Wednesday, June 26, 2013

पीडालाई हराउँदै


हुर्किदैं गरेकी छोरीको भविष्यको चिन्ताले उनलाई साह्रै सताउँथ्यो । छोरीको पनि आफ्नो जस्तै बेहाल हुन्छ की भन्ने उनलाई लाग्थ्यो । अनिता चेपाङ(३६) को मन हिजोआज भने केही हलुका भएको छ । आफुले प्रेम पछि विवाह गरेको श्रीमान्ले दिएको पीडा केही कम हुँदैछ ।
उनले श्रीमान् कालीबहादुर चौधरीको विरुद्धमा दिएको मुद्धाको फैसला भएको छ । चितवन जिल्ला अदालतले गरेको फैसला अनुसार उनले श्रीमान्को सम्पतिबाट आफ्नो अंश पाएकी छिन् । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटि आएका कालिबहादुरसँग अनिताको १३ वर्ष अघि प्रेम भयो । अनि परिवारको सहमतिमा विवाह पनि गरिन् ।
चितवनबाट सरुवा भएपछि कालीबहादुर भने उनको सम्पर्कबाट टाढिए । सम्पर्क विहीन बनेका श्रीमान्लाई सम्झँदै र छोरी हुर्काउँदैमा उनको वर्षहरु बिते । १२ वर्षीय छोरी सात कक्षामा पढ्ने भएकी छिन् । अदालतले गरिदिएको फैसलाले उनलाई अहिले आफुले न्याय पाएको महशुस भएको छ ।
  माईतीको भरोषामा माडी अयोध्यापुरी ६ मा बसेकी उनी अंश मार्फत पाउने सम्पतीले आफ्नो र छोरीको भविष्यलाई सहयोगी बन्ने उपयोगी मुलक कार्य गर्न चाहन्छिन् । रिटायर्ड भएर सुर्खेतमा बसेका श्रीमान्को उत्तरगंगा गाविसमा रहेको सम्पतिमा अधिकारको लागि सुर्खेद अदालतको कानुनी प्रक्रियाहरु पुरा गरिन् ।
अहिले उनीसँग आफ्नो विहे दर्ता र छोरीको जन्मदर्ताको प्रमाण छ । यसलाई उनी आफुले १२ वर्षदेखी गरेको संघर्षबाट मिलेको सफलता बताउँछिन् । आँट गर्नुपर्छ र पीडा खुलाउन सक्नुपर्छ भन्ने उनले बितेका १२ वर्षमा सिकेकी छिन् । श्रीमान् बहालवाला हुँदै पीडा बताउन र न्यायको पक्रिया बढाउन सकेको भए आफ्नो फैसलामा केही थप हुथ्यो भन्ने उनलाई लागेको छ । त्यसैले उनी पीडा लुकाउन नहुने र संघर्ष गर्न आँट गर्नुपर्ने बताउँछिन् ।
संघर्षले सफलता
विगत सम्झिँदा धनमाया (३३) लाई रुन मन लाग्छ । तर, वर्तमानमा सबै दुःख भुलाएर रमाएकी छिन् । सैनिक श्रीमान् गणेशबहादुरले दिएको दुःख र पीडालाई आँट र संघर्षमा बदल्न सकिन् ।
प्रेम विवाह गरेको श्रीमान्ले नै श्रीमतीको व्यवहार गरेनन् । अर्की बिहे गरे । आफ्नो सन्तानलाई अर्कैको भनेर आरोपसम्म लगाए । एकै छतमुनी बस्दा पनि बोली मिसिन मुस्किल भयो । छोरा र आफु बिरामी हुँदा पनि घरका सदस्यहरुले मानविय नाताले सम्म हेर्दिएनन् । सानो सानो कुरामा पनि छोरा माथि हुने कुटपिटलाई सहँदै सात वर्ष बिताईन् । उनलाई जिन्दगी नै बोझ लागेको थियो । तर, छोराको लागि उनले संघर्ष गर्ने आँट गरिन् ।
छ वर्ष देखी उनी भरतपुरमा छिन् । एक कार्यालयमा फुलबारी संभार र सरसफाईको काम गर्छिन् । ‘पहिला केही किन्नु परेपनि हातमा दुई पैसा हुँथेन, मेलापात गरेर गुजारा गरें’ उनी भन्छिन्– ‘अहिले सबै आफ्नै हातमा छ ।’ छोरा बोर्डिङमा ६ कक्षामा पढ्दै छ । गएको वर्ष उनले खर्च भरपाई पाम् भनेर नेपाली सेनाको मध्यपृतना कार्यालय हेटौंडामा निवेदन दिईन् । कार्यालयले उनको पक्षमा केही निर्णयहरु गरिदिएको छ ।
हरेक महिना उनी श्रीमान्को तलबको तीन भागको एक भाग पाउँछिन् । पेन्सनमा पनि उनको अधिकार सहितको नाम लेखिएको छ । उपचार कार्ड पाएकी छिन् । सेनाको मध्यपृतना कार्यालयले दिलाईदिएको अधिकारले उनको जीवनयापन सहज बनेको छ । धेरै वर्षको संघर्ष पछिको न्यायले उनको जीवनमा रस थपिएको छ । न्यायले जीउन हौस्याएको उनी बताउँछिन् ।
श्रीमान् अहिले शान्ति सेनामा गएका छन् । शान्ति सेनामा गए वापत पाईने सेवा सुविधा पनि आफुलाई दिलाईदिन उनले सेनाको मध्यपृतना कार्यालय हेटौंडामा निवेदन दिएकी छिन् ।
पीडित महिलाहरुको क्षेत्रमा काम गर्ने संस्था प्रभातकिरण सेवा समाजका अनुसार चितवनमा सेनाबाट पीडित हुने महिलाहरु एक सय १३ जना छन् । उनीहरुबाट जन्मेका बालबालिका एक सय ६८ जना छन् ।
उनीहरु मध्ये १९ जना महिलाले सेनाको मध्यपृतना कार्यालयबाट न्याय पाएका छन् । भने चार जनाले अदालती प्रक्रियाबाट न्याय पाएको सेवा समाजका अध्यक्ष छविलाल न्यौपानेले जानकारी दिए । उनीहरुले विवाह दर्ता, छोराछोरीको जन्मदर्ता, श्रीमान्को तलबको तीन भागमा एक आफ्नो अधिकार, सन्तानको पढाई खर्च, पेन्सनमा नाम लेखाउन र उपचारको लागि कार्ड पाएका छन् ।
मध्यपृतनामा ३७ जना महिलाले निवेदन दिएकामा १९ जनाको पक्षमा फैसला भएको हो । बाँकी निवेदनहरुको प्रकृया अघि बढाईएको उनले बताए । ‘बहालवाला हुँदैमा निवेदन दिँदा खोज्न र न्याय पाउन सहज हुनेरैछ’ न्यौपाने भन्छन्–‘सेवा निवृत भैसकेकाको प्रक्रिया अघि बढाउन गाह्रो भएको हामीले पायौं ।’

न्यायको प्रतिक्षामा...
‘केहीले कानुनी रुपमै न्याय पाएका छन्’ सेवा समाजका अध्यक्ष उनले भने–‘छोराछोरीको पढाई खर्च र सरकारबाट सैनिक श्रीमान्ले पाउने सुविधाहरुको केही हिस्सा पाएका छन् । सबै पीडितहरुले कानुनी प्रक्रियालाई अघि बढाउन सकेका छैेनन् ।’
५३ जना महिलाहरु न्यायको प्रक्रियामा जान चाहे पनि आर्थिक अभावका कारण चुपचाप बस्न बाध्य भएका छन् । उनीहरुका १ सय १२ जना बालबालिका छन् । २१ जना उमेर पुगेका बालबालिकको नागरिकता बनेको छैन । उनीहरु नेपाली नागरिक बन्ने पर्खाइमा छन् ।
मोतिका (१८) ले गाविसले सिफारिस गर्दा पनि नागरिकता बनाउन पाईनन् । गाउँमा जिल्ला प्रशासनबाट खटिआएको टोलीमा उनले नागरिकता बनाउन खोजेकी थिईन् । तर, बाबुको नागरिकता नहुँदा उनको नागरिकता बनेन । पछिल्लो पटक डेढ वर्ष अघि बुबालाई भेट्दा नागरिकता बनाईदिन उनले अनुरोध गरेकी थिईन् । त्यसपछि उनको बाबुसँग सम्पर्क नै भएको छैन ।
लमजुङमा बस्दै आएका उनको बाबु भोजबहादुर गुरुङ अहिले काठमाडौंमा बस्छन् भन्ने सम्म सुनेकी छिन् । सानो पसल गरेर गुजारा गर्ने आमा र बहिनीलाई छाडेर बाबुको खोजिमा उनी निस्कन सकेकी छैनन् ।

Sunday, June 16, 2013

पुलिसनी दिदिको टेन्सन


‘कस्तो टेन्सन भाछ आफुलाई’ उनी भन्दै थिईन् । ‘अहिले त मोबाईल पनि अफ छ । बैनी यहाँ वरिपरी आज तास कहाँ खेलेको छ ?’ उनी आफ्नो श्रीमान्को खोज गर्दै थिईन् ।
प्रहरीको पोशाकमा आईपुगेकी ति दिदि भन्दै थिईन् –‘सानो सानो भने पनि व्यवसायमा अल्झाईदिन पाए त हुन्थ्यो नी’  ।
ड्यूटी पछि बासस्थान पुग्न हतारमा रहेकी थिईन् पुलिसनी दिदि । दिउँसो, बिहान र रात नभनी उनी ड्युटीमा खटिनुपर्छ । फुर्सदिला श्रीमान् भने कि क्यारेमबोर्ड खेलेर त कि तासको खालमा बसेर समय बिताउँछन् । श्रीमान्को समय केही उपयोगी कार्यमा सदुपयोग होस् भनेर उनी उपायको खोजिमा थिईन् ।
उनको कुरामा कति मर्म लुकेको थियो । अन्दाज मात्र लगाउन सकें मैंले । घर, परिवार, बच्चा अनि श्रीमान्प्रतिको जिम्मेवारी निभाएर ड्युटी पनि पुरा गर्न भ्याउँछिन् ति पुलिसनी दिदि । कति कष्टकर बनेको होला तिनको समय अनि मन पनि ।
जो एउटा श्रीमान्ले कुनै बाटो समातोस् भन्ने चाहना लिएर हिँडेकी छिन् । श्रीमान्को समय सहि काम लगाउन सके परिवार र आफ्नो लागि मात्र नभएर स्वयं श्रीमान्को लागि पनि राम्रो हुने ति पुलिसनी दिदि बताउँछिन् ।