Tuesday, November 26, 2013

फष्ट पर्सन

 सभ्यता
मनभित्रको कुरालाई खुलस्त भन्ने उनको बानी रैछ । नारायणी उच्च माविको प्राङ्गणमा भेटिदा उनी उत्साहित थिईन् । उत्साह भित्र लुकेको थियो उनले गरेको काम । संविधानसभाको चुनावमा उनले भोट दिएकी थिईन् । भरतपुर १० की सभ्यता खनाल (२६) ले यस पटकको निर्वाचनमा भरतपुर १० मा रहेको नारायणी उच्च माविबाट मतदान गरिन् ।
संसारको सुन्दरतालाई आँखाले कैद गर्न नसक्ने उनले सहयोगीको सहयोगमा भोट दिईन् । यसअघिको निर्वाचनमा पनि सहभागी भएकी उनलाई यो पटक भोट दिन जाँदा पहिले जस्तै असहज महशुस भयो ।
अघिल्लो पटक पहिलो चोटी भोट दिँदा उनलाई उत्साह लागेको थियो । यसपाली भने पहिले जस्तो उत्साह उनमा थिएन । किनभने यो पटक पनि उनले पहिले जस्तै सहयोगी लिएर भोट हाल्न जानुप¥यो । आफुले दिने गोप्य मत अरुलाई भनेर हाल्न लगाउँदा मतदानको गोप्यता नै रहेन ।
‘आफु फष्ट पर्सन हुन पाईएन’ सहयोगीको साथमा मतदान गर्नुको बाध्यता सुनाउँदै उनले आफ्नो कुरा खोलिन् –‘सेकेन्ड पर्सनलाई विश्वास गर्नु बाध्यता भयो ।’ सप्तगण्डकी बहुमुखी क्याम्पसबाट स्नातक गरेकी उनी आफुलाई एक सक्षम नागरिक भन्न रुचाउँछिन् ।
‘अहिलेसम्म हरेक तहको पढाई मैंले पहिलो श्रेणीमा उत्र्तीण गरेको छु’ सभ्यता भन्छिन्–‘ स्नातकोत्तर पढ्ने तयारीमा छु । घरमा सबै काम गरिराखेको छु ।’ यस पटकको चुनावमा उनले शारीरिक अशक्तहरुको पक्षमा आवाज उठाउने उम्मेदवार र पार्टीलाई भोट दिएकी छिन् ।
आँखा नदेख्नेहरुको लागि पनि विकल्पको व्यवस्था गर्न सकिने उनलाई लागेको थियो । जुन उनले यो निर्वाचनमा पाईनन् । आफु सक्षम भएर पनि मतदानको लागि अरुमा भर पर्नुपर्दा उनलाई अफठ्यारो महशुस भएको हो ।
सभ्यताका अनुसार शारीरिक अशक्तलाई असक्षम बनाउने काम समाजले गरेको छ । समाजले दृष्टिविहीन लगायतका शारीरिक अशक्तलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको उनले बताईन् । २०३९ देखी विद्येयक पारिद गरेपनि शारीरिक रुपमा अशक्त भएकालाई समाजमा समान अधिकार कार्यान्वयनको अवस्था नभएकोले अब बन्ने संविधानले आफुजस्ताको पक्षमा नीति बनाओस् भन्ने उनी चाहन्छिन् ।
लक्ष्मी 
पश्चिम चितवन गुञ्जनगरकी लक्ष्मी सुवेदी (२४) ले पहिलो पटक संविधान सभाको चुनावमा मतदान गरिन् । आमा चौमाया सुवेदीको सहयोगमा गुञ्जनगर उच्च माविको मतदान केन्द्रमा पुगेर मतदान गर्दा उनी उत्साहित देखिईन् ।
‘पहिलो पटक राखेको हो’ मतदान गरेपछि उनले भनिन् –‘खुशी लागेको छ समयमा नै संविधान बन्नुपर्छ’ । सप्तगण्डकी बहुमुखी क्याम्पसको कक्षा ११ पढ्ने उनी संविधानमा आफु जस्ता शारीरिक अशक्तको आवाजहरु पनि समेटियोस् भन्ने चाहन्छिन् ।
सभ्यता र लक्ष्मी जस्तै दृष्टिविहीनहरुले यो पटकको चुनावमा सहयोगीको साथ लिएर भोट दिए । उनीहरुले उत्साहित हुने नेतालाई दिएको भोटको कत्तिको कदर हुनेछ त्यो त आउने दिनमा थाहा नै भैहाल्छ । अर्को हुने चुनावमा भने सभ्यता र लक्ष्मीले सहयोगको सहयोग लिनुपर्ने बाध्यता हुने छैन की ??