Sunday, June 29, 2014

आँप र रमाईलो बाल्यकाल


‘ड्याङ्ग’ टीनको छाना र रुखबाट झरेको आँपको दाना बीचको आवाज आयो । खाना बनाउँदै गर्दा म तर्सिए । आँफैलाई हाँसो लाग्यो । आँपको दाना झर्दा पनि कस्तो तर्सिए छु । अनि सम्झिन थालें विगतका वर्षहरुमा आँपसँग बिताएको समय र आँपसँगको अतित पनि मेरो सम्झनयोग्य नै छ । मैंले थाहा पाएदेखी नै मेरो घरमा आँपका दुई ओटा बोट थिए । टन्नै फल्ने । खाएर नसकिने । केही वर्षअघि रोपेको अर्को बिरुवा पनि फल्न थालेको बर्षहरु नाघिसक्यो । अहिले तीन वटा छ ।
असारः आँप पाक्ने महिना अनि हाम्रो स्कुल बिदा हुने महिना पनि । यस्तो लाग्थ्यो यो महिना आँप खानको लागि नै स्कुल बिदा भएको हो । बिहान आँखा खुलेदेखी बेलुका निन्द्रामा नपुगेसम्म दोस्ती नै आँपसँग हुन्थ्यो ।
हावाहुरी र पानीसँगै राति खस्ने आँपले त कति पटक निन्द्रा नै व्युझाएको छ । राती टिनको छानामा आँप खस्दा आउने आवाजले ब्युझिँदा लाग्थ्यो, आज आँप धेरै खसेको छ । अहिले बटुल्न जाँउ की । अनि बिहान उठ्ना साथ हातमुख धुने काम भन्दा अघि हुन्थ्यो । आँप बटुल्ने काम । आँपका रुखमुनीका साना घाँस पन्छ्याउँदै आँप बटुल्थ्यौं । खोजी खोजी आँप बटुल्ने काम हुन्थ्यो ताकी चाहेर पनि आँप कतै नछोडियोस् ।
बाटा, बाल्टी आँपले भरिन्थ्यो । हामीले बटुलेका आँपहरु आँप नहुनेहरुको घरमा पुग्थे । आँपले भरिएका बाटा, बाल्टी खालि हुन्थे । अर्को बिहान हामी त्यसरी नै भर्ने गथ्यौं । यसरी आँप झर्ने क्रम र हामीले बटुल्ने क्रम आँप नसकिदाँसम्म चलिरहन्थ्यो । हाम्रो दिन नै सुरु हुन्थ्यो सबैभन्दा पहिला आँपको स्वाद लिएर । घरमा नै बसे त आँप खान टुट्थेन । घर बाहिर खेत बारी कतै जानु परे पनि आँप नखाई बस्थेनौं । बारीमा जानुपर्ने होस् या घरबाहिर कतै हातमा आँपको दाना लुकेका हुन्थ्ये ।
बिहान र साँझको समयमा खेतबारीमा लागेपनि दिउँसो त घरमै भईन्थ्यो । अनि घर भनेको नै आँपको रुख हुन्थ्यो । आँपको रुपमा चढ्यो । टिप्यो । अनि बोटमा नै बसेर खायो । रुखमा चढेर आँप खानेमा बहिनीसँग मेरो झगडा नै हुन्थ्यो । एउटा हाँगामा बहिनी चढे म अर्को हाँगामा चढ्थे । आँपको रुखको हाँगा भागवण्डा हुन्थ्यो । एउटाले बढि खायो भने अर्कोलाई त्यो भन्दा बढि खानुपर्ने । एक दिनमा नै कति आँपका दाना खाएर सक्थ्यौं । गिन्ती नै छैन ।
अनि कतिखेर लौरो लिएर आमा लखेट्न आईपुग्नु हुन्थ्यो हाम्रो भागाभाग हुन्थ्यो । गाउँतिर एकछिन हरायो अनि घर फर्कियो । हाम्रो घरमा फल्ने आँप पनि अचम्मकै छ एक वर्ष विराएर फल्छ । एक वर्ष टन्नै फल्ने अनि अर्को वर्ष एउटा, दुईटा हाँगामा भन्दा नफल्ने । अनि रुख चढेर आँप खान पनि एक वर्ष विराउनुपर्ने । र पनि आँपको सिजन धेरै रमाईलो हुन्थो ।
यसरी आँप खाने क्रम एसएलसी सक्दासम्म चल्यो । त्यसपछि भने घर बाहिरको बसाइँ भयो । कहिलेकाँही घर पुग्दा पहिला जसरी आँप खाने मेशो नै नमिल्ने । यो वर्ष भने आँपको रुखमा चढ्ने मेशो मिल्यो । रुखमा नै बसेर आँप नखाए पनि आँप झार्ने काम भने गरियो ।