Thursday, August 7, 2014

सिद्धार्थ पढ्दा

‘संसारमा देखिएका सम्पुर्ण दृष्यहरु भ्रम हुन्, फगत दुर्गन्धित भ्रम । अन्नतोगत्वा नष्ट हुने क्षणिक भुलभुलैया बाहेक अरु केही होइनन् । वस्तुतः संसारको वास्तविक नियती नै फगत् दुःख हो र जीवन भन्नु नै पीडाहरुको शृङखला हो ।’
हर्मन हेस्सेले लेखेको उपन्यास ‘सिद्धार्थ’ का पंक्ति हुन् यि । सन् १९२२ मा लेखिएको यो किताबले १९४६ मा नोबेल पुरस्कार पाएको थियो । अंग्रेजी साहित्यको यो किताब शुशिल शर्माले नेपालीमा भावानुवाद गरेका छन् ।
केही वर्षअघिदेखी यो किताब पढ्ने इच्छुक थिए । कहिलेकाँही काठमाण्डौं हानिएका बेला केही किताब पसलमा खोजेको थिए । खोज्दा नेपालीमा पाईए । अंग्रेजीमा नै भएको पढ्न पाए अंग्रेजीको ज्ञान केही बढ्छ की भन्ने लोभ मलाई थियो । त्यसैले नेपालीमा किनिएन । किताबको प्रशंशा केहीबाट सुनेको पनि थिए । त्यसैले पढ्ने उत्सुकता बढ्दो थियो ।
त्यही उत्सुकतालाई यो वर्ष गएको आफ्नो जन्मदिनले पुरा गरिदियो । जन्मदिनकै दिन उपहारको रुपमा किताब हात परेको थियो । अँग्रजीमा लेखिएको पढ्ने चाहनालाई नेपालीमा लेखिएको किताबले पुरा गदै थियो । उत्साह, जिज्ञाशा र असन्तुष्टिका प्रश्नहरुको उत्तर खोज्दै हिँड्ने युवाको जीवनकालका महत्वपुर्ण कार्य र अनुभवलाई किताबले समेटेको छ ।
आफुभित्रको तृष्णा, इच्छा, आकांक्षा, राग देष अनि सुख र दुःखका अनुभुतिबाट पुर्णत मुक्त हुने.......सिद्धार्थले आफ्नो जीवनको युवा अवस्थासम्म आइपुग्दा नियालेका चित्रणहरु यिनै थिए । उनी आफ्नै जीवनसँग सिक्दै थिए ।
आफ्नो सिकाई र अनुभुतिलाई खार्न आलिसान जीवनबाट सन्यासी हुनु उनको जीवनको एक विशेष निर्णय थियो । ब्राह्मण पुत्रको रुपमा धर्तीमा आएका उनले श्रवण जीवन अंगिकार गरे, त्यागे, कमलाको यौवनमा लिन भए, मनुष्यको बीचमा रहेर दुनियाँ बनाए, अनि नदि किनारलाई जीवन बनाए, माझिकोे सामिप्यता स्विकार गरे, छोराको मायामा पुर्णता डुबे, अनि सबैबाट टाढा भएर शान्त बने । सिद्धार्थ यसरी नै आफ्नो जीवनलाई डो¥याउँछन् । मात्र शान्तिको खोजीमा ।
घरपरिवार, साथिभाई, श्रवण, गौतमबुद्ध, कमला, माझी, रुख। नदी, ढुङ्गा, छोरा सबैबाट उनले केही न केही सिकेका छन् । ‘प्रत्येक पल हामी मरिरहेका छौं र प्रत्येक पल हामीले नवल जिवन पाइरहेका छौं’ जीवनको यथार्थलाई सिद्धार्थको खोजीले यसरी प्रष्ट्याएको छ ।
समयको अन्तराल भन्नु नै केवल भ्रम मात्र हो । यही भ्रमको वशिभुत हुनाको कारण हामीले समयलाई भुत, भविष्य र वर्तमानमा विभाजन गर्ने गर्दछौं । तर भुत र भविष्य भन्नु नै वस्तुतः भ्रम मात्र हुन् । समयको बीचमा हामीले कारेका यही विभाजनका रेखाकै कारण संसार र मोक्ष, दुःख र सुख, जीवन र मृत्युबीच हामी विभाजन देख्दछौं । यी विभाजनहरु केवल हाम्रा विचारका उपज मात्र हुन् । अन्यथा अस्तित्वका सम्रग कुराहरु अभिभाज्य छन् । र, जे छन् अहिले यहाँ हाम्रा दृष्टि सामु छन् ।


मानिसको आफ्नो जीवन नै एक किताब हो जसबाट हरेक दिन मानिसले सिकिरहेको हुन्छ । यो किताबले सिकाएको कुरा नै यहि हो । कुनै पनि कुराको स्वरुप चीरस्थायीकालका लागि कायम नरहनु नै त यो अस्तित्वको विशेषता र सुन्दरता हो ।

Sunday, June 29, 2014

आँप र रमाईलो बाल्यकाल


‘ड्याङ्ग’ टीनको छाना र रुखबाट झरेको आँपको दाना बीचको आवाज आयो । खाना बनाउँदै गर्दा म तर्सिए । आँफैलाई हाँसो लाग्यो । आँपको दाना झर्दा पनि कस्तो तर्सिए छु । अनि सम्झिन थालें विगतका वर्षहरुमा आँपसँग बिताएको समय र आँपसँगको अतित पनि मेरो सम्झनयोग्य नै छ । मैंले थाहा पाएदेखी नै मेरो घरमा आँपका दुई ओटा बोट थिए । टन्नै फल्ने । खाएर नसकिने । केही वर्षअघि रोपेको अर्को बिरुवा पनि फल्न थालेको बर्षहरु नाघिसक्यो । अहिले तीन वटा छ ।
असारः आँप पाक्ने महिना अनि हाम्रो स्कुल बिदा हुने महिना पनि । यस्तो लाग्थ्यो यो महिना आँप खानको लागि नै स्कुल बिदा भएको हो । बिहान आँखा खुलेदेखी बेलुका निन्द्रामा नपुगेसम्म दोस्ती नै आँपसँग हुन्थ्यो ।
हावाहुरी र पानीसँगै राति खस्ने आँपले त कति पटक निन्द्रा नै व्युझाएको छ । राती टिनको छानामा आँप खस्दा आउने आवाजले ब्युझिँदा लाग्थ्यो, आज आँप धेरै खसेको छ । अहिले बटुल्न जाँउ की । अनि बिहान उठ्ना साथ हातमुख धुने काम भन्दा अघि हुन्थ्यो । आँप बटुल्ने काम । आँपका रुखमुनीका साना घाँस पन्छ्याउँदै आँप बटुल्थ्यौं । खोजी खोजी आँप बटुल्ने काम हुन्थ्यो ताकी चाहेर पनि आँप कतै नछोडियोस् ।
बाटा, बाल्टी आँपले भरिन्थ्यो । हामीले बटुलेका आँपहरु आँप नहुनेहरुको घरमा पुग्थे । आँपले भरिएका बाटा, बाल्टी खालि हुन्थे । अर्को बिहान हामी त्यसरी नै भर्ने गथ्यौं । यसरी आँप झर्ने क्रम र हामीले बटुल्ने क्रम आँप नसकिदाँसम्म चलिरहन्थ्यो । हाम्रो दिन नै सुरु हुन्थ्यो सबैभन्दा पहिला आँपको स्वाद लिएर । घरमा नै बसे त आँप खान टुट्थेन । घर बाहिर खेत बारी कतै जानु परे पनि आँप नखाई बस्थेनौं । बारीमा जानुपर्ने होस् या घरबाहिर कतै हातमा आँपको दाना लुकेका हुन्थ्ये ।
बिहान र साँझको समयमा खेतबारीमा लागेपनि दिउँसो त घरमै भईन्थ्यो । अनि घर भनेको नै आँपको रुख हुन्थ्यो । आँपको रुपमा चढ्यो । टिप्यो । अनि बोटमा नै बसेर खायो । रुखमा चढेर आँप खानेमा बहिनीसँग मेरो झगडा नै हुन्थ्यो । एउटा हाँगामा बहिनी चढे म अर्को हाँगामा चढ्थे । आँपको रुखको हाँगा भागवण्डा हुन्थ्यो । एउटाले बढि खायो भने अर्कोलाई त्यो भन्दा बढि खानुपर्ने । एक दिनमा नै कति आँपका दाना खाएर सक्थ्यौं । गिन्ती नै छैन ।
अनि कतिखेर लौरो लिएर आमा लखेट्न आईपुग्नु हुन्थ्यो हाम्रो भागाभाग हुन्थ्यो । गाउँतिर एकछिन हरायो अनि घर फर्कियो । हाम्रो घरमा फल्ने आँप पनि अचम्मकै छ एक वर्ष विराएर फल्छ । एक वर्ष टन्नै फल्ने अनि अर्को वर्ष एउटा, दुईटा हाँगामा भन्दा नफल्ने । अनि रुख चढेर आँप खान पनि एक वर्ष विराउनुपर्ने । र पनि आँपको सिजन धेरै रमाईलो हुन्थो ।
यसरी आँप खाने क्रम एसएलसी सक्दासम्म चल्यो । त्यसपछि भने घर बाहिरको बसाइँ भयो । कहिलेकाँही घर पुग्दा पहिला जसरी आँप खाने मेशो नै नमिल्ने । यो वर्ष भने आँपको रुखमा चढ्ने मेशो मिल्यो । रुखमा नै बसेर आँप नखाए पनि आँप झार्ने काम भने गरियो ।

Thursday, May 29, 2014

स्ट्याचुः काला प्रतिबिम्ब


स्ट्याचु, मन र दिमागमा एकैपटक यो शब्दले क्लिक ग¥यो । सेकेन्ड मै रियालीटि नै हो भनेर क्लिक भयो । छेउमै बसेको म हातमै रहेको निकोनको प्युसो क्यामेरा समातेर झरिहाले । क्लिक.... क्लिक... क्लिक... केही संख्यामाा तस्विर खिचें । गाडीमा हुँदा तालको किनारमा प्रष्ट देखिएका तीन काला चित्रहरु क्रमश झाडीमा हराउन थाले ।
जेठ १५ गते बिहीबार एका बिहानै यि सबै घटना मै सँग भएका थिए । लामो समयपछि आजको दिन एका बिहानै उठेको थिए । सौराहाको बसाईमा नवलपरासी, रुपन्देही र चितवनका केही साथीहरु बिहान ५  बजे नै बिसहजारी तालतिर लाग्ने अघिल्लो दिनको सल्लाह अनुसार नै तयार भएको थिए ।
सबै भएर भ्यानमा चढेर सिमसार क्षेत्र तिर लागियो । पिच रोडमा भ्यान कुद्दै गर्दा सुर्यले बादलसँग लुकामारी गर्दै थियो । कहिले आधा छोपिएर, कहिले पुरै छोपिएर अनि कहिले पुरै देखिएर । आफ्नै गतिमा कुदिरहेको गाडीमा बसेर पुर्व तर्फका अग्ला घरहरुलाई छल्दै सुर्यको लुकामारी हेरें । सिमसार क्षेत्र प्रवेश गर्दा घडीले ६ बजाएर अघि बढ््दै थियो । गुरुजीले गाडी चलाएको बाटो मेरा लागि नौलो थियो ।
 बिसहजारी ताल यो भन्दा अघि पनि धेरै पटक पुगेको थिए । तर फरक बाटो गएको थिए । बाटोको दुई छेउमा देखिएका जरायो, मृग, चराहरु हेदै सानो तलाउ भएको ठाउँमा पुग्दा आँखाले देखेका काला तीन प्रतिबिम्ब देखेर अचान स्ट्याचु शब्दले मलाई छोएको थियो ।
तीन काला प्रतिबिम्ब थिए कुमाल तालमा पानीमा रमाएर निस्किएका गैंडा । गाडीबाट झरेर सबैले तस्विर खिच्न थाल्यौं । तालको वारी हामीले हे¥यौं । पारीबाट हामीलाई हेर्दै घाँस चपाउँदै एकछिनमा जंगलभित्र हराए ।
दुई गैंडालाई सँगै त पहिला पनि देखेको थिए । तर, पहिलो पटक तीन गैंडालाई सँगै देख्दै थिए म । उत्साहित भए । पहिलो पटक त्यस्तो दृष्यलाई कैद गर्न पाएको थिए । जुम गर्दै वारीबाट खिचेको तस्विर आँखाले देखेजस्तो प्रष्ट आएन । र पनि सन्तोष मान्ने केही तस्विर बटुल्न सकें । हामी भन्दा पहिला पुगेको एक टोलीले पनि गैंडा देख्न पाएका थिए ।
 गैंडाले जंगलको बाटो समातेपछि हामी पनि बिसहजारी तालतर्फ लाग्यौं । फर्किदैं गर्दा भारतीय पर्यटकले भरिएको जीप र भ्यानको लस्कर लागेको थियो । उनीहरु सोध्दै थिए वनमा के के देख्यौं भनेर । तर हामीले जति देख्यौं उनीहरुले देख्न पाएनन् ।

Wednesday, May 28, 2014

बिगमायाको खुशी


 सेतै फुलेका कपाल । धमिलो देख्ने आँखा । कम सुन्ने कान । अप्रष्ट बोली । घर्किदो उमेर । बुढेसकालका विशेषताहरु हुन् यि सबै । यिनै विशेषतासँग पारङ्गत भएकी छिन् बिगमायाँ चेपाङ । उमेरले ८८ को नेटो काटिसक्यो । ढल्कदो उमेरले घर आडकै बारी, पानी पँधेरा सबै परदेश भएका छन् । सबै परदेश भएका बेला उनको सहारा बनेको छ छोरी सुनमायाँको परिवार । बोल्ने साथी, सञ्चो विसञ्चो सोध्ने र हेरचाह गर्ने सबै छोरीले गर्छिन् ।
उदास रहने बिगमायाँको मुहारमा खुशी छाएको छ । आफ्नो एक मात्र सन्तान छोरीको दौडधुपले उनको अधिकार प्राप्ती भएको छ । मुजा परेर छोपिएको अनुहारमा खुशीका रेखाहरु थपिएका छन् ।
आफ्नो जीवनको अधिकांश समय काउलेमा बिताएकी बिगमायाँ जीवनको उत्तरार्धमा छोरी ज्वाँइको शरणमा शक्तिखोर पुगेकी छिन् । उनी आफ्नो बुढेसकाल आफ्नो एक मात्र सन्तान छोरीको सहारामा बिताउन बाध्य भईन् । श्रीमान् मिरसिंहको ३ वर्षअघि मृत्यु भएपछि उनी घरबार विहीन भईन् । श्रीमान्को मृत्यु भएपछि श्रीमान्को अर्को श्रीमती तर्फका छोराहरुले उनलाई घर निकाला गरे । जीन्दगीको हुँदोखाँदो समय श्रीमान्को घरमा नै बिताईन् । दुःख गरेर घर चलाईन् ।
सौतने छोराहरुले घर निकाला गर्दा उनीसँग न श्रीमान्को साथ थियो, न बस्ने ओत थियो न त बाँच्ने आधार सम्पती नै । श्रीमान् बितेको ३ वर्षपछि भने उनको नाममा सम्पती जोडिएको छ । छोरीले गरिदिएको संघर्षका कारण उनले सम्पती पाएकी छिन् । श्रीमान्को सम्पतीबाट आफ्नो हक लाग्ने अंश पाएकी छिन् ।
अंशवण्डा मुद्धा जितेर काउलेमा रहेका ५ कठ्ठा १० धुर जग्गा उनको नाममा नामसारी भएको छ । चितवन जिल्ला अदालतले उनलाई अंश दिने फैसला गरिदिएपछि गएको चैत्रको दोस्रो साता अदालतका कर्मचारी काउले पुगेर उनको जग्गाको साँध किल्ला छुट्याईदिएका हुन् ।
आर्थिक अवस्था कमजोर भएकी बिगमायाँले २०६९ को भदौमा छोरी मार्फत अंशवण्डा मुद्धा दायर गरेकी थिईन् । श्रीमान्को ५६ र ५४ वर्षका दुई छोरालाई प्रतिवादी बनाई चितवन जिल्ला अदालतमा हालेको मुद्धाको फैसला उनको पक्षमा भएको थियो । अदालतबाट भएको फैसला कार्यान्वयन गर्नको लागि अदालतका कर्मचारी, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरु काउलेमा रहेको जग्गा छुट्याएर उनलाई भेट्न शक्तिखोर पुगेका थिए ।
आफ्नो नाममा आएको जग्गाको नक्सा छिमेकीले आँगनमा बसेर हेरिरहदाँ उनले भने हात जोडेर सबैलाई धन्यवाद भनिरहेकी थिईन् । श्रीमान्को मृत्यु भएपछि आफ्नो हक लाग्ने जग्गा आफ्नो नाममा नामसारी गर्नको लागि निवेदन दिन लाग्दा छोराहरुबाट उनले दुव्र्यवहार पाएकी थिईन् । मुद्धा लड्नको लागि चाहिने खर्च नहुँदा उनीहरुले समयमा नै मुद्धा लड्न सकेनन् । ढिला भएपनि दिएको मुद्धाले उनको अधिकार उनलाई नै फर्कादियो ।
मानवअधिकारकर्मीको पहलमा मुद्धाको प्रक्रिया अघि बढाईएको थियो । मुद्धा लड्नका लागि कानुन व्यवसाय अधिवक्ता विनोद मिश्रले सहयोग गरे । अंश मार्फत जग्गा पाएपछि बिगमायाँ खुशी छिन् । उनले आफुले पाएको अंश शेषपछि आफ्नो हेरचाह गर्ने छोरीलाई दिने उनको मनसाय छ ।


Wednesday, April 9, 2014

आत्मनिर्भर रामको उत्साहित जीन्दगी

देव तेरो रैछ नी खटन
सुन्नु होला यो रामको घटना
२०६७ साल पुसको महिना
खासा घुमी आउँदा धन्दै ज्यान गएन
खासा घुमी फर्किआयौं चार बजे तिर
झ्याप्पै रोक्यो खाजा खान दोलालघाट निर
घट्यो घटना सात बजे राती
ठूलो दशा आई लाग्यो म माथी
दश मिनेट रोकेपछि गुड्यो गाडी फेरी
हामी पनि चढिहाल्यौं हतार हतार गरी

उनले आफ्नै कथा सुनाए । उनले गन्धर्व शैलीमा गाएको सुन्न सानो भीड जम्मा भएको थियो । भीडमा मिसिएर सुन्नेहरुमा मेरो पनि सहभागिता थियो । उनको कुरा सुन्दै गर्दा सबै मन मर्माहत कान टाठा भएका थिए । सानो सानो आवाजमा सुर र लय भिकेर उनी यस्तो सुनाउँदै थिए ।


पुग्न पाईन म त कठै आफु बस्ने सिटमा
एकैछिनमा पुगि गाडी डर लाग्दो भिरमा
डाईभर दाई तिम्रै भर पर्दछु
रक्सी नखाउ म बिन्ति गर्दछु
घटना भाको पाँच दिनपछि ढाड मेरो चि¥यो
१२ वटा पेचकस सहित दुईटा रड राख्यो
रड राखी ढाड मेरो सिधा चाँही भयो
कम्मरदेखी तल शरीर त्यसै खेर गयो
चुहाएर आँशुका धारा
ह्विल चियर भयो जीवनको सहारा .....।।


उमेरले ३१ पुगेका सिन्धुपाल्चोकका रामबहादुर तामाङ्गको जीवनमा भएको तितो अतित हो । दुःखद् घटनाले उनको जीवनको मोड नै परिवर्तन गरिदियो । र पनि उनी जिवनलाई संघर्षपुर्ण रुपमा अघि बढाउँदै छन् ।
आफु जिउनुलाई एक यर्थाथ बनाउन खोजेका छन् । जीउनको लागि लक्ष्य र उदेश्य बनाएका छन् । दुर्घटनाको कारणबाट मेरुदण्डको पक्षघात हुँदा शरीरको तल्लो भागले काम गर्दैनन् । ह्विल चियर नै उनको दिगो साथी भएको छ । कहिले साथ नछोड्ने गरी ।
जीवनमा भोग्नु परेको भोगाई एकातिर र अर्को तिर उनको साहस र आँट । तुलना गर्नु र तौलिने नै हो भने पनि उनको साहस र जीवनप्रतिको उत्साह कयौं गुणा माथि छ । जसले उनलाई ह्विल चियरमा यात्रा गर्न हौस्यायो । काभ्रेको नमोवुद्धबाट लुम्बिनीसम्मको ३६० किलोमिटरको यात्रा ह्विल चियरबाट गर्ने योजना बनाए । जुन योजनाको कारण १४ दिनमा २०३ किलोमिटर यात्रा गर्दै उनी चितवन आईपुगे ।
चैत २४ गते सोमबार बिहान उनले आफ्नो यात्रा चितवनबाट लुम्बिनीतर्फ अघि बढाएका छन् । तीन वर्षअघि काभ्रेको दोलालघाटमा भएको बस दुर्घटनामा परेका उनको मेरुदण्डको पक्षघात भएको छ । उनी आफु जस्तै पीडामा परेका व्यक्तिहरुलाई हौसला प्रदान गर्न र शान्तिको कामना यात्रामा निस्किएका हुन् ।
जिउँदो लाश भनेर हेपिएको उनलाई मन पर्दैन । ह्विल चियर नै सहारा भए पनि उनले आफुलाई आत्मनिर्भर बनाएका छन् । भने आफु जस्तै पीडामा रहेकालाई  आत्मनिर्भर बन्न सिकाउँछन् । हातले मात्र गर्न सकिने ३६ किसिमका सीप उनले जानेका छन् । आफुसँग रहेको ती सीपहरु उनी आफु जस्तै मेरुदण्डका पक्षघात भएकाहरुलाई सीप सिकाउँछन् । सीप सिकाउनको लागि मेरुदण्ड पक्षघातहरुका लागि बनाईएको पुर्नस्थापना केन्द्रसम्म नै पुगेर सीप सिकाउँछन्  ।
जसले पनि उको जीवनलाई उत्साहपुर्ण बनाईदिएको छ । उत्साहित रामको जीवन संधै उत्साहपुर्ण होस् ।।।



Monday, April 7, 2014

सोर्सले बैंक पनि खुल्ने रहेछ

शुक्रबारको दिन कृषि विकास बैंक दिउँसो १२ः३० बजे बन्द हुने रहेछ । सामान्य अरु सरकारी बैंक जस्तै १ बजेसम्म खुल्छ भन्ने मैंले सोचेको थिएँ । तर कृषि विकास बैंकको नियम नै साँढे १२ बजेसम्म खुल्ने रहेछ । संस्थाको नाममा रहेको  बैंक खाताको हस्ताक्षर परिवर्तनको लागि डकुमेन्ट लिएर बैंकको नारायणगढ शाखामा १२ः४५ पुगेको थिएँ ।
गेट बन्द भैसकेको रहेछ । गेटमा सुरक्षा गार्ड पनि थिएनन् । ताला बन्द थियो । म सँगसँगै दुई युवा पनि गेटमा पुगेका थिए । माथिबाट झरेका बैंकका एक कर्मचारीले भने –‘आज त बैंक बन्द भैसक्यो ।’ गेटमा पुगेका ति युवा भन्दै थिए ‘हामी काठमाण्डौंबाट आएको महेश बस्नेतको मान्छे ।’
ती कर्मचारीले बैंक बन्द भएको जानकारी फेरी पनि गराए ।  यसरी पर्खिदाँ पाँच मिनेट समय गइसकेको थियो । माथिबाट सुरक्षागार्ड झरे । अनि उनले काठमाण्डौंबाट आएको को भनेर सोधेपछि गेट खोले र ती दुई युवामा भित्र पस्न दिए । अनि मलाई आईतबार आउनु भन्दै पठाए । मैंले कागजपत्र छोड्न आएको हुँ भने । उनले आईतबार आउनुभन्दै गेट बन्द गरे ।
बैंक तथा बित्तिय संस्थाको नियमहरुको पालना पुर्णतया हुन्छ भन्ने मलाई लागेको थियो । त्यसमा पनि सरकारी बैंक । ऋणको लगानी र वितरणमा सार्स लागेपनि बैंक खुल्ने र काम गराउने कुरामा पनि सोर्स लाग्दो रहेछ भनेर चाँही शुक्रबार मात्र थाहा पाएँ ।  
शुक्रबार पुर्वी चितवनमा रहेको जग्गाको बिक्रि वितरणका लागि महेश बस्नेत चितवन आएका थिए । उनले आफ्नो जग्गा पदपुरको एक नीजि स्कुललाई बेचेका थिए । शुक्रबारको दिन मालपोत कार्यालयमा काम सक्दा बैंक खुल्ने समय भने कटेको थियो । लाखौं रुपैयाँ साथमै लिएर काठमाण्डौं फर्कन रिक्सी थियो । त्यसैले उनले फोन बाटै बैंकलाई आदेश दिएर आफ्ना केटाहरु बैंक पठाएका थिए । बैंक अवधि सकिए पनि उनले जग्गा बिक्रीबाट आएको लाखौं रुपैयाँ आदेश दिएर भनौं सोर्स लगाएर केटाहरु मार्फत आफ्नो खातामा डिपोजित गरे ।
उनका भरौटेहरु बैंक पुग्नु अघि नै बस्नेतले एक बजेसम्म बसेर भए पनि आफ्नो काम गदिनुैपर्ने भनेर फोनबाटै आदेश गरेका रहेछन् । उनको सोर्सका कारण नै साँढे १२ बजे बन्द हुने बैंक १ बजेसम्म पनि खुलेको थियो ।
विकास बैंक तथा अन्य कर्मसियल बैंकमा यस्तो हुन्छ भन्ने त मलाई लागेको थियो । सरकारी बैंकमा पनि हुँदो रहेछ । अच्चमको कुरा । अनि त बैंकको सेवा र सुविधामा सबैको पहुँच र समान अवसर कहाँ भयो र ? अनि हामीले कसरी मान्ने नेपाली सबैलाई एउटै व्यवहार हुन्छ भनेर ?????????

Tuesday, February 18, 2014

विषालु च्याउले रित्तो बनेको ‘घर’


शनिबारको दिन बिहानको खानापछि हुँईकिएको थियौं भरतपुरबाट जुगेडी तिर । जुगेडी पार गर्दै भोर्लेबाट पनि स्कुटरमा उक्लिने साहस ग¥यौं । कच्ची र उकालो बाटोमा स्कुटर पञ्चर हुन सक्ने र ओरार्लो झर्न गाह्रो हुने भयले स्कुटर उकाल्ने साहस नै सकियो । अनि पिच छोडेर केही उकालो उक्लिएपछि भेटिएको पहिलो घरमा नै स्कुटरलाई विश्राम दिएर हिँड्यौं ।
मध्यान्हको समय थियो । माघको महिना भएर पनि उकालो उक्लिदै गर्दा पसिना बगेको थियो । नयाँ ऋतुको आगमन हुनको लागि रुखबाट पातहरु झर्दै थिए । अघि अघि हिँडेकी प्रतिमा ‘दि’ लाई भेट्न नै मुस्किल भैरहेको थियो मलाई । केही घण्टाको उकालोको हिँडाई पछि उनको घरमा पुगेको थिएँ । जो भेटन् गएको हो उनी भेट हुने हो कि होईन भन्ने दोधार भने त्यहाँ नपुग्दासम्म मनमा अड्किएको थियो ।
परैबाट देखिएको उनको घर र घर छेउमा बसेका उनलाई । हामी भेट्दै थियौ उमेरले ८० कटेका मैतबहादुर चेपाङलाई । कविलाश गाविस ७ चौकीडाँडाका मैतबहादुर ७४ वर्षीय श्रीमती कमिनीको भरमा बाँचिरहेका छन् । दुई घण्टा लाग्ने ठाउँबाट पानी ल्याउने, बाख्रा चराउने, घाँसपात र दाउराको जोहो, खेती गर्ने सबै काम कमिनी एक्लैले गर्छिन् । मैतबहादुर घर कुरेर बस्छन् । घर बाहिर निस्कन उनलाई लठ्ठीको सहारा चाहिन्छ ।
डेढ वर्ष अघिको त्यो घटना नहुँदो हो त यि दुई बुढाबुढीलाई यति बिध्न सास्ती हुने थिएन । घर भर छोरा बुहारी र नातिहरुको जमघट हुन्थ्यो । तर उनीहरुले चाहे जस्तो भएन । सन्तानले भरिभराउ घर अहिले रित्तो भएको छ ।  दुई बुढाबुढी मात्र भएर रुङ्गिरहेका छन् ।  
विषालु च्याउका कारण घरका पाँच सन्तानले ज्यान गुमाउँदा उनीहरुको आँगन सुन्य भएको छ । घर भित्र बाहिर गरेर सताउने नातीहरुको साथ छुटेको छ । बेलामा पकाएर खुवाउने बुहारी, कमाएर ल्याउने छोरा र तीन नाती ०६९ सालको जेठ अन्तिम दिन साँझको छाक खाएको विषालु च्याउको कारण उनीहरुबाट टाढा भए ।
बचेका दुई काखे नातीहरु मध्ये दुई वर्षको नाति चोकमानलाई पूर्व प्रधान सेनापति छत्रमान सिंह गुरुङले पाल्नका लागि लगे भने कान्छो नातीलाई उनकी छोरीले हुर्कारहेकी छिन् । नाती लिएर जाँदा र भेट्न आउँदा सेनाले ल्याईदिएको सामल मैतबहादुर सम्झिन्छन् । बाख्रा चराउन गएकी कमिनीले बिहानै पकाईदिएको डेढोले उनी दिउँसोको भोक मेटाउँछन् ।
दुई छोरा र एक छोरी भएका मैतबहादुर बुढेसकालमा बुढाबुढी मात्रै भएर दिन कटाईरहेका छन् । दुई छोरा छुट्ट भिन्न भएपछि उनी कान्छो छोराको परिवारसँग बस्दै आएका थिए । ‘गोरु जोत्ने छोरो नै गयो’ मैतबहादुर भन्छन्–‘खेती लाउन नी गाह्रो हुन्छ’ ।
छोरोले नयाँ घर बनाउनको लागि अड्याएको खम्बामा उनीहरुले भित्ता जोड्न पनि सकेका छैनन् ।  आडैको पुरानो घरको छानो छाउनुपर्ने भएको छ । छोराले सबै कामको मेशो मेलो मिलाउने गरेको सम्झँदै उनी घर छाउने कामको लागि जाडोमा घाम तापेर चोया काट्दै थिए । खेतला लाएर घर छाउनको लागि ज्याला तिर्ने पैसा पनि उनीसँग छैन । न त लडेर घाउ भएको खुट्टाको उपचार नै गर्न सकेका छन् । उनको घरमा मान्छेको संख्या घटेसँगै बाख्रा, कुखुरा र अन्नको संख्या र मात्रा घटेका छन् ।
अभावको समस्या झेलेर बसेका भए पनि घरमा उसिनेर राखेको पिडालुले हाम्रो सत्कार गरे । आत्मियता कति न्यानो थियो त्यो । उनको आत्मियताको साटोमा हामीसँग दिने केही थिएन । मात्र केही घण्टा उनको कुरा सुन्यो । उनको घर हे¥यौं । अनि ढल्दै गरेको दिनसँग फकियौं पनि ।