Tuesday, March 17, 2015

अर्को नयाँ पात्रो


किरीमिरी अक्षरले कोरिएका, तह तह बनाएर पट्याईएको पाना खोल्दै उनले भने –‘ल अर्को नयाँ पात्रो आयो’ । उनले बोलेको सुन्नेहरु आवाज बाहिर निस्केला जसरी हाँसे । एकै छिनमा हाँसो थामियो । सबै आ–आफ्नै काममा लागे ।
कोही सोच्न थाले । कोही खल्ती छामछुम पार्न थाले । कोही नजिक भएकासँग सोध्न थाले । कोही पाना मिलाउन थाले । कोही लुकाएर हेरेको छिपाएर सार्न थाले । कोही आँखा लामो पार्दै सार्न लागेको थुत्न थाले ।
स्नात्तकोत्तर तहको परीक्षा चलिरहेको कोठामा गार्ड बसेका दुई प्राध्यापक र विद्यार्थीको व्यस्यता साह्रो थियो । बाहिरी कुरा ढोकाबाट भित्रसम्म पसेको थिएन । सिवाय परीक्षा । प्राध्यापक विद्यार्थीको खजना थुत्नमा व्यस्त । विद्यार्थी खजना हेरेर सार्न व्यस्त । यस्तो देखिन्थ्यो नजानेर र ल्याउन नसकेर खजना नल्याएकाहरु नै उल्लु बनेका थिए ।
थुतिएका खजना एकछिन हाँसोको माध्यम बन्थ्यो । अनि डल्लो परेर झ्यालबाट फुत्त हुन्थ्यो । ‘कति मेहनत गरेका’, ‘यत्तिको मेहनत पढ्नमा गरेको भए त टपर नै बन्थ्यो’ विद्यार्थीबाट थुतिएका खजना वापत निस्कस्थ्ये यस्ता वाक्य । पट्याईएको खजनाको तह खोलेर पानामा रुपान्तर गर्न नि धौ भएपछि त्यसलाई नयाँ पात्रोको संज्ञा दिइन्थ्यो ।
एकै दिन कति नयाँ पात्रो आए । त्यो पनि गणना गर्न नै नसकिने गरेर । माहौल रमाईलो थियो । सार्नेलाई लुकाएर सारेकोमा र थुत्नेलाई लुकाएको थुत्नमा धेरै आनन्द मिल्थ्ये ।
नेतागिरीको भुमिका पनि बडो अनौठोको हुने । भनसुन लाग्ने । त्यो पनि पक्का वाला । यसो कक्षामा आईदिएर फलानोको विचार गर्नु भनेर गईदिए पछि गार्ड बसेकाहरु ती फलानोले जे गरेपनि वास्तै नगरिदिने । आफ्नो सीटमा बसे नबसेको कुनै मतलब नै नहुने । के सारेछ कति सारेछ देखेको नदेखै हुने ।
फलानो भन्न कोही नआईदिएकाहरु चाँही यसो मन लागेर साथी नजिकमा बसे भने आफ्नै सीटमा सरुवा हुनुपर्ने । हुनेखाने र गर्न सक्ने कै मात्र परीक्षा जस्तो । पढ्न सक्नेको होईन् । एक जना खजना नलैजाने भन्दै थिईन् –‘आफुले पढ्यो, अरुले त्यसरी सार्छन् के परीक्षाको महत्व लाग्नु’



Friday, December 26, 2014

एलियन ‘पीके’


 गुमाउनु । संघर्ष । सफलता । सामान्य विषयवस्तुको उपलब्धी उत्कृष्ट ।
माया । प्रेम । अफेयर । एकआपसमा जेलिएर कसिएको विशिष्ट ।
हरेक संवाद हाँस्यास्पद र गहिरो भावमा जोडिएको छ पीकेमा । दुःख र समस्याको उन्मुक्ती, खुशी र हाँसोको खोजीमा अडिएको कथावस्तु । ईश्वरको खोजीलाई सामान्य र सरल अनि मिहिन प्रस्तुतीकरणले उत्कृष्ट बनाएको छ पीकेलाई ।
मानिसको अध्ययन गर्न अर्कै ग्रहबाट आएर फर्किन नपाएको एलियन र एलियनको संघर्षका क्रममा उसँग जोडिन आउने पात्रहरुको प्रस्तुतीको वरिपरि घुमेको कथाले क्षणिक मनोरञ्जन मात्र पस्किएको छैन । साझा सन्देश पनि पस्किएको छ । धर्म र धर्मसँगै जोडिएका व्यवहारलाई केलाईएको छ ।
मानिसका दैनिकी जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय नै पीकेको प्रमुख कथा बनेको छ । त्यही कथालाई राजकुमारी हिरानी र विधुविनोद चोपडाको जोडीले उत्कृष्ट बनाएर प्रस्तुत गरेको छ । थ्री इडियट्स बाट वाहवाही बटुलेको पाँच वर्षको अन्तरमा यो जोडीले बनाएको यो फिल्म दर्शकले थ्री इडियट्स जस्तै मन पराएका छन् ।  
 फरक अनि जीवनलाई गति दिने सन्देशलाई प्रस्तुत गर्ने कलाकारको छवि बनाएका आमिर खान पीकेबाट सफलताको अर्को एक खुड्किलो उक्लिएका छन् । छोटो भुमिकामा देखिएका कलाकार सबैको प्रस्तुती उत्कृष्ट रहेको छ ।
पीके बौद्धिक श्रेणीको उत्कृष्ट फिल्म बनेको छ । फरक शैलीको प्रस्तुतीले फिल्मी क्षेत्रमा फरक फिल्मको रुपमा पीकेलाई स्थापित गरेको छ । पीकेले दर्शकलाई मनोरञ्जन मात्र दिँदैन । छुट्टै सन्देश दिन पनि सफल भएको छ ।
आमिर खानको फिल्म भन्ने बित्तिकै दर्शको अपेक्षा नै फरक हुन्छ । रमाईलो मात्र होईन् केही विशेष हुन्छ भन्ने आम दर्शकको धारणालाई फिल्मले मर्न दिएको छैन ।

Tuesday, November 18, 2014

उनी अामा

उनी दाउराको भारी मिलाउँदै थिईन् । उनको के कुराले मेरो ध्यान तान्यो । मेशो भएन । र पनि उनको फोटो खिच्न मन लाग्यो । ब्यागबाट क्यामेरा झिकेर उनको नजिक गएँ । उनी उभ्याईएको दाउराको भारीमा बाँकी रहेका दाउरा माथिबाट राखेर मिलाउँदै थिइन् ।
दाउरा लिन आउनु भएको हो, आमा ! मेरो प्रश्न सोधाईमा उनले उत्तर दिईन् सँधै आम्छु नानी । उनी बोल्दा अगाडीका केही दाँत झरेकाले थोते देखियोे । मिठाई खानुहुन्छ ?? मैंले अर्को प्रश्न सोधें । खान्छु नी उत्तर आयो । रसवरी भएको प्याकेट उनको हातमा राखिदिएँ ।
उनको आँखा रसायो । नानीले माया गरेर दिएको खान्छु नी भन्दै चोलोको खल्तीमा राखिन् । आमाको फाटो खिच्छु है मैंले सोधें । स्विकृती पाएपछि केही फोटाहरु खिचें ।
नारायणगढ नारायणी किनार छेउमा घर भएको उनले बताईन् । उमेर ९० वर्ष । ‘९० सालको भुइँचालो जाँदा छोरी १८ वर्षकी भई भन्थे’ जन्मेको साल भन्न सकिनन् । ११ वर्षे उमेरमा विहे भएको उनले बताईन् । घर, माईतीका पीडा, ६ छोरा र २ छोरीकी आमा भएर भएर पनि भोगिराख्नु परेको दुःख सुनाईन् । छोरीहरुले सँगै बस्न बोलाए पनि कुटुम्बको घर जान नहुने उनले बताईन् ।
छोरा र छोरी एउटै होईन् र ?? मेरो प्रश्नमा उनले भनिन् समाजले राम्रो मान्दैन नी नानी ।। कहिलेकाँही धाएर जाँदा उनारको राम्रो देख्छु । यहीमा खुशी लाछ ।
म उनीबाट बिदा भएँ । अलि पर आएर फर्केर हेर्दा उनी खुशी मानेर रसवरी खाँदै थिइन् । मनमा एक प्रकारको आनन्द भरिएर आयो । दिउँसो एउटा पत्रकार सम्मेलनमा जाँदा दिईएको खाजाको प्याकेट थियो त्यो ।
देवघाटको बागेश्वरी नजिकै ती आमालाई भेटेको थिएँ । उनको उमेर ठ्याक्कै कति थियो त्यो अन्दाज गर्ने सकिन । दुब्लो पातलो अनि होचो कदको उनको शरीरमा बुढ्यौलीको रेखा प्रत्यक्ष देखिएको थियो । घरपरिवारका सदस्यसँग बसेर आराम गर्ने उमेरमा उनी वनजंगल चहारी राखेकी थिईन् । कति होलान् यस्ता आमाहरु जो छोराछोरी भएर पनि एक्लिएका, वृद्ध अवस्थामा खान, लाउनको लागि पसिना बगाईरहेका छन् ।


Monday, September 22, 2014

मैदानमा रौतहटको राज

नारायणगढ । रातो, निलो, खैरौ जर्सीले नारायणगढको सिनारियो नै बदलिएको छ । मध्यान्ह्को घाम घर्कर्दै गर्दा यिनै जर्सीमा समेटिएका उनीहरु नारायणगढको क्याम्पाचौरमा हुन्छन् । कोही मैदानमा उत्रिन्छन् । कोही बाहिर बसेर सपार्ट गर्छन् । नारायणगढमा जारी रहेको वेष्टर्न युनियन महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिताले नारायणगढको माहौल फुटबलमय बनेको छ ।
प्रतियोगितामा आर्मी, प्रहरी र शशस्त्रका तीन विभागीय टिम र पाँच विकास क्षेत्रका पाँच क्षेत्रिय टिम उपाधीको लागि भिडीरहेका छन् । विभागीय टिमसँग दह्रो प्रतिस्पर्धा गरिरहेका टिमहरुमा मध्यमाञ्चल टीमको चर्चा छुट्टै छ । प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्ने तीन विभागीय टीमसँगै मध्यमाञ्चल टीम पनि परेको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल प्रहरीको विभागीय टीमसँग एक गोलले हार बेहोरेको मध्यमाञ्चल टीमले पुर्वाञ्चललाई दुई –एकको गोल अन्तरले पराजिय ग¥यो । त्यस्तै मध्यपश्चिमाञ्चललाई चार – शुन्यको गोल अन्तरले पछि पार्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
फुटबलमय माहौलमा मध्यमाञ्चलको प्रतिनिधित्व गर्ने रौतहटको चर्चा चुलिएको छ । चर्चा चुलिनुमा पनि एक मात्र कारण छ । भैरहेको प्रतियोगितामा मध्यमाञ्चल टिममा सहभागी भएका १८ खेलाडी मध्ये १५ जना रौटहटका छन् । २ चितवनका र १ पर्साका खेलाडी टिमसँग जोडिएका छन् । खेल हुँदा मैदान उत्रने भने सबै रौतहट कै हुन्छन् । टीमले गरेको प्रदर्शनले फुटबलप्रेमीहरुको सहानुभुति पाएको छ । साथै, प्रंशशित बनेको छ ।
फुटबल खेल महिलाहरु थोरैले मात्र खेल्छन् त्यसमा पनि एउटै ठाउँबाट यति धेरै जना सहभागी भएर खेल्नु रौतहटको लागि गौरवको कुरा भएको छ ।  आफ्नो ठाउँ र क्षेत्रको नामले फुटबल खेल्न पाउनु गौरवको कुरा भएको टीमकी क्याप्टेन सुनिता योञ्जन बताउँछिन् । १६ वर्षीय उनले ९ वर्षको उमेरदेखी फुटबल खेल्न थालेकी हुन् ।
सुनिताको गाउँघरको माहौल नै फुटबल मय छ । केटीहरु पनि हरेक दिन रमाईलोका लागि फुटबल खेल्न मैदान पुग्थे । उनलाई पनि त्यहि माहौलले आकर्षित ग¥यो । ‘गेम खेलेर घुम्न पायो, साथीहरु चिन्न पायो’ उत्साहित हुँदै उनले फुटबलप्रतिको मोह बस्नुको कारण खुलाईन् । फुटबल खेल्न कै लागि उनी पुर्वी नेपाल ईलामदेखी देखी पश्चिम धनगढीसम्म पुगेकी छिन् । १० कक्षाकी विद्यार्थी उनी फुटबललाई नै आफ्नो करियर बनाउन चाहन्छिन् ।
टिमकी अर्की सदस्य एलिसा जिम्बा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा सहभागी भएकी छिन् । हालै मात्र श्रीलंकामा भएको एशियन क्षेत्रिय गेम नेपालले जित्दै गर्दा उनले मोष्ट भ्यालुएवल प्लेयरको उपाधी जितिन् । देशभित्र भएका प्रतियोगिताहरुमा पनि उनले बेष्ट फरवार्डको उपाधी पाएकी छिन् । घरमा एलिसाका बुबा र दाईले पनि फुटबल खेल्छन् । घरका अग्रजहरुको प्रेरणा र प्रोत्साहनले नै फुटबल खेल्न थालेको उनी बताउँछिन् । ‘फुटबल खेल्नु रमाईलो र राम्रो छ’ कक्षा ९ की विद्यार्थी उनले भनिन्–‘पढाई र फुटबल दुवैलाई सँगै लैजान्छु ।’
टीमका प्रशिक्षक शेरबहादुर दर्लामीका अनुसार रौटतहमा महिला फुटबलर त्यत्तिकै अघि बढेका छैनन् । संघर्ष गरेर नै सफल भएको उनी बताउँछन् । घरबाट बाहिर निस्केर फुटबल खेलमा महिलाले गरेको प्रर्दशन सफल हुन थालेपछि परिवारले पनि महिला तथा बालिकाहरुलाई फुटबल खेल्न प्रोत्साहन गर्न थालेको उनले बताए ।
फुटबल खेल्न सहभागी किशोरी सबै निम्न र मध्यम वर्गका छन् । धेरै जसो आदिवासी जनजाति समुदायका छन् । ‘आर्थिक अवस्था कमजोर छ । लैङ्गिक भेदभाव छ । घरपरिवारको अवरोध छ ।’ प्रशिक्षक दर्लामी भन्छन्–‘ र पनि मेहनत गरेर अघि बढेका छन् ।’
प्लान नेपाल र चन्द्रनिगाहपुर फुटबल क्लबको समन्वयमा महिला फुटबलरलाई प्रशिक्षण दिने गरिएको छ । हरेक वर्ष ५० जनाको हाराहारीमा नयाँ अनुहारका बालिका तथा किशोरीहरु फुटबल सिक्न आउने गर्छन् । उनीहरुलाई दिईने नियमित प्रशिक्षणबाट छनौट भएका खेलाडीले रौतहटको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने गरेका छन् । प्लान नेपालले महिला फुटबल कै लागि भनेर वार्षिक ३ लाख रुपैयाँ रकम दिने गरेको छ ।
त्यही रकमले प्रशिक्षक र सह प्रशिक्षकलाई तलबको व्यवस्था गर्ने तथा खेल सामाग्रीको व्यवस्थापनमा खर्च जुटाईने गरिएको छ । प्लान नेपालले ८ लाख खर्च गरेर महिला फुटबलरको लागि एट्याज बाथरुम सहितको चेन्जिङ रुम बनाई दिएको छ । जसले खेल खेल्न महिला खेलाडीलाई सहज भएको दर्लामीले बताए ।
रौतहटका महिला फुटबलरले अन्तर मावि राष्ट्रिय फुटबल प्रतियोताको उपाधी तीन पटक जितेका छा् । अहिले पनि प्रतियोगिता जितेर यो लिग खेल्न टोली काठमाण्डौंबाट सिधै चितवन आएको हो । क्लोज क्याम्प केही नभई प्रतियोगितामा सहभागी हुन आए पनि खेलाडीमा आत्मविश्वास दह्रो रहेको छ ।
  नियमित प्रशिक्षण तथा मैत्रीपुर्ण खेलहरुको अनुभवले नै टोली गर्व गर्ने ठाउँसम्म आईपुगेको दर्लामीले बताए । खेलाडीको लागि आम्दानी हुने कुनै स्रोत छैन । र पनि टुर्नामेन्टमा सहभागी भएर जितेको प्राईज मनी खर्च कटाएर टीमले खेलाडीलाई बाँड्ने गरेको छ । जसले खेल खेल्न हौसला मिल्ने उनी बताउँछन् ।  टीमले एक वर्षमा एक पटक मात्र खेलाडीलाई खेल सामाग्री दिने गरेको बताउँदै उनी भन्छन् –‘त्यतीले त पुग्दैन । अहिले घरपरिवारले नै सामाग्री दिएर खेल्न पठाउँछन् ।’
   रौतहटले महिला फुटबलमा गरेको प्रतिनिधित्व लोभलाग्दो बन्दै गएको छ । अञ्जली वाइबा, नमिता दली, सुधा थोकर, अनु लामा, लक्ष्मी पौडेल लगायतका खेलाडी अहिले पनि राष्ट्रिय टीममा रहेको प्रशिक्षक दर्लामी बताउँछन् । विभागीय टीममा पनि रौतहटकै महिला फुटबलर बढी छन् । फुटबलमा राम्रो पर्दशन गर्न सक्षम रौतहटका २० बढी खेलाडी आर्मी, पुलिस तथा शशस्त्रको टीममा सहभागि भएर फुटबल खेलिरहेको उनले बताए । भर्खरै श्रीलंकामा भएको एशियन क्षेत्रिय गेम नेपालले जित्यो । त्यसमा सहभागी हुन गएका १६ जना खेलाडी मध्ये ५ जना रौतहटका नै थिए । ‘प्रोत्साहन भएको छ । प्रेरणा मिलेको छ । नाम र दाम कमाउन सकिन्छ । देशको नाम राख्न सकिन्छ भन्ने सबैमा छाप परेको छ’ रौतहटकै महिला खेलाडी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी हुन थालेपछि फुटबलको माहौल विस्तारै बन्दै आएको प्रशिक्षक दर्लामी बताउँछन् ।


Thursday, August 7, 2014

सिद्धार्थ पढ्दा

‘संसारमा देखिएका सम्पुर्ण दृष्यहरु भ्रम हुन्, फगत दुर्गन्धित भ्रम । अन्नतोगत्वा नष्ट हुने क्षणिक भुलभुलैया बाहेक अरु केही होइनन् । वस्तुतः संसारको वास्तविक नियती नै फगत् दुःख हो र जीवन भन्नु नै पीडाहरुको शृङखला हो ।’
हर्मन हेस्सेले लेखेको उपन्यास ‘सिद्धार्थ’ का पंक्ति हुन् यि । सन् १९२२ मा लेखिएको यो किताबले १९४६ मा नोबेल पुरस्कार पाएको थियो । अंग्रेजी साहित्यको यो किताब शुशिल शर्माले नेपालीमा भावानुवाद गरेका छन् ।
केही वर्षअघिदेखी यो किताब पढ्ने इच्छुक थिए । कहिलेकाँही काठमाण्डौं हानिएका बेला केही किताब पसलमा खोजेको थिए । खोज्दा नेपालीमा पाईए । अंग्रेजीमा नै भएको पढ्न पाए अंग्रेजीको ज्ञान केही बढ्छ की भन्ने लोभ मलाई थियो । त्यसैले नेपालीमा किनिएन । किताबको प्रशंशा केहीबाट सुनेको पनि थिए । त्यसैले पढ्ने उत्सुकता बढ्दो थियो ।
त्यही उत्सुकतालाई यो वर्ष गएको आफ्नो जन्मदिनले पुरा गरिदियो । जन्मदिनकै दिन उपहारको रुपमा किताब हात परेको थियो । अँग्रजीमा लेखिएको पढ्ने चाहनालाई नेपालीमा लेखिएको किताबले पुरा गदै थियो । उत्साह, जिज्ञाशा र असन्तुष्टिका प्रश्नहरुको उत्तर खोज्दै हिँड्ने युवाको जीवनकालका महत्वपुर्ण कार्य र अनुभवलाई किताबले समेटेको छ ।
आफुभित्रको तृष्णा, इच्छा, आकांक्षा, राग देष अनि सुख र दुःखका अनुभुतिबाट पुर्णत मुक्त हुने.......सिद्धार्थले आफ्नो जीवनको युवा अवस्थासम्म आइपुग्दा नियालेका चित्रणहरु यिनै थिए । उनी आफ्नै जीवनसँग सिक्दै थिए ।
आफ्नो सिकाई र अनुभुतिलाई खार्न आलिसान जीवनबाट सन्यासी हुनु उनको जीवनको एक विशेष निर्णय थियो । ब्राह्मण पुत्रको रुपमा धर्तीमा आएका उनले श्रवण जीवन अंगिकार गरे, त्यागे, कमलाको यौवनमा लिन भए, मनुष्यको बीचमा रहेर दुनियाँ बनाए, अनि नदि किनारलाई जीवन बनाए, माझिकोे सामिप्यता स्विकार गरे, छोराको मायामा पुर्णता डुबे, अनि सबैबाट टाढा भएर शान्त बने । सिद्धार्थ यसरी नै आफ्नो जीवनलाई डो¥याउँछन् । मात्र शान्तिको खोजीमा ।
घरपरिवार, साथिभाई, श्रवण, गौतमबुद्ध, कमला, माझी, रुख। नदी, ढुङ्गा, छोरा सबैबाट उनले केही न केही सिकेका छन् । ‘प्रत्येक पल हामी मरिरहेका छौं र प्रत्येक पल हामीले नवल जिवन पाइरहेका छौं’ जीवनको यथार्थलाई सिद्धार्थको खोजीले यसरी प्रष्ट्याएको छ ।
समयको अन्तराल भन्नु नै केवल भ्रम मात्र हो । यही भ्रमको वशिभुत हुनाको कारण हामीले समयलाई भुत, भविष्य र वर्तमानमा विभाजन गर्ने गर्दछौं । तर भुत र भविष्य भन्नु नै वस्तुतः भ्रम मात्र हुन् । समयको बीचमा हामीले कारेका यही विभाजनका रेखाकै कारण संसार र मोक्ष, दुःख र सुख, जीवन र मृत्युबीच हामी विभाजन देख्दछौं । यी विभाजनहरु केवल हाम्रा विचारका उपज मात्र हुन् । अन्यथा अस्तित्वका सम्रग कुराहरु अभिभाज्य छन् । र, जे छन् अहिले यहाँ हाम्रा दृष्टि सामु छन् ।


मानिसको आफ्नो जीवन नै एक किताब हो जसबाट हरेक दिन मानिसले सिकिरहेको हुन्छ । यो किताबले सिकाएको कुरा नै यहि हो । कुनै पनि कुराको स्वरुप चीरस्थायीकालका लागि कायम नरहनु नै त यो अस्तित्वको विशेषता र सुन्दरता हो ।

Sunday, June 29, 2014

आँप र रमाईलो बाल्यकाल


‘ड्याङ्ग’ टीनको छाना र रुखबाट झरेको आँपको दाना बीचको आवाज आयो । खाना बनाउँदै गर्दा म तर्सिए । आँफैलाई हाँसो लाग्यो । आँपको दाना झर्दा पनि कस्तो तर्सिए छु । अनि सम्झिन थालें विगतका वर्षहरुमा आँपसँग बिताएको समय र आँपसँगको अतित पनि मेरो सम्झनयोग्य नै छ । मैंले थाहा पाएदेखी नै मेरो घरमा आँपका दुई ओटा बोट थिए । टन्नै फल्ने । खाएर नसकिने । केही वर्षअघि रोपेको अर्को बिरुवा पनि फल्न थालेको बर्षहरु नाघिसक्यो । अहिले तीन वटा छ ।
असारः आँप पाक्ने महिना अनि हाम्रो स्कुल बिदा हुने महिना पनि । यस्तो लाग्थ्यो यो महिना आँप खानको लागि नै स्कुल बिदा भएको हो । बिहान आँखा खुलेदेखी बेलुका निन्द्रामा नपुगेसम्म दोस्ती नै आँपसँग हुन्थ्यो ।
हावाहुरी र पानीसँगै राति खस्ने आँपले त कति पटक निन्द्रा नै व्युझाएको छ । राती टिनको छानामा आँप खस्दा आउने आवाजले ब्युझिँदा लाग्थ्यो, आज आँप धेरै खसेको छ । अहिले बटुल्न जाँउ की । अनि बिहान उठ्ना साथ हातमुख धुने काम भन्दा अघि हुन्थ्यो । आँप बटुल्ने काम । आँपका रुखमुनीका साना घाँस पन्छ्याउँदै आँप बटुल्थ्यौं । खोजी खोजी आँप बटुल्ने काम हुन्थ्यो ताकी चाहेर पनि आँप कतै नछोडियोस् ।
बाटा, बाल्टी आँपले भरिन्थ्यो । हामीले बटुलेका आँपहरु आँप नहुनेहरुको घरमा पुग्थे । आँपले भरिएका बाटा, बाल्टी खालि हुन्थे । अर्को बिहान हामी त्यसरी नै भर्ने गथ्यौं । यसरी आँप झर्ने क्रम र हामीले बटुल्ने क्रम आँप नसकिदाँसम्म चलिरहन्थ्यो । हाम्रो दिन नै सुरु हुन्थ्यो सबैभन्दा पहिला आँपको स्वाद लिएर । घरमा नै बसे त आँप खान टुट्थेन । घर बाहिर खेत बारी कतै जानु परे पनि आँप नखाई बस्थेनौं । बारीमा जानुपर्ने होस् या घरबाहिर कतै हातमा आँपको दाना लुकेका हुन्थ्ये ।
बिहान र साँझको समयमा खेतबारीमा लागेपनि दिउँसो त घरमै भईन्थ्यो । अनि घर भनेको नै आँपको रुख हुन्थ्यो । आँपको रुपमा चढ्यो । टिप्यो । अनि बोटमा नै बसेर खायो । रुखमा चढेर आँप खानेमा बहिनीसँग मेरो झगडा नै हुन्थ्यो । एउटा हाँगामा बहिनी चढे म अर्को हाँगामा चढ्थे । आँपको रुखको हाँगा भागवण्डा हुन्थ्यो । एउटाले बढि खायो भने अर्कोलाई त्यो भन्दा बढि खानुपर्ने । एक दिनमा नै कति आँपका दाना खाएर सक्थ्यौं । गिन्ती नै छैन ।
अनि कतिखेर लौरो लिएर आमा लखेट्न आईपुग्नु हुन्थ्यो हाम्रो भागाभाग हुन्थ्यो । गाउँतिर एकछिन हरायो अनि घर फर्कियो । हाम्रो घरमा फल्ने आँप पनि अचम्मकै छ एक वर्ष विराएर फल्छ । एक वर्ष टन्नै फल्ने अनि अर्को वर्ष एउटा, दुईटा हाँगामा भन्दा नफल्ने । अनि रुख चढेर आँप खान पनि एक वर्ष विराउनुपर्ने । र पनि आँपको सिजन धेरै रमाईलो हुन्थो ।
यसरी आँप खाने क्रम एसएलसी सक्दासम्म चल्यो । त्यसपछि भने घर बाहिरको बसाइँ भयो । कहिलेकाँही घर पुग्दा पहिला जसरी आँप खाने मेशो नै नमिल्ने । यो वर्ष भने आँपको रुखमा चढ्ने मेशो मिल्यो । रुखमा नै बसेर आँप नखाए पनि आँप झार्ने काम भने गरियो ।

Thursday, May 29, 2014

स्ट्याचुः काला प्रतिबिम्ब


स्ट्याचु, मन र दिमागमा एकैपटक यो शब्दले क्लिक ग¥यो । सेकेन्ड मै रियालीटि नै हो भनेर क्लिक भयो । छेउमै बसेको म हातमै रहेको निकोनको प्युसो क्यामेरा समातेर झरिहाले । क्लिक.... क्लिक... क्लिक... केही संख्यामाा तस्विर खिचें । गाडीमा हुँदा तालको किनारमा प्रष्ट देखिएका तीन काला चित्रहरु क्रमश झाडीमा हराउन थाले ।
जेठ १५ गते बिहीबार एका बिहानै यि सबै घटना मै सँग भएका थिए । लामो समयपछि आजको दिन एका बिहानै उठेको थिए । सौराहाको बसाईमा नवलपरासी, रुपन्देही र चितवनका केही साथीहरु बिहान ५  बजे नै बिसहजारी तालतिर लाग्ने अघिल्लो दिनको सल्लाह अनुसार नै तयार भएको थिए ।
सबै भएर भ्यानमा चढेर सिमसार क्षेत्र तिर लागियो । पिच रोडमा भ्यान कुद्दै गर्दा सुर्यले बादलसँग लुकामारी गर्दै थियो । कहिले आधा छोपिएर, कहिले पुरै छोपिएर अनि कहिले पुरै देखिएर । आफ्नै गतिमा कुदिरहेको गाडीमा बसेर पुर्व तर्फका अग्ला घरहरुलाई छल्दै सुर्यको लुकामारी हेरें । सिमसार क्षेत्र प्रवेश गर्दा घडीले ६ बजाएर अघि बढ््दै थियो । गुरुजीले गाडी चलाएको बाटो मेरा लागि नौलो थियो ।
 बिसहजारी ताल यो भन्दा अघि पनि धेरै पटक पुगेको थिए । तर फरक बाटो गएको थिए । बाटोको दुई छेउमा देखिएका जरायो, मृग, चराहरु हेदै सानो तलाउ भएको ठाउँमा पुग्दा आँखाले देखेका काला तीन प्रतिबिम्ब देखेर अचान स्ट्याचु शब्दले मलाई छोएको थियो ।
तीन काला प्रतिबिम्ब थिए कुमाल तालमा पानीमा रमाएर निस्किएका गैंडा । गाडीबाट झरेर सबैले तस्विर खिच्न थाल्यौं । तालको वारी हामीले हे¥यौं । पारीबाट हामीलाई हेर्दै घाँस चपाउँदै एकछिनमा जंगलभित्र हराए ।
दुई गैंडालाई सँगै त पहिला पनि देखेको थिए । तर, पहिलो पटक तीन गैंडालाई सँगै देख्दै थिए म । उत्साहित भए । पहिलो पटक त्यस्तो दृष्यलाई कैद गर्न पाएको थिए । जुम गर्दै वारीबाट खिचेको तस्विर आँखाले देखेजस्तो प्रष्ट आएन । र पनि सन्तोष मान्ने केही तस्विर बटुल्न सकें । हामी भन्दा पहिला पुगेको एक टोलीले पनि गैंडा देख्न पाएका थिए ।
 गैंडाले जंगलको बाटो समातेपछि हामी पनि बिसहजारी तालतर्फ लाग्यौं । फर्किदैं गर्दा भारतीय पर्यटकले भरिएको जीप र भ्यानको लस्कर लागेको थियो । उनीहरु सोध्दै थिए वनमा के के देख्यौं भनेर । तर हामीले जति देख्यौं उनीहरुले देख्न पाएनन् ।