Monday, September 22, 2014

मैदानमा रौतहटको राज

नारायणगढ । रातो, निलो, खैरौ जर्सीले नारायणगढको सिनारियो नै बदलिएको छ । मध्यान्ह्को घाम घर्कर्दै गर्दा यिनै जर्सीमा समेटिएका उनीहरु नारायणगढको क्याम्पाचौरमा हुन्छन् । कोही मैदानमा उत्रिन्छन् । कोही बाहिर बसेर सपार्ट गर्छन् । नारायणगढमा जारी रहेको वेष्टर्न युनियन महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिताले नारायणगढको माहौल फुटबलमय बनेको छ ।
प्रतियोगितामा आर्मी, प्रहरी र शशस्त्रका तीन विभागीय टिम र पाँच विकास क्षेत्रका पाँच क्षेत्रिय टिम उपाधीको लागि भिडीरहेका छन् । विभागीय टिमसँग दह्रो प्रतिस्पर्धा गरिरहेका टिमहरुमा मध्यमाञ्चल टीमको चर्चा छुट्टै छ । प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्ने तीन विभागीय टीमसँगै मध्यमाञ्चल टीम पनि परेको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल प्रहरीको विभागीय टीमसँग एक गोलले हार बेहोरेको मध्यमाञ्चल टीमले पुर्वाञ्चललाई दुई –एकको गोल अन्तरले पराजिय ग¥यो । त्यस्तै मध्यपश्चिमाञ्चललाई चार – शुन्यको गोल अन्तरले पछि पार्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
फुटबलमय माहौलमा मध्यमाञ्चलको प्रतिनिधित्व गर्ने रौतहटको चर्चा चुलिएको छ । चर्चा चुलिनुमा पनि एक मात्र कारण छ । भैरहेको प्रतियोगितामा मध्यमाञ्चल टिममा सहभागी भएका १८ खेलाडी मध्ये १५ जना रौटहटका छन् । २ चितवनका र १ पर्साका खेलाडी टिमसँग जोडिएका छन् । खेल हुँदा मैदान उत्रने भने सबै रौतहट कै हुन्छन् । टीमले गरेको प्रदर्शनले फुटबलप्रेमीहरुको सहानुभुति पाएको छ । साथै, प्रंशशित बनेको छ ।
फुटबल खेल महिलाहरु थोरैले मात्र खेल्छन् त्यसमा पनि एउटै ठाउँबाट यति धेरै जना सहभागी भएर खेल्नु रौतहटको लागि गौरवको कुरा भएको छ ।  आफ्नो ठाउँ र क्षेत्रको नामले फुटबल खेल्न पाउनु गौरवको कुरा भएको टीमकी क्याप्टेन सुनिता योञ्जन बताउँछिन् । १६ वर्षीय उनले ९ वर्षको उमेरदेखी फुटबल खेल्न थालेकी हुन् ।
सुनिताको गाउँघरको माहौल नै फुटबल मय छ । केटीहरु पनि हरेक दिन रमाईलोका लागि फुटबल खेल्न मैदान पुग्थे । उनलाई पनि त्यहि माहौलले आकर्षित ग¥यो । ‘गेम खेलेर घुम्न पायो, साथीहरु चिन्न पायो’ उत्साहित हुँदै उनले फुटबलप्रतिको मोह बस्नुको कारण खुलाईन् । फुटबल खेल्न कै लागि उनी पुर्वी नेपाल ईलामदेखी देखी पश्चिम धनगढीसम्म पुगेकी छिन् । १० कक्षाकी विद्यार्थी उनी फुटबललाई नै आफ्नो करियर बनाउन चाहन्छिन् ।
टिमकी अर्की सदस्य एलिसा जिम्बा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा सहभागी भएकी छिन् । हालै मात्र श्रीलंकामा भएको एशियन क्षेत्रिय गेम नेपालले जित्दै गर्दा उनले मोष्ट भ्यालुएवल प्लेयरको उपाधी जितिन् । देशभित्र भएका प्रतियोगिताहरुमा पनि उनले बेष्ट फरवार्डको उपाधी पाएकी छिन् । घरमा एलिसाका बुबा र दाईले पनि फुटबल खेल्छन् । घरका अग्रजहरुको प्रेरणा र प्रोत्साहनले नै फुटबल खेल्न थालेको उनी बताउँछिन् । ‘फुटबल खेल्नु रमाईलो र राम्रो छ’ कक्षा ९ की विद्यार्थी उनले भनिन्–‘पढाई र फुटबल दुवैलाई सँगै लैजान्छु ।’
टीमका प्रशिक्षक शेरबहादुर दर्लामीका अनुसार रौटतहमा महिला फुटबलर त्यत्तिकै अघि बढेका छैनन् । संघर्ष गरेर नै सफल भएको उनी बताउँछन् । घरबाट बाहिर निस्केर फुटबल खेलमा महिलाले गरेको प्रर्दशन सफल हुन थालेपछि परिवारले पनि महिला तथा बालिकाहरुलाई फुटबल खेल्न प्रोत्साहन गर्न थालेको उनले बताए ।
फुटबल खेल्न सहभागी किशोरी सबै निम्न र मध्यम वर्गका छन् । धेरै जसो आदिवासी जनजाति समुदायका छन् । ‘आर्थिक अवस्था कमजोर छ । लैङ्गिक भेदभाव छ । घरपरिवारको अवरोध छ ।’ प्रशिक्षक दर्लामी भन्छन्–‘ र पनि मेहनत गरेर अघि बढेका छन् ।’
प्लान नेपाल र चन्द्रनिगाहपुर फुटबल क्लबको समन्वयमा महिला फुटबलरलाई प्रशिक्षण दिने गरिएको छ । हरेक वर्ष ५० जनाको हाराहारीमा नयाँ अनुहारका बालिका तथा किशोरीहरु फुटबल सिक्न आउने गर्छन् । उनीहरुलाई दिईने नियमित प्रशिक्षणबाट छनौट भएका खेलाडीले रौतहटको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने गरेका छन् । प्लान नेपालले महिला फुटबल कै लागि भनेर वार्षिक ३ लाख रुपैयाँ रकम दिने गरेको छ ।
त्यही रकमले प्रशिक्षक र सह प्रशिक्षकलाई तलबको व्यवस्था गर्ने तथा खेल सामाग्रीको व्यवस्थापनमा खर्च जुटाईने गरिएको छ । प्लान नेपालले ८ लाख खर्च गरेर महिला फुटबलरको लागि एट्याज बाथरुम सहितको चेन्जिङ रुम बनाई दिएको छ । जसले खेल खेल्न महिला खेलाडीलाई सहज भएको दर्लामीले बताए ।
रौतहटका महिला फुटबलरले अन्तर मावि राष्ट्रिय फुटबल प्रतियोताको उपाधी तीन पटक जितेका छा् । अहिले पनि प्रतियोगिता जितेर यो लिग खेल्न टोली काठमाण्डौंबाट सिधै चितवन आएको हो । क्लोज क्याम्प केही नभई प्रतियोगितामा सहभागी हुन आए पनि खेलाडीमा आत्मविश्वास दह्रो रहेको छ ।
  नियमित प्रशिक्षण तथा मैत्रीपुर्ण खेलहरुको अनुभवले नै टोली गर्व गर्ने ठाउँसम्म आईपुगेको दर्लामीले बताए । खेलाडीको लागि आम्दानी हुने कुनै स्रोत छैन । र पनि टुर्नामेन्टमा सहभागी भएर जितेको प्राईज मनी खर्च कटाएर टीमले खेलाडीलाई बाँड्ने गरेको छ । जसले खेल खेल्न हौसला मिल्ने उनी बताउँछन् ।  टीमले एक वर्षमा एक पटक मात्र खेलाडीलाई खेल सामाग्री दिने गरेको बताउँदै उनी भन्छन् –‘त्यतीले त पुग्दैन । अहिले घरपरिवारले नै सामाग्री दिएर खेल्न पठाउँछन् ।’
   रौतहटले महिला फुटबलमा गरेको प्रतिनिधित्व लोभलाग्दो बन्दै गएको छ । अञ्जली वाइबा, नमिता दली, सुधा थोकर, अनु लामा, लक्ष्मी पौडेल लगायतका खेलाडी अहिले पनि राष्ट्रिय टीममा रहेको प्रशिक्षक दर्लामी बताउँछन् । विभागीय टीममा पनि रौतहटकै महिला फुटबलर बढी छन् । फुटबलमा राम्रो पर्दशन गर्न सक्षम रौतहटका २० बढी खेलाडी आर्मी, पुलिस तथा शशस्त्रको टीममा सहभागि भएर फुटबल खेलिरहेको उनले बताए । भर्खरै श्रीलंकामा भएको एशियन क्षेत्रिय गेम नेपालले जित्यो । त्यसमा सहभागी हुन गएका १६ जना खेलाडी मध्ये ५ जना रौतहटका नै थिए । ‘प्रोत्साहन भएको छ । प्रेरणा मिलेको छ । नाम र दाम कमाउन सकिन्छ । देशको नाम राख्न सकिन्छ भन्ने सबैमा छाप परेको छ’ रौतहटकै महिला खेलाडी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी हुन थालेपछि फुटबलको माहौल विस्तारै बन्दै आएको प्रशिक्षक दर्लामी बताउँछन् ।


No comments:

Post a Comment