Tuesday, August 6, 2013

बढ्दो यौन दुव्र्यवहारको घटना

तारा (परिवर्तित नाम) हुन चाहन्थिन् सबैको सहारा । तर उनी नै अहिले अरुको सहारामा बस्नु परेको छ । पेटमा हुर्कदै गरेको शिशुको सहाराको लागि । खेल्ने, कुद्ने र दौडने कलिलो उमेर उनको छ । १३ बर्षिया बालिका उनी आफुभित्र अर्को बालकलाई हुकाउँदै छिन् । यौन दुव्र्यवहारको शिकारमा परेर उनी गर्भवती भएकी छिन् ।
दाईको साईनो लगाएर घरमा चिनजान बढाएको मान्छेबाट नै उनी बलात्कृत भईन् । डर, त्रास र धम्कीले आफु माथि भएको दुव्र्यवहार कोहीसँग भन्न सकिनन् । अर्को पटक पनि त्यही मान्छेबाट बलात्कृत भएपछि मात्रै उनको परिवारले थाहा पाए । मासिक रुपमा भैरहेको महिनावारीले पनि तारालाई आफु दुई जीउकी भएको पत्तो नै भएन ।
बढ्न थालेको पेटले उनको परिवारलाई झस्कायो अनि जाँच गर्दा गर्भ बसेको थाहा भयो । गर्भको शिशुले छ महिना पुरा गरिसकेपछि मात्र तारालाई महशुस भयो की आफु दुई जीउकी भएको छु । ८ कक्षाकी विद्यार्थी ताराले गर्भवती हँुदाका लक्षणहरु किताबमा पढेकी मात्र थिईन् । अहिले आफुले नै महशुस गर्नु बाध्यता बनेको छ ।
कक्षामा प्राय पहिलो र दोस्रो हुने उनको पढाई रोकिएको छ । दुई महिनादेखी उनी एक संस्थाको आश्रयमा छिन् । डाक्टरले उनलाई एक महिनापछि प्रसुती हुने समय दिएको छ । आफु माथि भएको घटनाले उनलाई छट्पटि गराउँछ । आफुलाई दुव्र्यवहार गर्ने माथि आक्रोश र रिस उठ्छ । भन्छिन् –‘त्यसले सजाय पाओस्, अरुलाई फेरी यस्तो गर्न नसकोस् ।’
त्यो घटनाले उनलाई कम बोल्ने बनाएको छ । खुलेर कुरा गर्न नसक्ने भएकी छिन् । समय कटाउन हस्तकलाका सीपहरु सिकेकी छिन् । विद्यालयकी जेहेन्दार छात्रा उनको कक्षा ७ बाट पास हुँदा ९२ प्रतिशत अंक ल्याएर तेस्रो भएकी थिईन् । अब पनि उनी आफ्नो पढाईलाई निरन्तरता दिन चाहन्छिन् । पढेर प्रहरी हुन्छु भन्छिन् । अनि अपराधी कार्बाही गर्ने तारा बताउँछिन् ।
परिवारमा सबैसँग घुलमिल भैसकेको एउटै वडामा बस्ने विवाहित पुरुषबाट उनी बलात्कृत भएकी हुन् । पुर्व लडाकु रहेका २५ वर्षे ती पुरुषले डर र धम्की देखाएर तारासँग यौन शोषण गरे । घरमा कोही नभएको मौकामा बन्दुक देखाएर आफुसँग जबरजस्ती गरेको ताराले बताईन् । जसको पीडा कम गर्न ताराले धेरै कष्ट भोग्नु परिरेहेको छ ।
जवरजस्ती करणी गरेको आरोप लागेका ती पुरुष अहिले पुर्पक्षका लागि जिल्ला कारागार भरतपुरमा छन् । बालिका बलात्कृत भएर गर्भवती भएको केश अदालतको इतिहासमा नै पहिलो पटक आएको सहायक जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्मा बताउँछन् । अदालतसम्म आईपुगेको जवरजस्ती करणीमा परेर गर्भवती भएको घटनाको बारेमा बताउँदै शर्माले भने – ‘बालिका मात्र नभएर महिलाको केशमा पनि यो पहिलो हो’ ।
ताराको जस्तो केश जिल्लामा एक मात्र भएपनि महिला तथा बालिका माथि हुने गरेको यौन दुव्र्यवहारको घटनाहरु भने बढेका छन् । गएको आर्थिक वर्ष चितवन जिल्ला अदालतमा ४७ वटा करणीका मुद्धाहरु दर्ता भएका छन् भने आर्थिक ०६८÷०६९ मा ४२ र ०६७÷०६८ मा १७ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । जिल्ला अदालतको तथ्याङ्क अनुसार पनि पछिल्लो वर्षहरुमा बलात्कारको घटनाहरु बढेको पाईन्छ ।
चितवन जिल्ला अदालतका श्रेस्तेदार दिनबन्धु बरालका अनुसार चितवन जिल्ला अदालतमा दर्ता भएका करणीका मुद्धाहरुमा अधिकांश प्रमाणित हुने गरेको छ । जुन तथ्याङ्कले पनि जवरजस्ती करणीका घटनाहरु बढेको पुष्टि गर्छ । दोषीलाई सजायँ हुदाँ पीडितलाई मनौवैज्ञानिक रुपमा पनि न्याय मिल्ने भएकोले अदालतमा जवरजस्ती करणीका मुद्धाहरुको संख्या बढेको श्रेस्तेदार बराल बताउँछन् ।
जलकुम्भी
यौन दुव्र्यवहारको शिकार महिला मात्र नभएर बालिकाहरु पनि हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०६९÷०७० मा यौन दुव्र्यवहार सम्बन्धी २५ वटा मुद्धा दर्ता भएका छन् । दर्ता भएका मुद्धाहरु मध्ये आधा भन्दा बढी बालिका माथि भएको यौन दुव्र्यवहारको रहेको छ ।
यस आर्थिक वर्षमा कुल २५ वटा यौन दुव्र्यवहार सम्बन्धी मुद्दामा १७ वटा जवरजस्ती करणी (जजक) र ८ वटा जवरजस्ती करणी उद्योग (जजकउ) सम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको छ । यसरी यौन दुव्र्यवहारमा पर्ने बालिकाहरु ४ वर्ष देखि १५ वर्षसम्मका रहेका छन् । यौन दुव्र्यवहार गर्नेमा १४ वर्षका बालकदेखि ६८ वर्षका वृद्धसमेत रहेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका अनुसार उल्लेखीत २५ मुद्दामा १९ जना बालिका यौन दुव्र्यवहारको शिकार वनेका छन् । २ वटा घटनामा २–२ जना बालबालिका यस्तो व्यवहारको शिकार वनेका छन् । बालिका माथिको यौन दुव्र्यवहार घटनामा १४ वर्षका २ बालकको समेत संलग्नता पाइएको छ । बालक भएकाले आवश्यक प्रक्रिया अपनाएर उनीहरु छुटिसकेको प्रहरीले जनाएको छ ।
मंसीर ७ गते वर्ष ९ र ८ की एकै घरकी दिदी वहिनी माथि जवरजस्ती करणी भएको मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता छ । घटनाको पीडक दिव्यनगरका वर्ष १४ को विकास (नाम परिवर्तन) ले एकै दिन दिदिबहिनीलाई जवरजस्ती करणी गरेका थिए । घटनामा संलग्न भएको पाईए पनि बालक भएकाले कानुनीे कार्बाही गरिएन । आवश्यक प्रक्रिया पुरा गरी विकास छुटेको प्रहरीले जनाएको छ । गत भदौ २ गते ११ वर्षकी बालिकामाथि १४ वर्षका श्याम –नाम परिवर्तन) ले जवरजस्ती करणी गरेको मुद्दामा पनि बालक भएकाले उनी पनि छुटिसकेका छन् ।
०६९ को साउनमा भरतपुरकी १४ वर्षीय बालिका सीमा (नाम परिवर्तन) पनि बलात्कृत भईन् । सीमा माथि भएको यौन दुव्र्यवहारको घटनाको जिल्ला अदालतले फैसला गरिसकेको छ । सीमालाई जवरजस्ती करणी गर्ने रत्ननगरका टेकमान गुरुङलाई अदालतले ८ वर्षको कैद सजाँय र ५० हजार क्षतिपूर्तिको फैसला सुनाएको छ । त्यस्तै सोही साउनको १९ गते भरतपुरकै ५ वर्षकी बालिका माथि जवरजस्ती करणी उद्योग गरेको आरोप लागेका वर्ष ६८ का शेरबहादुर थापा मगरलाई जिल्ला अदालतले ५ वर्षको कैद फैसला गरेको छ ।
सन् २००१ मा आइएलओले सडक बालबालिका माथि हुने गरेको यौन दुव्र्यवहारको बारेमा अध्ययन गरेको थियो । जुन अध्ययनले ६७ प्रतिशत सडक बालबालिका यौन दुव्र्यवहारको शिकार वन्ने गरेको तथ्याङ्क सार्वजनिक भएको थियो । सन् २००८ मा भने यौन दुवर्यवहारमा पर्ने सडक बालबालिको संख्या ८० प्रतिशत पुगेको पाईन्छ । त्यस वर्ष भ्वाइस अफ चिल्डे«न नामक संस्थाले गरेको अध्ययनमा ८० प्रतिशत सडक बालबालिकाहरु कुनै न कुनै हिसावले यौनदुव्र्यवहारको शिकार वन्ने गरेको तथ्याङक सार्वजनिक गरेको थियो । त्यस्तै सन् २००५ मा सीविन नेपालले देशका विभिन्न शहरमा गरेको एक अध्ययनले ४५ प्रतिशत बालबालिका आफू कुनै न कुनै हिसावले यौनदुव्र्यवहारको शिकार वन्ने गरेको तथ्याङक सार्वजनिक गरेको छ ।

(सञ्चारिका फिचर सेवा मध्यमाञ्चलको अगष्ट अंकमा प्रकाशित)