Sunday, May 19, 2013

सन्तान वियोगले देवघाटको बास



उनीहरु दुवैको दैनिकी परिवर्तन भएको छ । बर्दियाको देउडाकला ९ ककौरा घर भएका उनीहरुले जीवनशैली र बास नै परिवर्तन गरेका छन् । घर छाडेर देवघाट आएका छन् । बिहानदेखी साँझसम्म भजन, किर्तन र प्रवचनमा मन लगाउने प्रयत्न गर्छन् । मनको भारी, दुःखलाई भगवानको आराधनामा लाग्दा केही भुलिन्छकी भनेर उनीहरु देवघाट आएका हुन् ।
 ६४ वर्षीय चेतनाथ र ५६ की सावित्रीदेवी अधिकारीले आफ्नो जीवनमा भएको नचाहेको परिवर्तनसँगै सोचेका थिए अब देशमा पनि परिवर्तन हुनेछ । तर, उनीहरुले सोचे अनुसार देशमा केही परिवर्तन भएन् ।
देशमा भएको एक दशक लामो द्वन्द्वलाई सम्झने हो भने त उनीहरुको मुटु नै चिरिन्छ । सावित्रीका आँखा रसाउँछन् । उनको गला अवरुद्ध हुन्छ । चाहेर पनि बोल्न सक्दिनन् ।
यही द्वन्द्वका क्रममा उनीहरुले आफ्ना दुई सन्तान गुमाए । त्यो पनि छ महिनाको अवधिभित्र । उनीहरुका दुवै छोरा एकै दिन नेपाल आर्मीमा भर्ती भएका थिए ।  ‘देशको सेवा गर्न र जनताको सुखका लागि लड्छु भन्थे दुईटै’ सावित्री भन्छिन्–‘खोई उनीहरुले ज्यान दिए पनि के भा’छ र यो देशमा ?’
उनीहरुको जेठो छोरो धर्मेन्द्र कर्णालीमा भएको दोहोरो भिडन्तमा परेका र कान्छो छोरो कृष्ण घर आएका बेला माओवादीले अपहरण गरेर लगेपछि हत्या गरे भन्ने मात्र उनीहरुले खबर पाएका छन् । दुवै छोराहरुको राम्रोसँग अन्तिम संस्कार पनि गर्न पाएका छैनन् । ‘हड्डी मात्र ल्याएर दे पनि कमसेकम मन शान्त त हुन्थ्यो’ सावित्रीले आफ्नो मनको हुटहुटी पोखिन् ।
उनीहरुको ३५ र ३२ वर्षका छोराहरुले ०६१ सालमा देशको लागि बलिदानी दिए । शरीरमा छर्रा लागेर उपचार गरेर बिदामा घर आएका र निशस्त्र अवस्थामा रहेका कान्छो छोरालाई अपहरण गरेर हत्या गर्नु द्वन्द्वको नियम विपरित भएको चेतनाथ बताउँछन् । छोरालाई अपहरण गरेर लैजाने मान्छेहरु खुलेआम घुमिरहेको देख्दा आफुहरु थप पीडित भएको उनीहरु बताउँछन् ।
‘दुवै छोरा त गए, लाश त होईन हड्डी पनि पाईएन’ चेतनाथ भन्छन् ‘ मार्ने मान्छेहरु खुलेआम घुमिरहेको देख्दा बुढियाले मन थाम्न सकिन्, अनि उसकै लागि भनेर नै हामी दुवै देवघाट आएका ।’ २०६५ सालमा ६७ हजारमा किनेको कुटी नै उनीहरुको घरबास बनेको छ । उमेरले ६० को दशक वरिपरि रहेका दुवैको जीवन अहिले १०१ नम्बरको कुटीमा गुजारी रहेका छन् ।
छोराबुहारी र नातिनातिनासँगै हाँसखेल गरेर जीवन बिताउने उनीहरु सपना पनि देशको द्वन्द्वले खोस्यो । नेपालीलाई पीडा र आँशुमा डुबाउने द्वन्द्व देशमा नभएको भए अधिकारी दम्पती अहिले आफ्नै घर आगनमा रमाईरहेका हुन्थे । बर्दियामा रहेको आफ्नो जग्गा जमिन उनीहरुले बटैया दिनु पर्थेन । भने सावित्री मानसिक रुपमा विक्षिप्त पनि हुन्थिनन् र नियमित औषधी खानुपर्ने अवस्था पनि आउँथेन ।
‘जे त भयो मन त बाँध्नु नै पर्ने रहेछ ।’ निशस्त्र अवस्थामा रहेको छोरालाई अपहरण गरेर लैजाने र हत्या गर्ने दोषीलाई कार्बाही हुन्छ की भन्नेसम्म उनीहरुलाई आशा छ । त्यही भएर आफुसँग रहेका कागजपत्र चेतनाथले सम्हालेर राखेका छन् भने मानवअधिकारका क्षेत्रमा काम गर्नेहरुसँग पनि कुराहरु बुझिरहेका छन् । ‘हाम्रो मन बुझाउने बाटो नै त्यही हो कमसेकम दोषीलाई कार्बाही होस् । अनि हड्डी मात्र बुझेर भए पनि अन्तिम संस्कार विधि पु¥याएर गर्न पाम्’ चेतनाथले मनको कुरो फुकाए ।
राहत अन्तर्गत कान्छो छोराको सात लाख रुपैयाँ पाए । भने सावित्रिको नाउँमा मासिक साँढे छ हजार रुपैयाँ पेन्सन पाउँछिन् । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको लागि सुविधा पाएका छन् । जेठो छोरा धमेन्द्रको राहत रकम बुहारी र नातिनातिनाले १० लाख पाए । रकमको रुपमा पाएको राहतले उनीहरुको मनको पीडा भने शान्त भएको छैन ।
देशमा १० वर्षसम्म चलेको अशान्ति र द्वन्द्व पश्चात् पनि नेपालीले शान्तसँग जीवन बिताउन नपाएको चेतनाथ बताउँछन् । द्वन्द्वले देश र समाजलाई केही फाईदा नभएको उनको ठम्याई छ । भन्छन् –‘कति नेपालीका छोराछोरी मरे, कोही हराए । सम्पतिहरु पनि क्षती भयो । अनि फाईदा अहिले कुन नेपालीलाई भएको छ त?’


Friday, May 17, 2013

कान्दाका हामी साना साना बालबालिका..




लोत्थर गाविसको विकट गाउँ मानिएको कान्दाका बालबालिकाहरु । 

Monday, May 6, 2013

डिग्री गरेका युवा माछा पाल्दै




विज्ञान विषयमा डिग्री गरेका सात युवाहरु अहिले समुहमा बाँधिएका छन् । फरक फरक जिल्लाका उनीहरु सबै विज्ञानको मास्टर तहमा पढ्दा एकअर्कासँग परिचित भएका हुन् । उनीहरुको परिचयले अहिले गाढा रुप लिएको छ । त्यसैले उनीहरु सबै ‘द कोरोना अफ एग्रिकल्चर’ मा आबद्ध छन् । आफ्नै पहलमा खोलिएको कोरोना फर्मबाट माछापालनमा सहभागी छन् ।
फर्ममा सप्तरीका राहुल रञ्जन, दाङका सुनिल पौडेल, चितवनका उत्तम गुरुङ, पाल्पाका मधु नेपाल, मोरङका खगेन्द्र गौतम, कास्कीका हेमन्त ढकाल र स्याङ्गजाका रविन रानामगर छन् । उनीहरु सन् २००७–२००९ का एमएसी जुलोजीका विद्यार्थी हुन् । २५ देखी ३५ वर्ष उमेर समुहका उनीहरु कृषिलाई नयाँ तरिकाबाट अगाडि बढाउन चाहन्छन् ।
उनीहरुले गुञ्जनगर गाविसको शंकरचोकमा ५ विघा १४ कठ्ठा जग्गा भाडामा लिएर माछापालन गरिरहेका छन् । दुई वर्ष अघि १० लाख खर्च गरेर सुरु गरेको व्यवसायमा अहिले ३० लाख लगानी भैसकेको राहुलले जानकारी दिए । ‘माछाबाट भएको आम्दानी पनि हामीले यसैमा लगानी गरेका छौं’ उनी भन्छन् –‘अहिले हामी माछापालनलाई अध्ययन र अनुसन्धानको रुपमा अघि बढाईरहेका छौं ।’
स्नातकोत्तरमा माछासम्बन्धी अध्ययन गरेका राहुल र सुनीललाई माछापालनबारे जानकारी छ भने अरु ३ जनाले वातावरण विज्ञान र २ जना परजीवी विज्ञान पढेका छन् । माछापालनलाई स्याहार गर्ने जिम्मेवारी भने राहुल र सुनीलले गरेका छन् । पोखरी नजिकै सानो घर बनाएर बसेका उनीहरु पूरै समय माछाको स्याहार र पोखरीको हेरचाहमै बिताउँछन् ।
बाँकी ५ जना आ–आफ्नै क्षेत्रमा व्यस्त छन् । उनीहरु माछाको ‘मार्केट’ विस्तारमा सहभागी छन् । हरेक महिना भेटघाटको लागि गुञ्जानगर आउँछन् । सामुहिक मिटिङ्ग गर्छन् । भएका प्रगति बाँड्छन् र आगामी योजनाको बाटोहरु बनाउँछन् ।
लोकल जातका माछा बचाउने र माछामा आत्मनिर्भर बनाउने सोचका साथ उनीहरु यो पेशामा जोडिएको राहुल बताउँछन् । पढेकाले खेती गर्न हुँदैन जागिर नै खानुपर्छ भन्ने सोचलाई बदल्न चाहन्छन् । त्यसैले उनीहरु अहिले अनुसन्धानमा व्यस्त छन् । ‘इजरायलमा एक हेक्टरमा १८ टन माछा उत्पादन गर्छन्’ नेपालको माछा उत्पादन दरलाई बढाउन कोशिस गरेको बताउँदै राहुल भन्छन् –‘यहाँ अहिले प्रति हेक्टर चार टन हुन्छ, त्यसलाई बढाएर १८ नसके नी ८ टन त पु¥याउन सक्छौ नी ।’
अनुसन्धानमा आधारित रहेर माछापालन क्षेत्रको विकासका लागि राहुलले नेपाली सेनाको जागिर पनि छोडेका छन् । नेपाली सेनामा एसिस्टेन्ट केमिस्ट पदमा ४ वर्ष बिताएका उनले माछापालनमा नै आफ्नो भविष्य देखेका छन् । ‘जागिरमा चुनौती थिएन, मज्जा आएन’ राहुलले भने–‘म नयाँ नयाँ प्रयोग गर्न रुचाउने मान्छे, अरुलाई पनि रोजगारी दिनसक्ने काम गर्छु भनेर यता आएँ ।’ पढेका र नयाँ प्रयोग गर्न सक्ने युवाको कृषि क्षेत्रलाई आवश्यकता रहेको उनी बताउँछन् ।
१२ महिनामा एक पटक माछा उत्पादन गर्ने प्रचलन रहेकामा उनीहरुले १४ देखी १६ महिनाको बीच दुई पटक माछा उत्पादन गरेका छन् । कुन समयमा कसरी दाना दिँदा माछा बढ्छ, माछामा लाग्ने रोगहरु कसरी निर्मुल गर्न सकिन्छ, माछापालनमा प्रविधिहरुको प्रयोग, स्थानीय जातिका माछाबाट कसरी फाईदा लिने र अर्गानिक माछाको उत्पादन र बजार विस्तार कसरी गर्ने भनेर आफुहरुले अनुसन्धान गरी राखेको राहुलले बताए । उनीहरुको समुह माछापालनमा लागेपछि अहिले अरु शिक्षित युवाहरुलाई पनि प्रेरणा मिलेको छ ।



Monday, April 29, 2013

सीपले सक्षम सरस्वती

सरस्वती घिमिरे

 सरस्वती घिमिरे निरक्षर छिन् । तर उनलाई सीपले सक्षम बनाएको छ । उनी गुडिया बनाउँछिन् । त्यही सीपले गर्दा उनी आफ्नो ठाउँमा गुडिया दिदि भनेर चिनिन्छिन् । गुडिया बनाउन जानेकै कारण उनी सीपसँगै आर्थिक रुपमा पनि सक्षम बनेकी हुन् ।
४० वर्षीय उनी चितवनको भरतपुरमा डेरामा बस्छिन् । गीतानगरकी उनको १३ वर्षको उमेरमा बिहे भएको थियो । घर राम्रो नबसेपछि लामो समय एक्लै बसेकी उनले दोस्रो विवाह गरेको श्रीमान्सँग पनि उनको घरबार बसेन । आफ्नो पारीवारिक पीडा लुकाएर उनी अहिले आफ्नो सीप निर्खान लागेकी छिन्
सरस्वतीले गुडिया बनाएर मासिक ३० हजार रुपैयाँ आम्दानी गछिन् । भने आफ्नो बसाइँ र गुडिया बनाउन आवश्यक सामाग्रीको खर्च कटाएर मासिक आठ हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । दुई जनालाई रोजगारी पनि दिएक िछिन् ।
सरस्वती घिमिरे
उनी गुडियामा कुकुर र पाण्डाका आईटमहरु बनाउँछिन् । ‘कुकुर र पाण्डा दुवैको माग अहिले छ ।’ आफुले बनाउने गुडियाको बारेमा बताउँदै सरस्वती भन्छिन् –‘ठूलो र सानो साईजको माग छ बजारमा त्यही अनुसार नै बनाउँछु ।
उनले गुडिया बनाउन थालेको छ वर्ष भयो । डेरामा बस्दा घरवेटीले गुडियाहरु बनाएको देखेर उनलाई पनि सिक्न मन लाग्यो । घरवेटीलाई आग्रह गरेर ड्राफ्ट तयार भएको गुडियाहरु सिलाउने काम गरेकी थिईन् । पछि विस्तारै उनले ड्राफ्ट कोर्न पनि सिकिन् । अहिले उनी ड्राफ्ट कोर्छिन् । अरुलाई सिलाउन दिन्छिन् भने फिनिसिङ्गको काम आफैं गर्छिन् ।
गुडिया बनाउन आवश्यक सामाग्री उनी काठमाडौंबाट ल्याउँछिन् । भने उनले बनाएको गुडियाहरु अधिकांश नारायणगढ बजारमा नै बिक्री हुन्छन् । गएको वर्षहरुमा नेपालगञ्जसम्म गुडिया बिक्रीको लागि गएकी थिईन् । अहिले नारायणगढको माग नै पुरा गर्न नसकेको सरस्वती बताउँछिन् । उनले बनाएको गुडियाहरु ८० रुपैयाँदेखी चार सय रुपैयाँसम्म पर्ने छन् ।
अर्डर आयो भने उनी फर्माइस अनुसार कुशनको सेट पनि बनाउँछिन् । आफ्नो लागि मेहनत गरेर आँफै कमाउन सक्ने सरस्वती भन्छिन्–‘नपढे पनि, दुःख पाए पनि बाँच्नको लागि अरुको भर पर्नु परेको छैन यसैमा खुशी लाछ ।’

Monday, April 22, 2013

बेक्कार आए जस्तो लाग्यो



बेक्कार आए जस्तो लाग्यो
म पुगेर उनीहरुलाई थप दुःखित् बनाएछु
आफ्नो पेशाप्रति मनमा गुनासाहरु उब्जिए
के गर्नु आफ्नो उत्तरदायित्व मात्र
त निर्वाह गरेको हो नी मैलैं ......।।

पत्रकारिता गर्न थालेपछि धेरै कुरा, परिवेश अनि मानिसहरुको बारेमा केही भए पनि जानकारी पाएको छु । खुशी अनि सफलताको कथाहरुलाई नियाल्ने मौका पाएको छ । प्रकृतिसँग नजिक भएको छ । विभिन्न नयाँ ठाउँहरुमा पुगेको छु अनि नयाँ मानिसहरुको नजिक पनि ।
मन कति हलुका हुन्छ अनि रमाईलो पनि जब प्राकृतिक सुन्दरताले जोडिएको ठाउँहरुसम्म पुग्छु । मानिसहरुको खुशी अनि सफलताका कुराहरुलाई सुन्छु अनि आफ्नो लयमा उनीहरुको शब्दलाई उर्ताछु । लाग्छ उनीहरुको खुशीलाई म धेरै जनासँग बाँड्दै छु । त्यती बेला मलाई आफ्नो काम र पेशाले गर्वको महशुस गराउँथ्यो ।
तर, सँधै यस्तो नभईदिने पीडा र दुःख अनि रोदन र अभावसँग पनि नजिक त हुनैैपर्ने । भुलिसकेको विगत, इतिहास, पीडा, दुःख र दर्दलाई पनि पुर्नस्मरण पनि गराउनु पर्ने आफ्नो कामले त आँफैलाई पनि पीडित बनाउँछ । लाग्छ कस्तो काम गरेछु, भुलिसकेको पीडा र विगत ताजा गराई दिने ।
जीवनका अनेक मोडहरुका घटनाक्रमले दुःखीत् भएका उनीहरुलाई पुनः मैंले पहिलेको जीवनशैली सम्झाई दिँए । घर सम्झाइँदिए । के भएको थियो । घटनाक्रमहरु पुर्नस्मरण गर्न लगाएँ । अब अगाडी नबढौं आफ्नो काम नै त्यही । उनीहरुको पीडालाई खोतल्दै थिएँ । मन भक्कानिएको, कैंयौं वर्ष लगाएर थामिएका आँशु बगाईदिने काम भयो म बाट ।
मेरो मन पनि अत्तालियो । दिल छोयो । कस्तो काम गर्न आएछु । उनीहरुलाई थप दुःखित बनाएँ । के मैंले यस्तो गर्नु हुन्थ्यो म सोच्न मजबुर भएँ । अनि मनमा छुट्टै आभाष भयो । कमसेकम मैंले उनीहरुको पीडालाई खोतल्दा उनीहरु माथि भएको घटनाक्रम अरु माथि नपरोस् भनेर सचेतनाको सन्देश त दिन सक्छु नी !!
मैले गरेको कामले उनीहरु जसरी नै अरु पीडित बन्ने क्रम रोकिनमा पो मद्दत गर्छ की ? मन केही ढुक्क बन्यो

Sunday, April 14, 2013

०६९ का....


बग्नु मन छ जमिनमा खोला बगे जसरी
उड्नु मन छ आकाशमा चरा उडे जसरी.....।

खोला बगे जसरी बगेर टाढा जाने कुरा नगर्नु
बरु पवन उडे जसरी उडेर नजिक आउने कुरा गर्नु...।।

मानिसको मन न हो कहिले बगिदिन्छ, कहिले उडिदिन्छ, कहिले रमाईदिन्छ, कहिले हराईदिन्छ, अनि कहिले रुवाई पनि दिन्छ । कति फरक बन्छ समय सापेक्ष अनि परिवेश अनुसार । यहि जिन्दगी कहिले दिक्क लाग्दो, बोझ लाग्दो बन्छ त कहिले त्यो भन्दा कयौं गुणा फरक बन्छ ।
यस्तै फरक परिवेश र परिस्थितीहरुको एक संगालो वर्ष २०६९ पनि सकियो । अब मात्र सिमित बनेको छ एक सम्झना र एक अतित बनेर । धेरै कुरा आफैं सिकियो, अनि धेरै कुरा सिकायो वर्ष ०६९ ले जीवनमा । केही नौला र केही नयाँ अनुभवको अवसर दिलायो गएको वर्षले । सायद मेरो जीवनमा वर्ष ०६९ अलि बढि महत्वको बनेको हुनुपर्छ ।
फ्ल्यासब्याकमा गएर हेर्दा जीवनमा बितेका वर्षहरु मध्ये अलि बढि घोत्लिएको वर्ष हुनुपर्छ मेरो लागि । नयाँ अवसर, नयाँ पहिचान र नयाँ खोजिको लागि केही भए पनि मेरो व्यस्तता अलि बढाईदिएको छ वर्ष ०६९ ले । जसलाई कायम राख्ने काम ०७० मा कत्तिको गर्न सकिन्छ ?????

Monday, April 8, 2013

सिर्जना शक्ति कहिले पनि हुँदैन विफल..........

vढुङ्गाको कापा फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति कहिले पनि हुँदैन विफल

नेपालीमा भन्दा तथ्य र अंग्रजीमा भन्दा फ्याक्ट लुकेको छ यि शब्दहरुमा । कति गहन छ । अनि नेपालको परिस्थिती र समय सान्दर्भिक पनि । महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो जीवनको अन्तिम क्षणमा भनेका र संरक्षित गरिएको शब्द हो ।
यहि शब्दहरुको सञ्जाललाई आधार मानेर जीवनमा प्रगति गर्ने नेपालीहरु पनि रहेछन् यहाँ । जसबाट हामीले सिक्नुपर्ने धेरै कुराहरु लुकेका छन् नेपाली समाजमा । त्यहि लुकेका अनि प्रगतिमा हिडेका सत्यहरुको सिको हामीले गर्नुपर्ने दिन आएको छ ।
सायद देशमा भएका १० प्रतिशत युवाले मात्र पनि यो शब्दहरुको मर्महरु बुझेर नेपालमा नै केहि गरिदिए .... । त्यो दिन नआउला भन्न सकिन्न जुन दिन हामी नेपालीहरु कोही पनि खानाको लागि भोको र कपडाका लागि नाङ्गो बस्नुपर्ने छैन । जसरी अहिले मुगु, बाजुरा, कर्णाली......... का हाम्रा नेपालीहरु बस्न परिरहेको छ । जो देशमा भएका गतिविधी र कुराहरुबाट निकै टाढा छन् । उनीहरुलाई यो कुराको कुनै मतलब पनि छैन । उनीहरुलाई मात्र सरोकार छ त अनिकालको बेलामा के खाएर गजोए टार्ने ।
नारायणी नदीसँगै जोडिएको नारायणगढ बजारले जसरी पछिल्लो वर्षहरुमा प्रगती गरेको छ । के त्यसरी नै देशका अन्य ठाउँहरुले पनि प्रगती गर्न सक्ने छैनन् त ? केही दशक अघिको त कुरा हो नी यो नारायणगढ अहिलेको नारायणगढ बनेकै थिएन । यहाँको बजार सानो ढाक्रे बजारको रुपमा सिमित थियो । जहाँ नुनको व्यापार हुन्थ्यो ।
पहाड तिरका मानिसहरु हप्तौं लगाएर नुन किन्न नारायणगढको ढाक्रे बजार आउँथे । नारायणगढको शहीद चोक र पोखरा बसपार्क क्षेत्रमा मात्र केन्द्रित रहेका घरहरु सबै खरका थिए । खरबाट बनेका साना घरमा सिमित नुनको व्यापार हुन्थ्यो । तर, अहिले कति परिवर्तन भएको छ नारायणगढको स्वरुप ।
नारायणगढको मात्र होईन नारायणगढमा बस्ने मानिसकोे जीवन पनि परिवर्तन भएको छ । के यस्तो परिवर्तन सबै नेपालीको जिवनमा हुन सक्दैन र ? के यस्तो परिवर्तन नेपालको सबै ठाउँमा गर्न सकिदैन र ? जसरी पाँच दशकको अवधिमा नारायणगढ आजको विशाल नारायणगढ बजार बनेको छ । के त्यसरी नै सबै परिवर्तन हुन सक्दैन र ?
फेरी कुरा आउँछ त्यही लगनको अनि परिश्रमको । अनि तिनै शब्दहरुको । जसको सिर्जना महाकविले गरेका थिए । यी शब्दको मर्मलाई जाँच्ने अनि व्यवहारमा उतार्ने कला अनि साहस हुनु अहिलेको अपरिहार्यता हो । अनि पो हामी नेपाली भएर नेपालको लागि केही गर्न सक्यौं भनेर गर्व गर्न सक्दछौं ।

ढुङ्गाको कापा फोरेर पनि उम्रन्छ पिपल
सिर्जना शक्ति कहिले पनि हुँदैन विफल..........