सुन्नु होला यो रामको घटना
२०६७ साल पुसको महिना
खासा घुमी आउँदा धन्दै ज्यान गएन
खासा घुमी फर्किआयौं चार बजे तिर
झ्याप्पै रोक्यो खाजा खान दोलालघाट निर
घट्यो घटना सात बजे राती
ठूलो दशा आई लाग्यो म माथी
दश मिनेट रोकेपछि गुड्यो गाडी फेरी
हामी पनि चढिहाल्यौं हतार हतार गरी
उनले आफ्नै कथा सुनाए । उनले गन्धर्व शैलीमा गाएको सुन्न सानो भीड जम्मा भएको थियो । भीडमा मिसिएर सुन्नेहरुमा मेरो पनि सहभागिता थियो । उनको कुरा सुन्दै गर्दा सबै मन मर्माहत कान टाठा भएका थिए । सानो सानो आवाजमा सुर र लय भिकेर उनी यस्तो सुनाउँदै थिए ।
एकैछिनमा पुगि गाडी डर लाग्दो भिरमा
डाईभर दाई तिम्रै भर पर्दछु
रक्सी नखाउ म बिन्ति गर्दछु
घटना भाको पाँच दिनपछि ढाड मेरो चि¥यो
१२ वटा पेचकस सहित दुईटा रड राख्यो
रड राखी ढाड मेरो सिधा चाँही भयो
कम्मरदेखी तल शरीर त्यसै खेर गयो
चुहाएर आँशुका धारा
ह्विल चियर भयो जीवनको सहारा .....।।
उमेरले ३१ पुगेका सिन्धुपाल्चोकका रामबहादुर तामाङ्गको जीवनमा भएको तितो अतित हो । दुःखद् घटनाले उनको जीवनको मोड नै परिवर्तन गरिदियो । र पनि उनी जिवनलाई संघर्षपुर्ण रुपमा अघि बढाउँदै छन् ।
आफु जिउनुलाई एक यर्थाथ बनाउन खोजेका छन् । जीउनको लागि लक्ष्य र उदेश्य बनाएका छन् । दुर्घटनाको कारणबाट मेरुदण्डको पक्षघात हुँदा शरीरको तल्लो भागले काम गर्दैनन् । ह्विल चियर नै उनको दिगो साथी भएको छ । कहिले साथ नछोड्ने गरी ।
जीवनमा भोग्नु परेको भोगाई एकातिर र अर्को तिर उनको साहस र आँट । तुलना गर्नु र तौलिने नै हो भने पनि उनको साहस र जीवनप्रतिको उत्साह कयौं गुणा माथि छ । जसले उनलाई ह्विल चियरमा यात्रा गर्न हौस्यायो । काभ्रेको नमोवुद्धबाट लुम्बिनीसम्मको ३६० किलोमिटरको यात्रा ह्विल चियरबाट गर्ने योजना बनाए । जुन योजनाको कारण १४ दिनमा २०३ किलोमिटर यात्रा गर्दै उनी चितवन आईपुगे ।
जिउँदो लाश भनेर हेपिएको उनलाई मन पर्दैन । ह्विल चियर नै सहारा भए पनि उनले आफुलाई आत्मनिर्भर बनाएका छन् । भने आफु जस्तै पीडामा रहेकालाई आत्मनिर्भर बन्न सिकाउँछन् । हातले मात्र गर्न सकिने ३६ किसिमका सीप उनले जानेका छन् । आफुसँग रहेको ती सीपहरु उनी आफु जस्तै मेरुदण्डका पक्षघात भएकाहरुलाई सीप सिकाउँछन् । सीप सिकाउनको लागि मेरुदण्ड पक्षघातहरुका लागि बनाईएको पुर्नस्थापना केन्द्रसम्म नै पुगेर सीप सिकाउँछन् ।
जसले पनि उको जीवनलाई उत्साहपुर्ण बनाईदिएको छ । उत्साहित रामको जीवन संधै उत्साहपुर्ण होस् ।।।
No comments:
Post a Comment