जोडिन आउने पात्रहरुको प्रस्तुतीको वरिपरि घुमेको कथाले क्षणिक मनोरञ्जन मात्र पस्किएको छैन । साझा सन्देश पनि पस्किएको छ । धर्म र धर्मसँगै जोडिएका व्यवहारलाई केलाईएको छ ।
मानिसका दैनिकी जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय नै पीकेको प्रमुख कथा बनेको छ । त्यही कथालाई राजकुमारी हिरानी र विधुविनोद चोपडाको जोडीले उत्कृष्ट बनाएर प्रस्तुत गरेको छ । थ्री इडियट्स बाट वाहवाही बटुलेको पाँच वर्षको अन्तरमा यो जोडीले बनाएको यो फिल्म दर्शकले थ्री इडियट्स जस्तै मन पराएका छन् ।  
 फरक अनि जीवनलाई गति दिने सन्देशलाई प्रस्तुत गर्ने कलाकारको छवि बनाएका आमिर खान पीकेबाट सफलताको अर्को एक खुड्किलो उक्लिएका छन् । छोटो भुमिकामा देखिएका कलाकार सबैको प्रस्तुती उत्कृष्ट रहेको छ ।
पीके बौद्धिक श्रेणीको उत्कृष्ट फिल्म बनेको छ । फरक शैलीको प्रस्तुतीले फिल्मी क्षेत्रमा फरक फिल्मको रुपमा पीकेलाई स्थापित गरेको छ । पीकेले दर्शकलाई मनोरञ्जन मात्र दिँदैन । छुट्टै सन्देश दिन पनि सफल भएको छ ।
आमिर खानको फिल्म भन्ने बित्तिकै दर्शको अपेक्षा नै फरक हुन्छ । रमाईलो मात्र होईन् केही विशेष हुन्छ भन्ने आम दर्शकको धारणालाई फिल्मले मर्न दिएको छैन ।

No comments:

Post a Comment