Wednesday, April 9, 2014

आत्मनिर्भर रामको उत्साहित जीन्दगी

देव तेरो रैछ नी खटन
सुन्नु होला यो रामको घटना
२०६७ साल पुसको महिना
खासा घुमी आउँदा धन्दै ज्यान गएन
खासा घुमी फर्किआयौं चार बजे तिर
झ्याप्पै रोक्यो खाजा खान दोलालघाट निर
घट्यो घटना सात बजे राती
ठूलो दशा आई लाग्यो म माथी
दश मिनेट रोकेपछि गुड्यो गाडी फेरी
हामी पनि चढिहाल्यौं हतार हतार गरी

उनले आफ्नै कथा सुनाए । उनले गन्धर्व शैलीमा गाएको सुन्न सानो भीड जम्मा भएको थियो । भीडमा मिसिएर सुन्नेहरुमा मेरो पनि सहभागिता थियो । उनको कुरा सुन्दै गर्दा सबै मन मर्माहत कान टाठा भएका थिए । सानो सानो आवाजमा सुर र लय भिकेर उनी यस्तो सुनाउँदै थिए ।


पुग्न पाईन म त कठै आफु बस्ने सिटमा
एकैछिनमा पुगि गाडी डर लाग्दो भिरमा
डाईभर दाई तिम्रै भर पर्दछु
रक्सी नखाउ म बिन्ति गर्दछु
घटना भाको पाँच दिनपछि ढाड मेरो चि¥यो
१२ वटा पेचकस सहित दुईटा रड राख्यो
रड राखी ढाड मेरो सिधा चाँही भयो
कम्मरदेखी तल शरीर त्यसै खेर गयो
चुहाएर आँशुका धारा
ह्विल चियर भयो जीवनको सहारा .....।।


उमेरले ३१ पुगेका सिन्धुपाल्चोकका रामबहादुर तामाङ्गको जीवनमा भएको तितो अतित हो । दुःखद् घटनाले उनको जीवनको मोड नै परिवर्तन गरिदियो । र पनि उनी जिवनलाई संघर्षपुर्ण रुपमा अघि बढाउँदै छन् ।
आफु जिउनुलाई एक यर्थाथ बनाउन खोजेका छन् । जीउनको लागि लक्ष्य र उदेश्य बनाएका छन् । दुर्घटनाको कारणबाट मेरुदण्डको पक्षघात हुँदा शरीरको तल्लो भागले काम गर्दैनन् । ह्विल चियर नै उनको दिगो साथी भएको छ । कहिले साथ नछोड्ने गरी ।
जीवनमा भोग्नु परेको भोगाई एकातिर र अर्को तिर उनको साहस र आँट । तुलना गर्नु र तौलिने नै हो भने पनि उनको साहस र जीवनप्रतिको उत्साह कयौं गुणा माथि छ । जसले उनलाई ह्विल चियरमा यात्रा गर्न हौस्यायो । काभ्रेको नमोवुद्धबाट लुम्बिनीसम्मको ३६० किलोमिटरको यात्रा ह्विल चियरबाट गर्ने योजना बनाए । जुन योजनाको कारण १४ दिनमा २०३ किलोमिटर यात्रा गर्दै उनी चितवन आईपुगे ।
चैत २४ गते सोमबार बिहान उनले आफ्नो यात्रा चितवनबाट लुम्बिनीतर्फ अघि बढाएका छन् । तीन वर्षअघि काभ्रेको दोलालघाटमा भएको बस दुर्घटनामा परेका उनको मेरुदण्डको पक्षघात भएको छ । उनी आफु जस्तै पीडामा परेका व्यक्तिहरुलाई हौसला प्रदान गर्न र शान्तिको कामना यात्रामा निस्किएका हुन् ।
जिउँदो लाश भनेर हेपिएको उनलाई मन पर्दैन । ह्विल चियर नै सहारा भए पनि उनले आफुलाई आत्मनिर्भर बनाएका छन् । भने आफु जस्तै पीडामा रहेकालाई  आत्मनिर्भर बन्न सिकाउँछन् । हातले मात्र गर्न सकिने ३६ किसिमका सीप उनले जानेका छन् । आफुसँग रहेको ती सीपहरु उनी आफु जस्तै मेरुदण्डका पक्षघात भएकाहरुलाई सीप सिकाउँछन् । सीप सिकाउनको लागि मेरुदण्ड पक्षघातहरुका लागि बनाईएको पुर्नस्थापना केन्द्रसम्म नै पुगेर सीप सिकाउँछन्  ।
जसले पनि उको जीवनलाई उत्साहपुर्ण बनाईदिएको छ । उत्साहित रामको जीवन संधै उत्साहपुर्ण होस् ।।।



Monday, April 7, 2014

सोर्सले बैंक पनि खुल्ने रहेछ

शुक्रबारको दिन कृषि विकास बैंक दिउँसो १२ः३० बजे बन्द हुने रहेछ । सामान्य अरु सरकारी बैंक जस्तै १ बजेसम्म खुल्छ भन्ने मैंले सोचेको थिएँ । तर कृषि विकास बैंकको नियम नै साँढे १२ बजेसम्म खुल्ने रहेछ । संस्थाको नाममा रहेको  बैंक खाताको हस्ताक्षर परिवर्तनको लागि डकुमेन्ट लिएर बैंकको नारायणगढ शाखामा १२ः४५ पुगेको थिएँ ।
गेट बन्द भैसकेको रहेछ । गेटमा सुरक्षा गार्ड पनि थिएनन् । ताला बन्द थियो । म सँगसँगै दुई युवा पनि गेटमा पुगेका थिए । माथिबाट झरेका बैंकका एक कर्मचारीले भने –‘आज त बैंक बन्द भैसक्यो ।’ गेटमा पुगेका ति युवा भन्दै थिए ‘हामी काठमाण्डौंबाट आएको महेश बस्नेतको मान्छे ।’
ती कर्मचारीले बैंक बन्द भएको जानकारी फेरी पनि गराए ।  यसरी पर्खिदाँ पाँच मिनेट समय गइसकेको थियो । माथिबाट सुरक्षागार्ड झरे । अनि उनले काठमाण्डौंबाट आएको को भनेर सोधेपछि गेट खोले र ती दुई युवामा भित्र पस्न दिए । अनि मलाई आईतबार आउनु भन्दै पठाए । मैंले कागजपत्र छोड्न आएको हुँ भने । उनले आईतबार आउनुभन्दै गेट बन्द गरे ।
बैंक तथा बित्तिय संस्थाको नियमहरुको पालना पुर्णतया हुन्छ भन्ने मलाई लागेको थियो । त्यसमा पनि सरकारी बैंक । ऋणको लगानी र वितरणमा सार्स लागेपनि बैंक खुल्ने र काम गराउने कुरामा पनि सोर्स लाग्दो रहेछ भनेर चाँही शुक्रबार मात्र थाहा पाएँ ।  
शुक्रबार पुर्वी चितवनमा रहेको जग्गाको बिक्रि वितरणका लागि महेश बस्नेत चितवन आएका थिए । उनले आफ्नो जग्गा पदपुरको एक नीजि स्कुललाई बेचेका थिए । शुक्रबारको दिन मालपोत कार्यालयमा काम सक्दा बैंक खुल्ने समय भने कटेको थियो । लाखौं रुपैयाँ साथमै लिएर काठमाण्डौं फर्कन रिक्सी थियो । त्यसैले उनले फोन बाटै बैंकलाई आदेश दिएर आफ्ना केटाहरु बैंक पठाएका थिए । बैंक अवधि सकिए पनि उनले जग्गा बिक्रीबाट आएको लाखौं रुपैयाँ आदेश दिएर भनौं सोर्स लगाएर केटाहरु मार्फत आफ्नो खातामा डिपोजित गरे ।
उनका भरौटेहरु बैंक पुग्नु अघि नै बस्नेतले एक बजेसम्म बसेर भए पनि आफ्नो काम गदिनुैपर्ने भनेर फोनबाटै आदेश गरेका रहेछन् । उनको सोर्सका कारण नै साँढे १२ बजे बन्द हुने बैंक १ बजेसम्म पनि खुलेको थियो ।
विकास बैंक तथा अन्य कर्मसियल बैंकमा यस्तो हुन्छ भन्ने त मलाई लागेको थियो । सरकारी बैंकमा पनि हुँदो रहेछ । अच्चमको कुरा । अनि त बैंकको सेवा र सुविधामा सबैको पहुँच र समान अवसर कहाँ भयो र ? अनि हामीले कसरी मान्ने नेपाली सबैलाई एउटै व्यवहार हुन्छ भनेर ?????????

Tuesday, February 18, 2014

विषालु च्याउले रित्तो बनेको ‘घर’


शनिबारको दिन बिहानको खानापछि हुँईकिएको थियौं भरतपुरबाट जुगेडी तिर । जुगेडी पार गर्दै भोर्लेबाट पनि स्कुटरमा उक्लिने साहस ग¥यौं । कच्ची र उकालो बाटोमा स्कुटर पञ्चर हुन सक्ने र ओरार्लो झर्न गाह्रो हुने भयले स्कुटर उकाल्ने साहस नै सकियो । अनि पिच छोडेर केही उकालो उक्लिएपछि भेटिएको पहिलो घरमा नै स्कुटरलाई विश्राम दिएर हिँड्यौं ।
मध्यान्हको समय थियो । माघको महिना भएर पनि उकालो उक्लिदै गर्दा पसिना बगेको थियो । नयाँ ऋतुको आगमन हुनको लागि रुखबाट पातहरु झर्दै थिए । अघि अघि हिँडेकी प्रतिमा ‘दि’ लाई भेट्न नै मुस्किल भैरहेको थियो मलाई । केही घण्टाको उकालोको हिँडाई पछि उनको घरमा पुगेको थिएँ । जो भेटन् गएको हो उनी भेट हुने हो कि होईन भन्ने दोधार भने त्यहाँ नपुग्दासम्म मनमा अड्किएको थियो ।
परैबाट देखिएको उनको घर र घर छेउमा बसेका उनलाई । हामी भेट्दै थियौ उमेरले ८० कटेका मैतबहादुर चेपाङलाई । कविलाश गाविस ७ चौकीडाँडाका मैतबहादुर ७४ वर्षीय श्रीमती कमिनीको भरमा बाँचिरहेका छन् । दुई घण्टा लाग्ने ठाउँबाट पानी ल्याउने, बाख्रा चराउने, घाँसपात र दाउराको जोहो, खेती गर्ने सबै काम कमिनी एक्लैले गर्छिन् । मैतबहादुर घर कुरेर बस्छन् । घर बाहिर निस्कन उनलाई लठ्ठीको सहारा चाहिन्छ ।
डेढ वर्ष अघिको त्यो घटना नहुँदो हो त यि दुई बुढाबुढीलाई यति बिध्न सास्ती हुने थिएन । घर भर छोरा बुहारी र नातिहरुको जमघट हुन्थ्यो । तर उनीहरुले चाहे जस्तो भएन । सन्तानले भरिभराउ घर अहिले रित्तो भएको छ ।  दुई बुढाबुढी मात्र भएर रुङ्गिरहेका छन् ।  
विषालु च्याउका कारण घरका पाँच सन्तानले ज्यान गुमाउँदा उनीहरुको आँगन सुन्य भएको छ । घर भित्र बाहिर गरेर सताउने नातीहरुको साथ छुटेको छ । बेलामा पकाएर खुवाउने बुहारी, कमाएर ल्याउने छोरा र तीन नाती ०६९ सालको जेठ अन्तिम दिन साँझको छाक खाएको विषालु च्याउको कारण उनीहरुबाट टाढा भए ।
बचेका दुई काखे नातीहरु मध्ये दुई वर्षको नाति चोकमानलाई पूर्व प्रधान सेनापति छत्रमान सिंह गुरुङले पाल्नका लागि लगे भने कान्छो नातीलाई उनकी छोरीले हुर्कारहेकी छिन् । नाती लिएर जाँदा र भेट्न आउँदा सेनाले ल्याईदिएको सामल मैतबहादुर सम्झिन्छन् । बाख्रा चराउन गएकी कमिनीले बिहानै पकाईदिएको डेढोले उनी दिउँसोको भोक मेटाउँछन् ।
दुई छोरा र एक छोरी भएका मैतबहादुर बुढेसकालमा बुढाबुढी मात्रै भएर दिन कटाईरहेका छन् । दुई छोरा छुट्ट भिन्न भएपछि उनी कान्छो छोराको परिवारसँग बस्दै आएका थिए । ‘गोरु जोत्ने छोरो नै गयो’ मैतबहादुर भन्छन्–‘खेती लाउन नी गाह्रो हुन्छ’ ।
छोरोले नयाँ घर बनाउनको लागि अड्याएको खम्बामा उनीहरुले भित्ता जोड्न पनि सकेका छैनन् ।  आडैको पुरानो घरको छानो छाउनुपर्ने भएको छ । छोराले सबै कामको मेशो मेलो मिलाउने गरेको सम्झँदै उनी घर छाउने कामको लागि जाडोमा घाम तापेर चोया काट्दै थिए । खेतला लाएर घर छाउनको लागि ज्याला तिर्ने पैसा पनि उनीसँग छैन । न त लडेर घाउ भएको खुट्टाको उपचार नै गर्न सकेका छन् । उनको घरमा मान्छेको संख्या घटेसँगै बाख्रा, कुखुरा र अन्नको संख्या र मात्रा घटेका छन् ।
अभावको समस्या झेलेर बसेका भए पनि घरमा उसिनेर राखेको पिडालुले हाम्रो सत्कार गरे । आत्मियता कति न्यानो थियो त्यो । उनको आत्मियताको साटोमा हामीसँग दिने केही थिएन । मात्र केही घण्टा उनको कुरा सुन्यो । उनको घर हे¥यौं । अनि ढल्दै गरेको दिनसँग फकियौं पनि ।




Saturday, February 15, 2014

रीतिले बाँधिएको डोरी


आज फागुन ३ गते । परेवा तिथि । घरमा फेरी जुट्दैछौं । हरेक वर्ष जस्तो आज पनि । एका बिहानै बाहुन बाजे आईपुग्नुभएको छ । परापुर्वकालदेखी चलिआएको रीति पुरा गर्न । आमाले तयार गर्नु भएको सामाग्रीहरुलाई बाहुन बाजे र दादाले माध्यम बनाउनुभयो । अनि डेढ घण्टा नपुग्दै सबै काम सकियो । रीति सकियो ।
अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि पनि मेरो निधार बाहुन बाजेको हातबाट पहेंलो अक्षताले भरिए । फेरी पनि बाहुन बाजेको हातबाट बाबाको नामको टिका मेरो निधारमा प¥यो । पहेंलो रङ्गले निधार छोपियो । आजको तीथि बाबाले संसार छोड्नु भएको दिन । सम्झने एउटा माध्यम बन्यो हाम्रो संस्कार र रीतिरिवाज । वर्ष नै गन्ने हो भने पनि दुई हात र एउटा खुट्टाको औंला गनेर पनि नपुग्ने वर्ष बितिसकेछ । छिट्टो बितेका हुन् या ढिलो वर्षहरु ।
त्यो दिन ः जुन दिन मेरो गाउँको एक दाई मलाई लिन साईकल लिएर मेरो स्कुल पुग्नु भएको थियो । साईकल लिएर लिन आउँदा म फुरफुर परेर घर गएको थिएँ । घर नजिकै चोकमा पुग्दा मेरो घरको बाटोमा मान्छेको भिड थियो । साईकलबाट झरेर आँगनमा पुग्दा बाबालाई आँगनमा राखिएको थियो । नजिकै दादा र यिनै बाहुनबाजे बसेर के के गर्दै थिए मेरो बालक मगजले केही बुझेको थिएन । घर भित्र गएर झोला राखें । झ्यालबाट हेरेको त आमा गोठमा बसेर रोईरहनुभएको थियो । सोधें आमा किन रोएको भनेर । केही उत्तर पाईन । केही बेरपछि मान्छेहरु आएर शंख बजाए । अनि सबै गए । रात परेको थियो । म निदाएछु । केही पछि उठाएर केराको पातमा घ्यूमा भुटेको केरा खान दिएका थिए । त्यसको साता दिन मलाई र बहिनीलाई स्कुल जान पनि दिईएन । कपाल कोर्नु हुँदैन थ्यो । सानै भएर हो वा बाबासँग ज्यादा घुलमिल नभएर हो मलाई बाबाको याद नै आउँदैथ थ्यो ।
अलि पछिका वर्षहरुमा स्कुलमा साथीहरुले आफ्नो बाबाको बारेमा कुरा गर्दा मेरो पनि बाबा भैदिएको भए..... सोच्थे । जतिखेर म बाबाको महत्व बुझ्न सक्ने, समझ्न सक्ने भएको थिएँ त्यती खेर त बाबा नै हुनुहुन्थेन ।
बाबालाई सम्झने हो भने एउटा कुरा मलाई संधैं याद आउँछ । २ कक्षामा पढ्दा मेरो सेरोफेरोमा प्रश्न आएको थियो तिम्रो बाबाले के गर्नु हुन्छ ? मैंले उत्तर लेखेको थिएँ मेरो बाबाले भात पकाउनुहुन्छ । त्यती बेला पनि मलाई थाहा नरहेछ मेरो बाबाले के काम गर्नु हुन्छ भनेर । उहाँ रिटाएर भएर बस्नु भएको रहेछ भनेर । उत्तर कापि दादाले हेरेपछि मलाई धेरै दिनसम्म जिस्काउनु भएको थियो ।
अहिले सम्झदा पनि अचम्म लाग्छ कसरी मैंले त्यस्तो उत्तर लेखेछु भनेर । हिजा सन्तानले गरेका कामहरुको लगाम लगाउने, अगाडीको बाटो देखाउने काम अभिभावकको हुन्छ । सन्तानले जिवनमा उचाई लिएको हेर्दा अभिभावकलाई खुशी हुन्छ । तर मेरो बाबाले त्यो देख्न पाउनु भएन । मेरो बाल्यकाल अनि बाल्यकाल पछिको युवा अवस्था सबैबाट टाढा हुनुभयो ।
र पनि पुर्खाले चलाईदिएको संस्कारले वर्षमा एक दिन भएपनि सबै संगै भएर रीति पुरा गर्ने अवसर जुट्ने गरेको छ ।


Sunday, February 2, 2014

सिजन गुच्चाको

४, ५ पढ्दासम्म खेलिन्थ्यो । साह्रै रमाईलो पो हुन्थ्यो । आफु सरहका साथीहरुसँग मात्र नभएर आफु भन्दा ठूला दाजु, दिदीहरुसँग पनि खेलियो । एक रुप्पेमा २० वटा आउँथ्यो । आफुलाई पानी कलरको मन नपर्ने रंगिन चाहिन्थ्यो । एक रुप्पे तिरेर किनेकोले अँजुली नै भरिन्थ्यो । हातभरी लियोे अनि छ्याइँछ्याइँ बजाउँदै हिँड्यो ।
स्कुल बिदाको दिन त बिहानैदेखी सुरु हुन्थ्यो हाम्रो खेल । आफु भन्दा ठूलाले खेलमा मिसाएनन् भने सानाहरुको्े छुट्टै टोली हुन्थ्यो । एउटै आँगनमा दुई, तीन टोलीको खेलले आँगन नै भरिभराउ । खहिले खाल बनाएर गुच्चा खेलिन्थ्यो त कहिले सानो सानो खोपिल्टो बनाएर ।
कहिले काँही त स्कुल जाँदा पनि सँगसँगै पुग्थ्यो गुच्चा । सरहरुको गाली खाईन्छ भनेर मिडीको गोजिमा रहेको गुच्चालाई झोलामा लुकाईन्थ्यो । केटाहरु भने स्कुलमा पनि सरहरुसँग लुकेर खेल्थे । हामी केटीहरु चाँही स्कुलमा चुँगी खेल्थ्यौं । चुँगी खेल्दा चाँही त्यती गाली खाइँदैनथ्यो जति केटाहरुले गुच्चा खेलेको देख्दा सरहरुबाट पाउँथे । स्कुलको अफिस कोठमा विद्यार्थीहरुबाट सरहरुले खोसेर लगेको गुच्चा र चुँगीको त थुप्रो नै लाग्थ्यो ।
हाम्रो गुच्चा खेल्ने सिजन सुरु हुँदा प्राय जसो धान काटेर भित्राईसकिएको हुन्थ्यो । आँगनमा छेउ कुनामा कतै कतै भुस र परालको धुलाहरु बाँकी हुन्थे । कतै पराल तथा धानको कुन्यु बनाउँदा मुसाले बनाएका भ्वाङ्गहरु हुन्थे । कहिले त खेल्दै गर्दा त्यस्तै भ्वाङ्ग अनि धान परालको घुरानको थुप्रो भित्र कता पुग्थ्यो गुच्चा । खोज्दा खोज्दा हैरान नै भईन्थ्यो ।
गएको साता माडीको गर्दी पुग्दा स्कुले बालकहरु यसरी नै गुच्चाको खेलमा रमाईरहेका थिए । जाडोको मौसममा गुच्चा खेल्दै हात तताई रहेका थिए उनीहरु पनि । खेल हेर्दै, फोटो लिँदै गर्दा मैंलें पनि आफ्नो बाल्यकाललाई सम्झिए । कति रमाईलो थिए ती बाल्यकालका समय । अहिले सम्झिदा पनि खुशी लाग्छ । खेल्न पाएपछि केही कुराको मतलब नै हुदैन्थ्यो । खेलमा कहिले हारेर गुच्चा सकिन्थ्यो त कहिले जितेर गुच्चा बटुलिन्थ्यो । जितेको गुच्चाहरु बेचेर २÷४ रुपैयाँ हात पर्दा त खेलको मज्जा नै डबल पो हुन्थ्यो त ।

Sunday, January 12, 2014

‘मिस यु नारायणी वीच’





शान्त, प्रिय, सुन्दर ठाउँ नारायणी किनार
मेरो लागि मात्र होईन प्राय सबैको लागि
रमाउने, बिसाउने थलो हो नारायणी किनार....











त्यसै मोहित बनाउने किनारमा प्राय साता दिनमा पुग्ने गर्थे । गर्मी होस् या जाडो नारायणी किनारले मन हरेको छ मेरो । भरतपुरको बसाईलाई स्विकारेसँगैको प्रिय ठाउँ बन्यो । भरतपुर बस्न थालेपछि खुरर्र भरतपुर ओरालो हिरो साईकलमा कुद्दै पुग्थें नारायणी किनार ।







जाडो होस् या गर्मी सबै समयको याद गाँसिएको छ । गर्मीको साँझ चिसो आईसक्रिम खाँदै अस्ताउँदै गरेको सुर्यलाई हेर्दै, सिरसिर हावाको शितलता अनि पानीमा खुटटा चोबलेर बिताएको समयले ताजा ऊर्जा अनि मोटर बोटमा नारायणीको पानी माथि दौडिदाको मज्जा सम्झिदा कति रोमाञ्चक बनाउँछ । अनि जाडोको दिनमा पोलेको मकै, बदाम, सुन्तला र घामको तापसँग बाँडेको समय रमाईलो पल बनेर कैद भएको छ जिन्दगी नामको एल्बममा ।





नारायणी किनारबाट देखिने अस्ताउँदो सुर्यले त मोहनी नै लगाउँछ । कति दिन त सुर्यास्त हेर्न भनेर नै कुदेको छु नारायणी किनार । कुनै दिने उद्योग वाणिज्यसंघ पछाडी किनारमा बसेर साथीसँग गफिनको लागि पुगेको छु । कुनै दिन गौरेश्वर मन्दिरबाट नदिको छाल नियाल्न पुगेको छु । साँझको समय मोहित पार्ने सुन्दरता छर्छ
नारायणीले ।






दौडधुपको जीन्दगीमा दिक्क लाग्न थाले, पट्यार लाग्न थाले म पुगिहाल्थे नारायणी किनार ‘फ्रेस’ हुने बहाना खोज्दै । त्यहाँको शान्तपनले र सुन्दरताले मेरो मन, दिमाग र शरीर नै नयाँ उमंगले सिञ्चित हुन्थ्यो । अनि त दिगदारी, नैराश्यता त सबै ‘फु’ भएर जान्थे । अनि म फ्रेस भएर, उत्साह लिएर फर्कन्थे ।







व्यक्तिगत जीवनीको पाटो खोल्ने, सुखदुःख बाँड्ने थलो नारायणी किनार । जहाँ ,मेरो निकट साथीहरुसँग मैंले आफ्नो जिवनको खुशी अनि रोदनका पलहरु सेयर गरेको छु । नारायणी  किनार धेरै पटक पुगेपनि साथ जाने साथीहरु भने थोरै छन् । बढि त म सावित्री साथीसँग र सरला दिसँग गएको छु ।
पछिल्लो समय नारायणी किनार सफासँगै सुन्दर बनेको छ । बस्नको लागि सिमेन्टका बेञ्च बनाईएका छन् । मन्दिर तथा मुर्तिहरु पनि बनेका छन् ।


म सुरुमा पुग्दाको समय र पछिल्लो समयमा धेरै फेरियो नारायणी किनारको स्वरुप । व्यवस्थित बनेको किनारको वातावरणले बसाई सहज बनाएको थियो । शान्त वातावरण, नदिको सौन्दयर्ताले गर्दा म दिन प्रतिदिन नारायणी किनारसँग मेरो सामिप्यता बढेको थियो ।
पछिल्लो समयमा मसँगै नारायणी किनार पुग्नेमा सावित्री नै बढि भएकी थिई । फुर्सद भयो की स्कुटरमा कुद्दै पुग्ने गथ्र्याै हामी । नदिलाई नियाल्दै, सुर्यास्त हेर्दै साँझ ढल्थ्यो र हामी फकिन्थ्यौं । र पनि त्यति प्रिय ठाउँ नपुगेको महिनौं भएछ ।


बितेका दिन र पल खोतल्दै जाँदा पछिल्लो पटक गएको साउनको ७ गते पुगेको रहेछु । आज हिसाब गर्दा त छ महिना पुरा हुन ८ दिन मात्र बाँकी रैछ । पछिल्लो पटक नारायणी किनार पुग्दाको साता नदिमा पानीको सहत निकै उर्लेको थियो । खतराको बिन्दु भन्दा धेरै माथि उर्लेको थियो । नदिमा पानीको सतह हेर्नको लागि नारायणी पुलमा र किनारमा जोडिएका छतहरुमा मानिसको भीड थियो । म पनि त्यहि भीडलाई नियाल्न र नारायणीको तस्विर खिच्न पुगेको थिएँ ।
खोई किन हो त्यो दिन पछि नारायणी किनार पुग्ने दिन नै किन जुरेन । व्यस्तता बढेको पनि होईन र पनि किन हो । नारायणीको पुल धेरै पटक वारपार गरेपनि किनार पुग्ने मेशो किन मिलेन खोई ?? यो बितेको समयमा धेरै पटक ‘मिस’ गरेको छु नारायणी किनारलाई ।








Tuesday, November 26, 2013

फष्ट पर्सन

 सभ्यता
मनभित्रको कुरालाई खुलस्त भन्ने उनको बानी रैछ । नारायणी उच्च माविको प्राङ्गणमा भेटिदा उनी उत्साहित थिईन् । उत्साह भित्र लुकेको थियो उनले गरेको काम । संविधानसभाको चुनावमा उनले भोट दिएकी थिईन् । भरतपुर १० की सभ्यता खनाल (२६) ले यस पटकको निर्वाचनमा भरतपुर १० मा रहेको नारायणी उच्च माविबाट मतदान गरिन् ।
संसारको सुन्दरतालाई आँखाले कैद गर्न नसक्ने उनले सहयोगीको सहयोगमा भोट दिईन् । यसअघिको निर्वाचनमा पनि सहभागी भएकी उनलाई यो पटक भोट दिन जाँदा पहिले जस्तै असहज महशुस भयो ।
अघिल्लो पटक पहिलो चोटी भोट दिँदा उनलाई उत्साह लागेको थियो । यसपाली भने पहिले जस्तो उत्साह उनमा थिएन । किनभने यो पटक पनि उनले पहिले जस्तै सहयोगी लिएर भोट हाल्न जानुप¥यो । आफुले दिने गोप्य मत अरुलाई भनेर हाल्न लगाउँदा मतदानको गोप्यता नै रहेन ।
‘आफु फष्ट पर्सन हुन पाईएन’ सहयोगीको साथमा मतदान गर्नुको बाध्यता सुनाउँदै उनले आफ्नो कुरा खोलिन् –‘सेकेन्ड पर्सनलाई विश्वास गर्नु बाध्यता भयो ।’ सप्तगण्डकी बहुमुखी क्याम्पसबाट स्नातक गरेकी उनी आफुलाई एक सक्षम नागरिक भन्न रुचाउँछिन् ।
‘अहिलेसम्म हरेक तहको पढाई मैंले पहिलो श्रेणीमा उत्र्तीण गरेको छु’ सभ्यता भन्छिन्–‘ स्नातकोत्तर पढ्ने तयारीमा छु । घरमा सबै काम गरिराखेको छु ।’ यस पटकको चुनावमा उनले शारीरिक अशक्तहरुको पक्षमा आवाज उठाउने उम्मेदवार र पार्टीलाई भोट दिएकी छिन् ।
आँखा नदेख्नेहरुको लागि पनि विकल्पको व्यवस्था गर्न सकिने उनलाई लागेको थियो । जुन उनले यो निर्वाचनमा पाईनन् । आफु सक्षम भएर पनि मतदानको लागि अरुमा भर पर्नुपर्दा उनलाई अफठ्यारो महशुस भएको हो ।
सभ्यताका अनुसार शारीरिक अशक्तलाई असक्षम बनाउने काम समाजले गरेको छ । समाजले दृष्टिविहीन लगायतका शारीरिक अशक्तलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको उनले बताईन् । २०३९ देखी विद्येयक पारिद गरेपनि शारीरिक रुपमा अशक्त भएकालाई समाजमा समान अधिकार कार्यान्वयनको अवस्था नभएकोले अब बन्ने संविधानले आफुजस्ताको पक्षमा नीति बनाओस् भन्ने उनी चाहन्छिन् ।
लक्ष्मी 
पश्चिम चितवन गुञ्जनगरकी लक्ष्मी सुवेदी (२४) ले पहिलो पटक संविधान सभाको चुनावमा मतदान गरिन् । आमा चौमाया सुवेदीको सहयोगमा गुञ्जनगर उच्च माविको मतदान केन्द्रमा पुगेर मतदान गर्दा उनी उत्साहित देखिईन् ।
‘पहिलो पटक राखेको हो’ मतदान गरेपछि उनले भनिन् –‘खुशी लागेको छ समयमा नै संविधान बन्नुपर्छ’ । सप्तगण्डकी बहुमुखी क्याम्पसको कक्षा ११ पढ्ने उनी संविधानमा आफु जस्ता शारीरिक अशक्तको आवाजहरु पनि समेटियोस् भन्ने चाहन्छिन् ।
सभ्यता र लक्ष्मी जस्तै दृष्टिविहीनहरुले यो पटकको चुनावमा सहयोगीको साथ लिएर भोट दिए । उनीहरुले उत्साहित हुने नेतालाई दिएको भोटको कत्तिको कदर हुनेछ त्यो त आउने दिनमा थाहा नै भैहाल्छ । अर्को हुने चुनावमा भने सभ्यता र लक्ष्मीले सहयोगको सहयोग लिनुपर्ने बाध्यता हुने छैन की ??