Monday, April 29, 2013

सीपले सक्षम सरस्वती

सरस्वती घिमिरे

 सरस्वती घिमिरे निरक्षर छिन् । तर उनलाई सीपले सक्षम बनाएको छ । उनी गुडिया बनाउँछिन् । त्यही सीपले गर्दा उनी आफ्नो ठाउँमा गुडिया दिदि भनेर चिनिन्छिन् । गुडिया बनाउन जानेकै कारण उनी सीपसँगै आर्थिक रुपमा पनि सक्षम बनेकी हुन् ।
४० वर्षीय उनी चितवनको भरतपुरमा डेरामा बस्छिन् । गीतानगरकी उनको १३ वर्षको उमेरमा बिहे भएको थियो । घर राम्रो नबसेपछि लामो समय एक्लै बसेकी उनले दोस्रो विवाह गरेको श्रीमान्सँग पनि उनको घरबार बसेन । आफ्नो पारीवारिक पीडा लुकाएर उनी अहिले आफ्नो सीप निर्खान लागेकी छिन्
सरस्वतीले गुडिया बनाएर मासिक ३० हजार रुपैयाँ आम्दानी गछिन् । भने आफ्नो बसाइँ र गुडिया बनाउन आवश्यक सामाग्रीको खर्च कटाएर मासिक आठ हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । दुई जनालाई रोजगारी पनि दिएक िछिन् ।
सरस्वती घिमिरे
उनी गुडियामा कुकुर र पाण्डाका आईटमहरु बनाउँछिन् । ‘कुकुर र पाण्डा दुवैको माग अहिले छ ।’ आफुले बनाउने गुडियाको बारेमा बताउँदै सरस्वती भन्छिन् –‘ठूलो र सानो साईजको माग छ बजारमा त्यही अनुसार नै बनाउँछु ।
उनले गुडिया बनाउन थालेको छ वर्ष भयो । डेरामा बस्दा घरवेटीले गुडियाहरु बनाएको देखेर उनलाई पनि सिक्न मन लाग्यो । घरवेटीलाई आग्रह गरेर ड्राफ्ट तयार भएको गुडियाहरु सिलाउने काम गरेकी थिईन् । पछि विस्तारै उनले ड्राफ्ट कोर्न पनि सिकिन् । अहिले उनी ड्राफ्ट कोर्छिन् । अरुलाई सिलाउन दिन्छिन् भने फिनिसिङ्गको काम आफैं गर्छिन् ।
गुडिया बनाउन आवश्यक सामाग्री उनी काठमाडौंबाट ल्याउँछिन् । भने उनले बनाएको गुडियाहरु अधिकांश नारायणगढ बजारमा नै बिक्री हुन्छन् । गएको वर्षहरुमा नेपालगञ्जसम्म गुडिया बिक्रीको लागि गएकी थिईन् । अहिले नारायणगढको माग नै पुरा गर्न नसकेको सरस्वती बताउँछिन् । उनले बनाएको गुडियाहरु ८० रुपैयाँदेखी चार सय रुपैयाँसम्म पर्ने छन् ।
अर्डर आयो भने उनी फर्माइस अनुसार कुशनको सेट पनि बनाउँछिन् । आफ्नो लागि मेहनत गरेर आँफै कमाउन सक्ने सरस्वती भन्छिन्–‘नपढे पनि, दुःख पाए पनि बाँच्नको लागि अरुको भर पर्नु परेको छैन यसैमा खुशी लाछ ।’

Monday, April 22, 2013

बेक्कार आए जस्तो लाग्यो



बेक्कार आए जस्तो लाग्यो
म पुगेर उनीहरुलाई थप दुःखित् बनाएछु
आफ्नो पेशाप्रति मनमा गुनासाहरु उब्जिए
के गर्नु आफ्नो उत्तरदायित्व मात्र
त निर्वाह गरेको हो नी मैलैं ......।।

पत्रकारिता गर्न थालेपछि धेरै कुरा, परिवेश अनि मानिसहरुको बारेमा केही भए पनि जानकारी पाएको छु । खुशी अनि सफलताको कथाहरुलाई नियाल्ने मौका पाएको छ । प्रकृतिसँग नजिक भएको छ । विभिन्न नयाँ ठाउँहरुमा पुगेको छु अनि नयाँ मानिसहरुको नजिक पनि ।
मन कति हलुका हुन्छ अनि रमाईलो पनि जब प्राकृतिक सुन्दरताले जोडिएको ठाउँहरुसम्म पुग्छु । मानिसहरुको खुशी अनि सफलताका कुराहरुलाई सुन्छु अनि आफ्नो लयमा उनीहरुको शब्दलाई उर्ताछु । लाग्छ उनीहरुको खुशीलाई म धेरै जनासँग बाँड्दै छु । त्यती बेला मलाई आफ्नो काम र पेशाले गर्वको महशुस गराउँथ्यो ।
तर, सँधै यस्तो नभईदिने पीडा र दुःख अनि रोदन र अभावसँग पनि नजिक त हुनैैपर्ने । भुलिसकेको विगत, इतिहास, पीडा, दुःख र दर्दलाई पनि पुर्नस्मरण पनि गराउनु पर्ने आफ्नो कामले त आँफैलाई पनि पीडित बनाउँछ । लाग्छ कस्तो काम गरेछु, भुलिसकेको पीडा र विगत ताजा गराई दिने ।
जीवनका अनेक मोडहरुका घटनाक्रमले दुःखीत् भएका उनीहरुलाई पुनः मैंले पहिलेको जीवनशैली सम्झाई दिँए । घर सम्झाइँदिए । के भएको थियो । घटनाक्रमहरु पुर्नस्मरण गर्न लगाएँ । अब अगाडी नबढौं आफ्नो काम नै त्यही । उनीहरुको पीडालाई खोतल्दै थिएँ । मन भक्कानिएको, कैंयौं वर्ष लगाएर थामिएका आँशु बगाईदिने काम भयो म बाट ।
मेरो मन पनि अत्तालियो । दिल छोयो । कस्तो काम गर्न आएछु । उनीहरुलाई थप दुःखित बनाएँ । के मैंले यस्तो गर्नु हुन्थ्यो म सोच्न मजबुर भएँ । अनि मनमा छुट्टै आभाष भयो । कमसेकम मैंले उनीहरुको पीडालाई खोतल्दा उनीहरु माथि भएको घटनाक्रम अरु माथि नपरोस् भनेर सचेतनाको सन्देश त दिन सक्छु नी !!
मैले गरेको कामले उनीहरु जसरी नै अरु पीडित बन्ने क्रम रोकिनमा पो मद्दत गर्छ की ? मन केही ढुक्क बन्यो

Sunday, April 14, 2013

०६९ का....


बग्नु मन छ जमिनमा खोला बगे जसरी
उड्नु मन छ आकाशमा चरा उडे जसरी.....।

खोला बगे जसरी बगेर टाढा जाने कुरा नगर्नु
बरु पवन उडे जसरी उडेर नजिक आउने कुरा गर्नु...।।

मानिसको मन न हो कहिले बगिदिन्छ, कहिले उडिदिन्छ, कहिले रमाईदिन्छ, कहिले हराईदिन्छ, अनि कहिले रुवाई पनि दिन्छ । कति फरक बन्छ समय सापेक्ष अनि परिवेश अनुसार । यहि जिन्दगी कहिले दिक्क लाग्दो, बोझ लाग्दो बन्छ त कहिले त्यो भन्दा कयौं गुणा फरक बन्छ ।
यस्तै फरक परिवेश र परिस्थितीहरुको एक संगालो वर्ष २०६९ पनि सकियो । अब मात्र सिमित बनेको छ एक सम्झना र एक अतित बनेर । धेरै कुरा आफैं सिकियो, अनि धेरै कुरा सिकायो वर्ष ०६९ ले जीवनमा । केही नौला र केही नयाँ अनुभवको अवसर दिलायो गएको वर्षले । सायद मेरो जीवनमा वर्ष ०६९ अलि बढि महत्वको बनेको हुनुपर्छ ।
फ्ल्यासब्याकमा गएर हेर्दा जीवनमा बितेका वर्षहरु मध्ये अलि बढि घोत्लिएको वर्ष हुनुपर्छ मेरो लागि । नयाँ अवसर, नयाँ पहिचान र नयाँ खोजिको लागि केही भए पनि मेरो व्यस्तता अलि बढाईदिएको छ वर्ष ०६९ ले । जसलाई कायम राख्ने काम ०७० मा कत्तिको गर्न सकिन्छ ?????

Monday, April 8, 2013

सिर्जना शक्ति कहिले पनि हुँदैन विफल..........

vढुङ्गाको कापा फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति कहिले पनि हुँदैन विफल

नेपालीमा भन्दा तथ्य र अंग्रजीमा भन्दा फ्याक्ट लुकेको छ यि शब्दहरुमा । कति गहन छ । अनि नेपालको परिस्थिती र समय सान्दर्भिक पनि । महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो जीवनको अन्तिम क्षणमा भनेका र संरक्षित गरिएको शब्द हो ।
यहि शब्दहरुको सञ्जाललाई आधार मानेर जीवनमा प्रगति गर्ने नेपालीहरु पनि रहेछन् यहाँ । जसबाट हामीले सिक्नुपर्ने धेरै कुराहरु लुकेका छन् नेपाली समाजमा । त्यहि लुकेका अनि प्रगतिमा हिडेका सत्यहरुको सिको हामीले गर्नुपर्ने दिन आएको छ ।
सायद देशमा भएका १० प्रतिशत युवाले मात्र पनि यो शब्दहरुको मर्महरु बुझेर नेपालमा नै केहि गरिदिए .... । त्यो दिन नआउला भन्न सकिन्न जुन दिन हामी नेपालीहरु कोही पनि खानाको लागि भोको र कपडाका लागि नाङ्गो बस्नुपर्ने छैन । जसरी अहिले मुगु, बाजुरा, कर्णाली......... का हाम्रा नेपालीहरु बस्न परिरहेको छ । जो देशमा भएका गतिविधी र कुराहरुबाट निकै टाढा छन् । उनीहरुलाई यो कुराको कुनै मतलब पनि छैन । उनीहरुलाई मात्र सरोकार छ त अनिकालको बेलामा के खाएर गजोए टार्ने ।
नारायणी नदीसँगै जोडिएको नारायणगढ बजारले जसरी पछिल्लो वर्षहरुमा प्रगती गरेको छ । के त्यसरी नै देशका अन्य ठाउँहरुले पनि प्रगती गर्न सक्ने छैनन् त ? केही दशक अघिको त कुरा हो नी यो नारायणगढ अहिलेको नारायणगढ बनेकै थिएन । यहाँको बजार सानो ढाक्रे बजारको रुपमा सिमित थियो । जहाँ नुनको व्यापार हुन्थ्यो ।
पहाड तिरका मानिसहरु हप्तौं लगाएर नुन किन्न नारायणगढको ढाक्रे बजार आउँथे । नारायणगढको शहीद चोक र पोखरा बसपार्क क्षेत्रमा मात्र केन्द्रित रहेका घरहरु सबै खरका थिए । खरबाट बनेका साना घरमा सिमित नुनको व्यापार हुन्थ्यो । तर, अहिले कति परिवर्तन भएको छ नारायणगढको स्वरुप ।
नारायणगढको मात्र होईन नारायणगढमा बस्ने मानिसकोे जीवन पनि परिवर्तन भएको छ । के यस्तो परिवर्तन सबै नेपालीको जिवनमा हुन सक्दैन र ? के यस्तो परिवर्तन नेपालको सबै ठाउँमा गर्न सकिदैन र ? जसरी पाँच दशकको अवधिमा नारायणगढ आजको विशाल नारायणगढ बजार बनेको छ । के त्यसरी नै सबै परिवर्तन हुन सक्दैन र ?
फेरी कुरा आउँछ त्यही लगनको अनि परिश्रमको । अनि तिनै शब्दहरुको । जसको सिर्जना महाकविले गरेका थिए । यी शब्दको मर्मलाई जाँच्ने अनि व्यवहारमा उतार्ने कला अनि साहस हुनु अहिलेको अपरिहार्यता हो । अनि पो हामी नेपाली भएर नेपालको लागि केही गर्न सक्यौं भनेर गर्व गर्न सक्दछौं ।

ढुङ्गाको कापा फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति कहिले पनि हुँदैन विफल..........

Tuesday, April 2, 2013

सिँगारेर होईन तर त्यसै राम्रो नेपाल

गीत सुनाउँदै यमन चेपाङ

धुँवा, धुलो र कोलाहलबाट मुक्त छ यो वातावरण । ठाउँ पनि शान्त छ र शित्तल पनि । चितवनबाट आएको मलाई भने यो ठाउँ चिसो लाग्यो । बिहान र बेलुका त जाडोको जस्तै महशुस पनि ।
दोस्रो पटक आईपुगेको छु यो ठाउँमा । पहिलो दिन आउँदा दुई दिनको थियो यो ठाउँमा । अहिले भने तीन दिनको बसाइँ । भक्तपुरको नगरकोटमा जलवायु परिवर्तन र जनजाती सरोकार रेडियो कार्यक्रमका सञ्चालक साथीहरुसँगको यो बसाइँ रमाईलो भैरहेको छ ।
विगत १९ महिना देखी चितवनको सिनर्जी एफएममा स्थानीय स्तरमा यो कार्यक्रम उत्पादन गर्ने जिम्मेवारी बहन गरेको छु । भने विभिन्न जिल्लाबाट आउनुभएका साथीहरुको अनुभव आदान प्रदान चलेको छ । विभिन्न जिल्लाका स्रोत व्यक्तिहरु पनि सँगै हुनुहुन्छ ।
उहाँहरुको यो संयुक्त बसाइँले ऊर्जा थपिराखेको छ । ऊर्जालाई थप्ने कामलाई संगितले थप रोचक बनाएको छ । स्रोत व्यक्तिको रुपमा चितवनका यमन चेपाङ पनि आउनु भएको छ । उहाँले गीत पहिला पनि विभिन्न कार्यक्रममा सुन्न पाएको थिए । आज पनि उहाँले गीत सुनाउनु भयो ।


जलकुम्भीको सौन्दर्य
कोरी बाटी छैन तर त्यसै राम्रो हिमाल
सिँगारेर होईन तर त्यसै राम्रो नेपाल
राम्रो भन्नु रङ्ग होइन माटो पो त राम्रो
हाम्रो भन्नु अरु होइन नेपाल पो त राम्रो
फाँट राम्रो अनाजले पाखा बनेलीले
भाका राम्रो लै बरीले रोदी जुनेलीले
कोरी बाटी छैन तर त्यसै राम्रो हिमाल
सिँगारेर होईन तर त्यसै राम्रो नेपाल

देशप्रति सर्मपित यो गीतको शब्द निकै मिठो लाग्यो । सायद यो शब्दले सबैको मनलाई छुन्छ ।