Tuesday, March 17, 2015

अर्को नयाँ पात्रो


किरीमिरी अक्षरले कोरिएका, तह तह बनाएर पट्याईएको पाना खोल्दै उनले भने –‘ल अर्को नयाँ पात्रो आयो’ । उनले बोलेको सुन्नेहरु आवाज बाहिर निस्केला जसरी हाँसे । एकै छिनमा हाँसो थामियो । सबै आ–आफ्नै काममा लागे ।
कोही सोच्न थाले । कोही खल्ती छामछुम पार्न थाले । कोही नजिक भएकासँग सोध्न थाले । कोही पाना मिलाउन थाले । कोही लुकाएर हेरेको छिपाएर सार्न थाले । कोही आँखा लामो पार्दै सार्न लागेको थुत्न थाले ।
स्नात्तकोत्तर तहको परीक्षा चलिरहेको कोठामा गार्ड बसेका दुई प्राध्यापक र विद्यार्थीको व्यस्यता साह्रो थियो । बाहिरी कुरा ढोकाबाट भित्रसम्म पसेको थिएन । सिवाय परीक्षा । प्राध्यापक विद्यार्थीको खजना थुत्नमा व्यस्त । विद्यार्थी खजना हेरेर सार्न व्यस्त । यस्तो देखिन्थ्यो नजानेर र ल्याउन नसकेर खजना नल्याएकाहरु नै उल्लु बनेका थिए ।
थुतिएका खजना एकछिन हाँसोको माध्यम बन्थ्यो । अनि डल्लो परेर झ्यालबाट फुत्त हुन्थ्यो । ‘कति मेहनत गरेका’, ‘यत्तिको मेहनत पढ्नमा गरेको भए त टपर नै बन्थ्यो’ विद्यार्थीबाट थुतिएका खजना वापत निस्कस्थ्ये यस्ता वाक्य । पट्याईएको खजनाको तह खोलेर पानामा रुपान्तर गर्न नि धौ भएपछि त्यसलाई नयाँ पात्रोको संज्ञा दिइन्थ्यो ।
एकै दिन कति नयाँ पात्रो आए । त्यो पनि गणना गर्न नै नसकिने गरेर । माहौल रमाईलो थियो । सार्नेलाई लुकाएर सारेकोमा र थुत्नेलाई लुकाएको थुत्नमा धेरै आनन्द मिल्थ्ये ।
नेतागिरीको भुमिका पनि बडो अनौठोको हुने । भनसुन लाग्ने । त्यो पनि पक्का वाला । यसो कक्षामा आईदिएर फलानोको विचार गर्नु भनेर गईदिए पछि गार्ड बसेकाहरु ती फलानोले जे गरेपनि वास्तै नगरिदिने । आफ्नो सीटमा बसे नबसेको कुनै मतलब नै नहुने । के सारेछ कति सारेछ देखेको नदेखै हुने ।
फलानो भन्न कोही नआईदिएकाहरु चाँही यसो मन लागेर साथी नजिकमा बसे भने आफ्नै सीटमा सरुवा हुनुपर्ने । हुनेखाने र गर्न सक्ने कै मात्र परीक्षा जस्तो । पढ्न सक्नेको होईन् । एक जना खजना नलैजाने भन्दै थिईन् –‘आफुले पढ्यो, अरुले त्यसरी सार्छन् के परीक्षाको महत्व लाग्नु’