Sunday, February 2, 2014

सिजन गुच्चाको

४, ५ पढ्दासम्म खेलिन्थ्यो । साह्रै रमाईलो पो हुन्थ्यो । आफु सरहका साथीहरुसँग मात्र नभएर आफु भन्दा ठूला दाजु, दिदीहरुसँग पनि खेलियो । एक रुप्पेमा २० वटा आउँथ्यो । आफुलाई पानी कलरको मन नपर्ने रंगिन चाहिन्थ्यो । एक रुप्पे तिरेर किनेकोले अँजुली नै भरिन्थ्यो । हातभरी लियोे अनि छ्याइँछ्याइँ बजाउँदै हिँड्यो ।
स्कुल बिदाको दिन त बिहानैदेखी सुरु हुन्थ्यो हाम्रो खेल । आफु भन्दा ठूलाले खेलमा मिसाएनन् भने सानाहरुको्े छुट्टै टोली हुन्थ्यो । एउटै आँगनमा दुई, तीन टोलीको खेलले आँगन नै भरिभराउ । खहिले खाल बनाएर गुच्चा खेलिन्थ्यो त कहिले सानो सानो खोपिल्टो बनाएर ।
कहिले काँही त स्कुल जाँदा पनि सँगसँगै पुग्थ्यो गुच्चा । सरहरुको गाली खाईन्छ भनेर मिडीको गोजिमा रहेको गुच्चालाई झोलामा लुकाईन्थ्यो । केटाहरु भने स्कुलमा पनि सरहरुसँग लुकेर खेल्थे । हामी केटीहरु चाँही स्कुलमा चुँगी खेल्थ्यौं । चुँगी खेल्दा चाँही त्यती गाली खाइँदैनथ्यो जति केटाहरुले गुच्चा खेलेको देख्दा सरहरुबाट पाउँथे । स्कुलको अफिस कोठमा विद्यार्थीहरुबाट सरहरुले खोसेर लगेको गुच्चा र चुँगीको त थुप्रो नै लाग्थ्यो ।
हाम्रो गुच्चा खेल्ने सिजन सुरु हुँदा प्राय जसो धान काटेर भित्राईसकिएको हुन्थ्यो । आँगनमा छेउ कुनामा कतै कतै भुस र परालको धुलाहरु बाँकी हुन्थे । कतै पराल तथा धानको कुन्यु बनाउँदा मुसाले बनाएका भ्वाङ्गहरु हुन्थे । कहिले त खेल्दै गर्दा त्यस्तै भ्वाङ्ग अनि धान परालको घुरानको थुप्रो भित्र कता पुग्थ्यो गुच्चा । खोज्दा खोज्दा हैरान नै भईन्थ्यो ।
गएको साता माडीको गर्दी पुग्दा स्कुले बालकहरु यसरी नै गुच्चाको खेलमा रमाईरहेका थिए । जाडोको मौसममा गुच्चा खेल्दै हात तताई रहेका थिए उनीहरु पनि । खेल हेर्दै, फोटो लिँदै गर्दा मैंलें पनि आफ्नो बाल्यकाललाई सम्झिए । कति रमाईलो थिए ती बाल्यकालका समय । अहिले सम्झिदा पनि खुशी लाग्छ । खेल्न पाएपछि केही कुराको मतलब नै हुदैन्थ्यो । खेलमा कहिले हारेर गुच्चा सकिन्थ्यो त कहिले जितेर गुच्चा बटुलिन्थ्यो । जितेको गुच्चाहरु बेचेर २÷४ रुपैयाँ हात पर्दा त खेलको मज्जा नै डबल पो हुन्थ्यो त ।

No comments:

Post a Comment