सेतै फुलेका कपाल । धमिलो देख्ने आँखा । कम सुन्ने कान । अप्रष्ट बोली । घर्किदो उमेर । बुढेसकालका विशेषताहरु हुन् यि सबै । यिनै विशेषतासँग पारङ्गत भएकी छिन् बिगमायाँ चेपाङ । उमेरले ८८ को नेटो काटिसक्यो । ढल्कदो उमेरले घर आडकै बारी, पानी पँधेरा सबै परदेश भएका छन् । सबै परदेश भएका बेला उनको सहारा बनेको छ छोरी सुनमायाँको परिवार । बोल्ने साथी, सञ्चो विसञ्चो सोध्ने र हेरचाह गर्ने सबै छोरीले गर्छिन् ।
उदास रहने बिगमायाँको मुहारमा खुशी छाएको छ । आफ्नो एक मात्र सन्तान छोरीको दौडधुपले उनको अधिकार प्राप्ती भएको छ । मुजा परेर छोपिएको अनुहारमा खुशीका रेखाहरु थपिएका छन् ।
आफ्नो जीवनको अधिकांश समय काउलेमा बिताएकी बिगमायाँ जीवनको उत्तरार्धमा छोरी ज्वाँइको शरणमा शक्तिखोर पुगेकी छिन् । उनी आफ्नो बुढेसकाल आफ्नो एक मात्र सन्तान छोरीको सहारामा बिताउन बाध्य भईन् । श्रीमान् मिरसिंहको ३ वर्षअघि मृत्यु भएपछि उनी घरबार विहीन भईन् । श्रीमान्को मृत्यु भएपछि श्रीमान्को अर्को श्रीमती तर्फका छोराहरुले उनलाई घर निकाला गरे । जीन्दगीको हुँदोखाँदो समय श्रीमान्को घरमा नै बिताईन् । दुःख गरेर घर चलाईन् ।
सौतने छोराहरुले घर निकाला गर्दा उनीसँग न श्रीमान्को साथ थियो, न बस्ने ओत थियो न त बाँच्ने आधार सम्पती नै । श्रीमान् बितेको ३ वर्षपछि भने उनको नाममा सम्पती जोडिएको छ । छोरीले गरिदिएको संघर्षका कारण उनले सम्पती पाएकी छिन् । श्रीमान्को सम्पतीबाट आफ्नो हक लाग्ने अंश पाएकी छिन् ।
अंशवण्डा मुद्धा जितेर काउलेमा रहेका ५ कठ्ठा १० धुर जग्गा उनको नाममा नामसारी भएको छ । चितवन जिल्ला अदालतले उनलाई अंश दिने फैसला गरिदिएपछि गएको चैत्रको दोस्रो साता अदालतका कर्मचारी काउले पुगेर उनको जग्गाको साँध किल्ला छुट्याईदिएका हुन् ।
आर्थिक अवस्था कमजोर भएकी बिगमायाँले २०६९ को भदौमा छोरी मार्फत अंशवण्डा मुद्धा दायर गरेकी थिईन् । श्रीमान्को ५६ र ५४ वर्षका दुई छोरालाई प्रतिवादी बनाई चितवन जिल्ला अदालतमा हालेको मुद्धाको फैसला उनको पक्षमा भएको थियो । अदालतबाट भएको फैसला कार्यान्वयन गर्नको लागि अदालतका कर्मचारी, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरु काउलेमा रहेको जग्गा छुट्याएर उनलाई भेट्न शक्तिखोर पुगेका थिए ।
आफ्नो नाममा आएको जग्गाको नक्सा छिमेकीले आँगनमा बसेर हेरिरहदाँ उनले भने हात जोडेर सबैलाई धन्यवाद भनिरहेकी थिईन् । श्रीमान्को मृत्यु भएपछि आफ्नो हक लाग्ने जग्गा आफ्नो नाममा नामसारी गर्नको लागि निवेदन दिन लाग्दा छोराहरुबाट उनले दुव्र्यवहार पाएकी थिईन् । मुद्धा लड्नको लागि चाहिने खर्च नहुँदा उनीहरुले समयमा नै मुद्धा लड्न सकेनन् । ढिला भएपनि दिएको मुद्धाले उनको अधिकार उनलाई नै फर्कादियो ।
मानवअधिकारकर्मीको पहलमा मुद्धाको प्रक्रिया अघि बढाईएको थियो । मुद्धा लड्नका लागि कानुन व्यवसाय अधिवक्ता विनोद मिश्रले सहयोग गरे । अंश मार्फत जग्गा पाएपछि बिगमायाँ खुशी छिन् । उनले आफुले पाएको अंश शेषपछि आफ्नो हेरचाह गर्ने छोरीलाई दिने उनको मनसाय छ ।
No comments:
Post a Comment