Sunday, May 19, 2013

सन्तान वियोगले देवघाटको बास



उनीहरु दुवैको दैनिकी परिवर्तन भएको छ । बर्दियाको देउडाकला ९ ककौरा घर भएका उनीहरुले जीवनशैली र बास नै परिवर्तन गरेका छन् । घर छाडेर देवघाट आएका छन् । बिहानदेखी साँझसम्म भजन, किर्तन र प्रवचनमा मन लगाउने प्रयत्न गर्छन् । मनको भारी, दुःखलाई भगवानको आराधनामा लाग्दा केही भुलिन्छकी भनेर उनीहरु देवघाट आएका हुन् ।
 ६४ वर्षीय चेतनाथ र ५६ की सावित्रीदेवी अधिकारीले आफ्नो जीवनमा भएको नचाहेको परिवर्तनसँगै सोचेका थिए अब देशमा पनि परिवर्तन हुनेछ । तर, उनीहरुले सोचे अनुसार देशमा केही परिवर्तन भएन् ।
देशमा भएको एक दशक लामो द्वन्द्वलाई सम्झने हो भने त उनीहरुको मुटु नै चिरिन्छ । सावित्रीका आँखा रसाउँछन् । उनको गला अवरुद्ध हुन्छ । चाहेर पनि बोल्न सक्दिनन् ।
यही द्वन्द्वका क्रममा उनीहरुले आफ्ना दुई सन्तान गुमाए । त्यो पनि छ महिनाको अवधिभित्र । उनीहरुका दुवै छोरा एकै दिन नेपाल आर्मीमा भर्ती भएका थिए ।  ‘देशको सेवा गर्न र जनताको सुखका लागि लड्छु भन्थे दुईटै’ सावित्री भन्छिन्–‘खोई उनीहरुले ज्यान दिए पनि के भा’छ र यो देशमा ?’
उनीहरुको जेठो छोरो धर्मेन्द्र कर्णालीमा भएको दोहोरो भिडन्तमा परेका र कान्छो छोरो कृष्ण घर आएका बेला माओवादीले अपहरण गरेर लगेपछि हत्या गरे भन्ने मात्र उनीहरुले खबर पाएका छन् । दुवै छोराहरुको राम्रोसँग अन्तिम संस्कार पनि गर्न पाएका छैनन् । ‘हड्डी मात्र ल्याएर दे पनि कमसेकम मन शान्त त हुन्थ्यो’ सावित्रीले आफ्नो मनको हुटहुटी पोखिन् ।
उनीहरुको ३५ र ३२ वर्षका छोराहरुले ०६१ सालमा देशको लागि बलिदानी दिए । शरीरमा छर्रा लागेर उपचार गरेर बिदामा घर आएका र निशस्त्र अवस्थामा रहेका कान्छो छोरालाई अपहरण गरेर हत्या गर्नु द्वन्द्वको नियम विपरित भएको चेतनाथ बताउँछन् । छोरालाई अपहरण गरेर लैजाने मान्छेहरु खुलेआम घुमिरहेको देख्दा आफुहरु थप पीडित भएको उनीहरु बताउँछन् ।
‘दुवै छोरा त गए, लाश त होईन हड्डी पनि पाईएन’ चेतनाथ भन्छन् ‘ मार्ने मान्छेहरु खुलेआम घुमिरहेको देख्दा बुढियाले मन थाम्न सकिन्, अनि उसकै लागि भनेर नै हामी दुवै देवघाट आएका ।’ २०६५ सालमा ६७ हजारमा किनेको कुटी नै उनीहरुको घरबास बनेको छ । उमेरले ६० को दशक वरिपरि रहेका दुवैको जीवन अहिले १०१ नम्बरको कुटीमा गुजारी रहेका छन् ।
छोराबुहारी र नातिनातिनासँगै हाँसखेल गरेर जीवन बिताउने उनीहरु सपना पनि देशको द्वन्द्वले खोस्यो । नेपालीलाई पीडा र आँशुमा डुबाउने द्वन्द्व देशमा नभएको भए अधिकारी दम्पती अहिले आफ्नै घर आगनमा रमाईरहेका हुन्थे । बर्दियामा रहेको आफ्नो जग्गा जमिन उनीहरुले बटैया दिनु पर्थेन । भने सावित्री मानसिक रुपमा विक्षिप्त पनि हुन्थिनन् र नियमित औषधी खानुपर्ने अवस्था पनि आउँथेन ।
‘जे त भयो मन त बाँध्नु नै पर्ने रहेछ ।’ निशस्त्र अवस्थामा रहेको छोरालाई अपहरण गरेर लैजाने र हत्या गर्ने दोषीलाई कार्बाही हुन्छ की भन्नेसम्म उनीहरुलाई आशा छ । त्यही भएर आफुसँग रहेका कागजपत्र चेतनाथले सम्हालेर राखेका छन् भने मानवअधिकारका क्षेत्रमा काम गर्नेहरुसँग पनि कुराहरु बुझिरहेका छन् । ‘हाम्रो मन बुझाउने बाटो नै त्यही हो कमसेकम दोषीलाई कार्बाही होस् । अनि हड्डी मात्र बुझेर भए पनि अन्तिम संस्कार विधि पु¥याएर गर्न पाम्’ चेतनाथले मनको कुरो फुकाए ।
राहत अन्तर्गत कान्छो छोराको सात लाख रुपैयाँ पाए । भने सावित्रिको नाउँमा मासिक साँढे छ हजार रुपैयाँ पेन्सन पाउँछिन् । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको लागि सुविधा पाएका छन् । जेठो छोरा धमेन्द्रको राहत रकम बुहारी र नातिनातिनाले १० लाख पाए । रकमको रुपमा पाएको राहतले उनीहरुको मनको पीडा भने शान्त भएको छैन ।
देशमा १० वर्षसम्म चलेको अशान्ति र द्वन्द्व पश्चात् पनि नेपालीले शान्तसँग जीवन बिताउन नपाएको चेतनाथ बताउँछन् । द्वन्द्वले देश र समाजलाई केही फाईदा नभएको उनको ठम्याई छ । भन्छन् –‘कति नेपालीका छोराछोरी मरे, कोही हराए । सम्पतिहरु पनि क्षती भयो । अनि फाईदा अहिले कुन नेपालीलाई भएको छ त?’


Friday, May 17, 2013

कान्दाका हामी साना साना बालबालिका..




लोत्थर गाविसको विकट गाउँ मानिएको कान्दाका बालबालिकाहरु । 

Monday, May 6, 2013

डिग्री गरेका युवा माछा पाल्दै




विज्ञान विषयमा डिग्री गरेका सात युवाहरु अहिले समुहमा बाँधिएका छन् । फरक फरक जिल्लाका उनीहरु सबै विज्ञानको मास्टर तहमा पढ्दा एकअर्कासँग परिचित भएका हुन् । उनीहरुको परिचयले अहिले गाढा रुप लिएको छ । त्यसैले उनीहरु सबै ‘द कोरोना अफ एग्रिकल्चर’ मा आबद्ध छन् । आफ्नै पहलमा खोलिएको कोरोना फर्मबाट माछापालनमा सहभागी छन् ।
फर्ममा सप्तरीका राहुल रञ्जन, दाङका सुनिल पौडेल, चितवनका उत्तम गुरुङ, पाल्पाका मधु नेपाल, मोरङका खगेन्द्र गौतम, कास्कीका हेमन्त ढकाल र स्याङ्गजाका रविन रानामगर छन् । उनीहरु सन् २००७–२००९ का एमएसी जुलोजीका विद्यार्थी हुन् । २५ देखी ३५ वर्ष उमेर समुहका उनीहरु कृषिलाई नयाँ तरिकाबाट अगाडि बढाउन चाहन्छन् ।
उनीहरुले गुञ्जनगर गाविसको शंकरचोकमा ५ विघा १४ कठ्ठा जग्गा भाडामा लिएर माछापालन गरिरहेका छन् । दुई वर्ष अघि १० लाख खर्च गरेर सुरु गरेको व्यवसायमा अहिले ३० लाख लगानी भैसकेको राहुलले जानकारी दिए । ‘माछाबाट भएको आम्दानी पनि हामीले यसैमा लगानी गरेका छौं’ उनी भन्छन् –‘अहिले हामी माछापालनलाई अध्ययन र अनुसन्धानको रुपमा अघि बढाईरहेका छौं ।’
स्नातकोत्तरमा माछासम्बन्धी अध्ययन गरेका राहुल र सुनीललाई माछापालनबारे जानकारी छ भने अरु ३ जनाले वातावरण विज्ञान र २ जना परजीवी विज्ञान पढेका छन् । माछापालनलाई स्याहार गर्ने जिम्मेवारी भने राहुल र सुनीलले गरेका छन् । पोखरी नजिकै सानो घर बनाएर बसेका उनीहरु पूरै समय माछाको स्याहार र पोखरीको हेरचाहमै बिताउँछन् ।
बाँकी ५ जना आ–आफ्नै क्षेत्रमा व्यस्त छन् । उनीहरु माछाको ‘मार्केट’ विस्तारमा सहभागी छन् । हरेक महिना भेटघाटको लागि गुञ्जानगर आउँछन् । सामुहिक मिटिङ्ग गर्छन् । भएका प्रगति बाँड्छन् र आगामी योजनाको बाटोहरु बनाउँछन् ।
लोकल जातका माछा बचाउने र माछामा आत्मनिर्भर बनाउने सोचका साथ उनीहरु यो पेशामा जोडिएको राहुल बताउँछन् । पढेकाले खेती गर्न हुँदैन जागिर नै खानुपर्छ भन्ने सोचलाई बदल्न चाहन्छन् । त्यसैले उनीहरु अहिले अनुसन्धानमा व्यस्त छन् । ‘इजरायलमा एक हेक्टरमा १८ टन माछा उत्पादन गर्छन्’ नेपालको माछा उत्पादन दरलाई बढाउन कोशिस गरेको बताउँदै राहुल भन्छन् –‘यहाँ अहिले प्रति हेक्टर चार टन हुन्छ, त्यसलाई बढाएर १८ नसके नी ८ टन त पु¥याउन सक्छौ नी ।’
अनुसन्धानमा आधारित रहेर माछापालन क्षेत्रको विकासका लागि राहुलले नेपाली सेनाको जागिर पनि छोडेका छन् । नेपाली सेनामा एसिस्टेन्ट केमिस्ट पदमा ४ वर्ष बिताएका उनले माछापालनमा नै आफ्नो भविष्य देखेका छन् । ‘जागिरमा चुनौती थिएन, मज्जा आएन’ राहुलले भने–‘म नयाँ नयाँ प्रयोग गर्न रुचाउने मान्छे, अरुलाई पनि रोजगारी दिनसक्ने काम गर्छु भनेर यता आएँ ।’ पढेका र नयाँ प्रयोग गर्न सक्ने युवाको कृषि क्षेत्रलाई आवश्यकता रहेको उनी बताउँछन् ।
१२ महिनामा एक पटक माछा उत्पादन गर्ने प्रचलन रहेकामा उनीहरुले १४ देखी १६ महिनाको बीच दुई पटक माछा उत्पादन गरेका छन् । कुन समयमा कसरी दाना दिँदा माछा बढ्छ, माछामा लाग्ने रोगहरु कसरी निर्मुल गर्न सकिन्छ, माछापालनमा प्रविधिहरुको प्रयोग, स्थानीय जातिका माछाबाट कसरी फाईदा लिने र अर्गानिक माछाको उत्पादन र बजार विस्तार कसरी गर्ने भनेर आफुहरुले अनुसन्धान गरी राखेको राहुलले बताए । उनीहरुको समुह माछापालनमा लागेपछि अहिले अरु शिक्षित युवाहरुलाई पनि प्रेरणा मिलेको छ ।