Tuesday, November 26, 2013

फष्ट पर्सन

 सभ्यता
मनभित्रको कुरालाई खुलस्त भन्ने उनको बानी रैछ । नारायणी उच्च माविको प्राङ्गणमा भेटिदा उनी उत्साहित थिईन् । उत्साह भित्र लुकेको थियो उनले गरेको काम । संविधानसभाको चुनावमा उनले भोट दिएकी थिईन् । भरतपुर १० की सभ्यता खनाल (२६) ले यस पटकको निर्वाचनमा भरतपुर १० मा रहेको नारायणी उच्च माविबाट मतदान गरिन् ।
संसारको सुन्दरतालाई आँखाले कैद गर्न नसक्ने उनले सहयोगीको सहयोगमा भोट दिईन् । यसअघिको निर्वाचनमा पनि सहभागी भएकी उनलाई यो पटक भोट दिन जाँदा पहिले जस्तै असहज महशुस भयो ।
अघिल्लो पटक पहिलो चोटी भोट दिँदा उनलाई उत्साह लागेको थियो । यसपाली भने पहिले जस्तो उत्साह उनमा थिएन । किनभने यो पटक पनि उनले पहिले जस्तै सहयोगी लिएर भोट हाल्न जानुप¥यो । आफुले दिने गोप्य मत अरुलाई भनेर हाल्न लगाउँदा मतदानको गोप्यता नै रहेन ।
‘आफु फष्ट पर्सन हुन पाईएन’ सहयोगीको साथमा मतदान गर्नुको बाध्यता सुनाउँदै उनले आफ्नो कुरा खोलिन् –‘सेकेन्ड पर्सनलाई विश्वास गर्नु बाध्यता भयो ।’ सप्तगण्डकी बहुमुखी क्याम्पसबाट स्नातक गरेकी उनी आफुलाई एक सक्षम नागरिक भन्न रुचाउँछिन् ।
‘अहिलेसम्म हरेक तहको पढाई मैंले पहिलो श्रेणीमा उत्र्तीण गरेको छु’ सभ्यता भन्छिन्–‘ स्नातकोत्तर पढ्ने तयारीमा छु । घरमा सबै काम गरिराखेको छु ।’ यस पटकको चुनावमा उनले शारीरिक अशक्तहरुको पक्षमा आवाज उठाउने उम्मेदवार र पार्टीलाई भोट दिएकी छिन् ।
आँखा नदेख्नेहरुको लागि पनि विकल्पको व्यवस्था गर्न सकिने उनलाई लागेको थियो । जुन उनले यो निर्वाचनमा पाईनन् । आफु सक्षम भएर पनि मतदानको लागि अरुमा भर पर्नुपर्दा उनलाई अफठ्यारो महशुस भएको हो ।
सभ्यताका अनुसार शारीरिक अशक्तलाई असक्षम बनाउने काम समाजले गरेको छ । समाजले दृष्टिविहीन लगायतका शारीरिक अशक्तलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको उनले बताईन् । २०३९ देखी विद्येयक पारिद गरेपनि शारीरिक रुपमा अशक्त भएकालाई समाजमा समान अधिकार कार्यान्वयनको अवस्था नभएकोले अब बन्ने संविधानले आफुजस्ताको पक्षमा नीति बनाओस् भन्ने उनी चाहन्छिन् ।
लक्ष्मी 
पश्चिम चितवन गुञ्जनगरकी लक्ष्मी सुवेदी (२४) ले पहिलो पटक संविधान सभाको चुनावमा मतदान गरिन् । आमा चौमाया सुवेदीको सहयोगमा गुञ्जनगर उच्च माविको मतदान केन्द्रमा पुगेर मतदान गर्दा उनी उत्साहित देखिईन् ।
‘पहिलो पटक राखेको हो’ मतदान गरेपछि उनले भनिन् –‘खुशी लागेको छ समयमा नै संविधान बन्नुपर्छ’ । सप्तगण्डकी बहुमुखी क्याम्पसको कक्षा ११ पढ्ने उनी संविधानमा आफु जस्ता शारीरिक अशक्तको आवाजहरु पनि समेटियोस् भन्ने चाहन्छिन् ।
सभ्यता र लक्ष्मी जस्तै दृष्टिविहीनहरुले यो पटकको चुनावमा सहयोगीको साथ लिएर भोट दिए । उनीहरुले उत्साहित हुने नेतालाई दिएको भोटको कत्तिको कदर हुनेछ त्यो त आउने दिनमा थाहा नै भैहाल्छ । अर्को हुने चुनावमा भने सभ्यता र लक्ष्मीले सहयोगको सहयोग लिनुपर्ने बाध्यता हुने छैन की ??


Tuesday, August 6, 2013

बढ्दो यौन दुव्र्यवहारको घटना

तारा (परिवर्तित नाम) हुन चाहन्थिन् सबैको सहारा । तर उनी नै अहिले अरुको सहारामा बस्नु परेको छ । पेटमा हुर्कदै गरेको शिशुको सहाराको लागि । खेल्ने, कुद्ने र दौडने कलिलो उमेर उनको छ । १३ बर्षिया बालिका उनी आफुभित्र अर्को बालकलाई हुकाउँदै छिन् । यौन दुव्र्यवहारको शिकारमा परेर उनी गर्भवती भएकी छिन् ।
दाईको साईनो लगाएर घरमा चिनजान बढाएको मान्छेबाट नै उनी बलात्कृत भईन् । डर, त्रास र धम्कीले आफु माथि भएको दुव्र्यवहार कोहीसँग भन्न सकिनन् । अर्को पटक पनि त्यही मान्छेबाट बलात्कृत भएपछि मात्रै उनको परिवारले थाहा पाए । मासिक रुपमा भैरहेको महिनावारीले पनि तारालाई आफु दुई जीउकी भएको पत्तो नै भएन ।
बढ्न थालेको पेटले उनको परिवारलाई झस्कायो अनि जाँच गर्दा गर्भ बसेको थाहा भयो । गर्भको शिशुले छ महिना पुरा गरिसकेपछि मात्र तारालाई महशुस भयो की आफु दुई जीउकी भएको छु । ८ कक्षाकी विद्यार्थी ताराले गर्भवती हँुदाका लक्षणहरु किताबमा पढेकी मात्र थिईन् । अहिले आफुले नै महशुस गर्नु बाध्यता बनेको छ ।
कक्षामा प्राय पहिलो र दोस्रो हुने उनको पढाई रोकिएको छ । दुई महिनादेखी उनी एक संस्थाको आश्रयमा छिन् । डाक्टरले उनलाई एक महिनापछि प्रसुती हुने समय दिएको छ । आफु माथि भएको घटनाले उनलाई छट्पटि गराउँछ । आफुलाई दुव्र्यवहार गर्ने माथि आक्रोश र रिस उठ्छ । भन्छिन् –‘त्यसले सजाय पाओस्, अरुलाई फेरी यस्तो गर्न नसकोस् ।’
त्यो घटनाले उनलाई कम बोल्ने बनाएको छ । खुलेर कुरा गर्न नसक्ने भएकी छिन् । समय कटाउन हस्तकलाका सीपहरु सिकेकी छिन् । विद्यालयकी जेहेन्दार छात्रा उनको कक्षा ७ बाट पास हुँदा ९२ प्रतिशत अंक ल्याएर तेस्रो भएकी थिईन् । अब पनि उनी आफ्नो पढाईलाई निरन्तरता दिन चाहन्छिन् । पढेर प्रहरी हुन्छु भन्छिन् । अनि अपराधी कार्बाही गर्ने तारा बताउँछिन् ।
परिवारमा सबैसँग घुलमिल भैसकेको एउटै वडामा बस्ने विवाहित पुरुषबाट उनी बलात्कृत भएकी हुन् । पुर्व लडाकु रहेका २५ वर्षे ती पुरुषले डर र धम्की देखाएर तारासँग यौन शोषण गरे । घरमा कोही नभएको मौकामा बन्दुक देखाएर आफुसँग जबरजस्ती गरेको ताराले बताईन् । जसको पीडा कम गर्न ताराले धेरै कष्ट भोग्नु परिरेहेको छ ।
जवरजस्ती करणी गरेको आरोप लागेका ती पुरुष अहिले पुर्पक्षका लागि जिल्ला कारागार भरतपुरमा छन् । बालिका बलात्कृत भएर गर्भवती भएको केश अदालतको इतिहासमा नै पहिलो पटक आएको सहायक जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्मा बताउँछन् । अदालतसम्म आईपुगेको जवरजस्ती करणीमा परेर गर्भवती भएको घटनाको बारेमा बताउँदै शर्माले भने – ‘बालिका मात्र नभएर महिलाको केशमा पनि यो पहिलो हो’ ।
ताराको जस्तो केश जिल्लामा एक मात्र भएपनि महिला तथा बालिका माथि हुने गरेको यौन दुव्र्यवहारको घटनाहरु भने बढेका छन् । गएको आर्थिक वर्ष चितवन जिल्ला अदालतमा ४७ वटा करणीका मुद्धाहरु दर्ता भएका छन् भने आर्थिक ०६८÷०६९ मा ४२ र ०६७÷०६८ मा १७ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । जिल्ला अदालतको तथ्याङ्क अनुसार पनि पछिल्लो वर्षहरुमा बलात्कारको घटनाहरु बढेको पाईन्छ ।
चितवन जिल्ला अदालतका श्रेस्तेदार दिनबन्धु बरालका अनुसार चितवन जिल्ला अदालतमा दर्ता भएका करणीका मुद्धाहरुमा अधिकांश प्रमाणित हुने गरेको छ । जुन तथ्याङ्कले पनि जवरजस्ती करणीका घटनाहरु बढेको पुष्टि गर्छ । दोषीलाई सजायँ हुदाँ पीडितलाई मनौवैज्ञानिक रुपमा पनि न्याय मिल्ने भएकोले अदालतमा जवरजस्ती करणीका मुद्धाहरुको संख्या बढेको श्रेस्तेदार बराल बताउँछन् ।
जलकुम्भी
यौन दुव्र्यवहारको शिकार महिला मात्र नभएर बालिकाहरु पनि हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष ०६९÷०७० मा यौन दुव्र्यवहार सम्बन्धी २५ वटा मुद्धा दर्ता भएका छन् । दर्ता भएका मुद्धाहरु मध्ये आधा भन्दा बढी बालिका माथि भएको यौन दुव्र्यवहारको रहेको छ ।
यस आर्थिक वर्षमा कुल २५ वटा यौन दुव्र्यवहार सम्बन्धी मुद्दामा १७ वटा जवरजस्ती करणी (जजक) र ८ वटा जवरजस्ती करणी उद्योग (जजकउ) सम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको छ । यसरी यौन दुव्र्यवहारमा पर्ने बालिकाहरु ४ वर्ष देखि १५ वर्षसम्मका रहेका छन् । यौन दुव्र्यवहार गर्नेमा १४ वर्षका बालकदेखि ६८ वर्षका वृद्धसमेत रहेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका अनुसार उल्लेखीत २५ मुद्दामा १९ जना बालिका यौन दुव्र्यवहारको शिकार वनेका छन् । २ वटा घटनामा २–२ जना बालबालिका यस्तो व्यवहारको शिकार वनेका छन् । बालिका माथिको यौन दुव्र्यवहार घटनामा १४ वर्षका २ बालकको समेत संलग्नता पाइएको छ । बालक भएकाले आवश्यक प्रक्रिया अपनाएर उनीहरु छुटिसकेको प्रहरीले जनाएको छ ।
मंसीर ७ गते वर्ष ९ र ८ की एकै घरकी दिदी वहिनी माथि जवरजस्ती करणी भएको मुद्धा जिल्ला प्रहरी कार्यालयमा दर्ता छ । घटनाको पीडक दिव्यनगरका वर्ष १४ को विकास (नाम परिवर्तन) ले एकै दिन दिदिबहिनीलाई जवरजस्ती करणी गरेका थिए । घटनामा संलग्न भएको पाईए पनि बालक भएकाले कानुनीे कार्बाही गरिएन । आवश्यक प्रक्रिया पुरा गरी विकास छुटेको प्रहरीले जनाएको छ । गत भदौ २ गते ११ वर्षकी बालिकामाथि १४ वर्षका श्याम –नाम परिवर्तन) ले जवरजस्ती करणी गरेको मुद्दामा पनि बालक भएकाले उनी पनि छुटिसकेका छन् ।
०६९ को साउनमा भरतपुरकी १४ वर्षीय बालिका सीमा (नाम परिवर्तन) पनि बलात्कृत भईन् । सीमा माथि भएको यौन दुव्र्यवहारको घटनाको जिल्ला अदालतले फैसला गरिसकेको छ । सीमालाई जवरजस्ती करणी गर्ने रत्ननगरका टेकमान गुरुङलाई अदालतले ८ वर्षको कैद सजाँय र ५० हजार क्षतिपूर्तिको फैसला सुनाएको छ । त्यस्तै सोही साउनको १९ गते भरतपुरकै ५ वर्षकी बालिका माथि जवरजस्ती करणी उद्योग गरेको आरोप लागेका वर्ष ६८ का शेरबहादुर थापा मगरलाई जिल्ला अदालतले ५ वर्षको कैद फैसला गरेको छ ।
सन् २००१ मा आइएलओले सडक बालबालिका माथि हुने गरेको यौन दुव्र्यवहारको बारेमा अध्ययन गरेको थियो । जुन अध्ययनले ६७ प्रतिशत सडक बालबालिका यौन दुव्र्यवहारको शिकार वन्ने गरेको तथ्याङ्क सार्वजनिक भएको थियो । सन् २००८ मा भने यौन दुवर्यवहारमा पर्ने सडक बालबालिको संख्या ८० प्रतिशत पुगेको पाईन्छ । त्यस वर्ष भ्वाइस अफ चिल्डे«न नामक संस्थाले गरेको अध्ययनमा ८० प्रतिशत सडक बालबालिकाहरु कुनै न कुनै हिसावले यौनदुव्र्यवहारको शिकार वन्ने गरेको तथ्याङक सार्वजनिक गरेको थियो । त्यस्तै सन् २००५ मा सीविन नेपालले देशका विभिन्न शहरमा गरेको एक अध्ययनले ४५ प्रतिशत बालबालिका आफू कुनै न कुनै हिसावले यौनदुव्र्यवहारको शिकार वन्ने गरेको तथ्याङक सार्वजनिक गरेको छ ।

(सञ्चारिका फिचर सेवा मध्यमाञ्चलको अगष्ट अंकमा प्रकाशित)

Wednesday, June 26, 2013

पीडालाई हराउँदै


हुर्किदैं गरेकी छोरीको भविष्यको चिन्ताले उनलाई साह्रै सताउँथ्यो । छोरीको पनि आफ्नो जस्तै बेहाल हुन्छ की भन्ने उनलाई लाग्थ्यो । अनिता चेपाङ(३६) को मन हिजोआज भने केही हलुका भएको छ । आफुले प्रेम पछि विवाह गरेको श्रीमान्ले दिएको पीडा केही कम हुँदैछ ।
उनले श्रीमान् कालीबहादुर चौधरीको विरुद्धमा दिएको मुद्धाको फैसला भएको छ । चितवन जिल्ला अदालतले गरेको फैसला अनुसार उनले श्रीमान्को सम्पतिबाट आफ्नो अंश पाएकी छिन् । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटि आएका कालिबहादुरसँग अनिताको १३ वर्ष अघि प्रेम भयो । अनि परिवारको सहमतिमा विवाह पनि गरिन् ।
चितवनबाट सरुवा भएपछि कालीबहादुर भने उनको सम्पर्कबाट टाढिए । सम्पर्क विहीन बनेका श्रीमान्लाई सम्झँदै र छोरी हुर्काउँदैमा उनको वर्षहरु बिते । १२ वर्षीय छोरी सात कक्षामा पढ्ने भएकी छिन् । अदालतले गरिदिएको फैसलाले उनलाई अहिले आफुले न्याय पाएको महशुस भएको छ ।
  माईतीको भरोषामा माडी अयोध्यापुरी ६ मा बसेकी उनी अंश मार्फत पाउने सम्पतीले आफ्नो र छोरीको भविष्यलाई सहयोगी बन्ने उपयोगी मुलक कार्य गर्न चाहन्छिन् । रिटायर्ड भएर सुर्खेतमा बसेका श्रीमान्को उत्तरगंगा गाविसमा रहेको सम्पतिमा अधिकारको लागि सुर्खेद अदालतको कानुनी प्रक्रियाहरु पुरा गरिन् ।
अहिले उनीसँग आफ्नो विहे दर्ता र छोरीको जन्मदर्ताको प्रमाण छ । यसलाई उनी आफुले १२ वर्षदेखी गरेको संघर्षबाट मिलेको सफलता बताउँछिन् । आँट गर्नुपर्छ र पीडा खुलाउन सक्नुपर्छ भन्ने उनले बितेका १२ वर्षमा सिकेकी छिन् । श्रीमान् बहालवाला हुँदै पीडा बताउन र न्यायको पक्रिया बढाउन सकेको भए आफ्नो फैसलामा केही थप हुथ्यो भन्ने उनलाई लागेको छ । त्यसैले उनी पीडा लुकाउन नहुने र संघर्ष गर्न आँट गर्नुपर्ने बताउँछिन् ।
संघर्षले सफलता
विगत सम्झिँदा धनमाया (३३) लाई रुन मन लाग्छ । तर, वर्तमानमा सबै दुःख भुलाएर रमाएकी छिन् । सैनिक श्रीमान् गणेशबहादुरले दिएको दुःख र पीडालाई आँट र संघर्षमा बदल्न सकिन् ।
प्रेम विवाह गरेको श्रीमान्ले नै श्रीमतीको व्यवहार गरेनन् । अर्की बिहे गरे । आफ्नो सन्तानलाई अर्कैको भनेर आरोपसम्म लगाए । एकै छतमुनी बस्दा पनि बोली मिसिन मुस्किल भयो । छोरा र आफु बिरामी हुँदा पनि घरका सदस्यहरुले मानविय नाताले सम्म हेर्दिएनन् । सानो सानो कुरामा पनि छोरा माथि हुने कुटपिटलाई सहँदै सात वर्ष बिताईन् । उनलाई जिन्दगी नै बोझ लागेको थियो । तर, छोराको लागि उनले संघर्ष गर्ने आँट गरिन् ।
छ वर्ष देखी उनी भरतपुरमा छिन् । एक कार्यालयमा फुलबारी संभार र सरसफाईको काम गर्छिन् । ‘पहिला केही किन्नु परेपनि हातमा दुई पैसा हुँथेन, मेलापात गरेर गुजारा गरें’ उनी भन्छिन्– ‘अहिले सबै आफ्नै हातमा छ ।’ छोरा बोर्डिङमा ६ कक्षामा पढ्दै छ । गएको वर्ष उनले खर्च भरपाई पाम् भनेर नेपाली सेनाको मध्यपृतना कार्यालय हेटौंडामा निवेदन दिईन् । कार्यालयले उनको पक्षमा केही निर्णयहरु गरिदिएको छ ।
हरेक महिना उनी श्रीमान्को तलबको तीन भागको एक भाग पाउँछिन् । पेन्सनमा पनि उनको अधिकार सहितको नाम लेखिएको छ । उपचार कार्ड पाएकी छिन् । सेनाको मध्यपृतना कार्यालयले दिलाईदिएको अधिकारले उनको जीवनयापन सहज बनेको छ । धेरै वर्षको संघर्ष पछिको न्यायले उनको जीवनमा रस थपिएको छ । न्यायले जीउन हौस्याएको उनी बताउँछिन् ।
श्रीमान् अहिले शान्ति सेनामा गएका छन् । शान्ति सेनामा गए वापत पाईने सेवा सुविधा पनि आफुलाई दिलाईदिन उनले सेनाको मध्यपृतना कार्यालय हेटौंडामा निवेदन दिएकी छिन् ।
पीडित महिलाहरुको क्षेत्रमा काम गर्ने संस्था प्रभातकिरण सेवा समाजका अनुसार चितवनमा सेनाबाट पीडित हुने महिलाहरु एक सय १३ जना छन् । उनीहरुबाट जन्मेका बालबालिका एक सय ६८ जना छन् ।
उनीहरु मध्ये १९ जना महिलाले सेनाको मध्यपृतना कार्यालयबाट न्याय पाएका छन् । भने चार जनाले अदालती प्रक्रियाबाट न्याय पाएको सेवा समाजका अध्यक्ष छविलाल न्यौपानेले जानकारी दिए । उनीहरुले विवाह दर्ता, छोराछोरीको जन्मदर्ता, श्रीमान्को तलबको तीन भागमा एक आफ्नो अधिकार, सन्तानको पढाई खर्च, पेन्सनमा नाम लेखाउन र उपचारको लागि कार्ड पाएका छन् ।
मध्यपृतनामा ३७ जना महिलाले निवेदन दिएकामा १९ जनाको पक्षमा फैसला भएको हो । बाँकी निवेदनहरुको प्रकृया अघि बढाईएको उनले बताए । ‘बहालवाला हुँदैमा निवेदन दिँदा खोज्न र न्याय पाउन सहज हुनेरैछ’ न्यौपाने भन्छन्–‘सेवा निवृत भैसकेकाको प्रक्रिया अघि बढाउन गाह्रो भएको हामीले पायौं ।’

न्यायको प्रतिक्षामा...
‘केहीले कानुनी रुपमै न्याय पाएका छन्’ सेवा समाजका अध्यक्ष उनले भने–‘छोराछोरीको पढाई खर्च र सरकारबाट सैनिक श्रीमान्ले पाउने सुविधाहरुको केही हिस्सा पाएका छन् । सबै पीडितहरुले कानुनी प्रक्रियालाई अघि बढाउन सकेका छैेनन् ।’
५३ जना महिलाहरु न्यायको प्रक्रियामा जान चाहे पनि आर्थिक अभावका कारण चुपचाप बस्न बाध्य भएका छन् । उनीहरुका १ सय १२ जना बालबालिका छन् । २१ जना उमेर पुगेका बालबालिकको नागरिकता बनेको छैन । उनीहरु नेपाली नागरिक बन्ने पर्खाइमा छन् ।
मोतिका (१८) ले गाविसले सिफारिस गर्दा पनि नागरिकता बनाउन पाईनन् । गाउँमा जिल्ला प्रशासनबाट खटिआएको टोलीमा उनले नागरिकता बनाउन खोजेकी थिईन् । तर, बाबुको नागरिकता नहुँदा उनको नागरिकता बनेन । पछिल्लो पटक डेढ वर्ष अघि बुबालाई भेट्दा नागरिकता बनाईदिन उनले अनुरोध गरेकी थिईन् । त्यसपछि उनको बाबुसँग सम्पर्क नै भएको छैन ।
लमजुङमा बस्दै आएका उनको बाबु भोजबहादुर गुरुङ अहिले काठमाडौंमा बस्छन् भन्ने सम्म सुनेकी छिन् । सानो पसल गरेर गुजारा गर्ने आमा र बहिनीलाई छाडेर बाबुको खोजिमा उनी निस्कन सकेकी छैनन् ।

Sunday, June 16, 2013

पुलिसनी दिदिको टेन्सन


‘कस्तो टेन्सन भाछ आफुलाई’ उनी भन्दै थिईन् । ‘अहिले त मोबाईल पनि अफ छ । बैनी यहाँ वरिपरी आज तास कहाँ खेलेको छ ?’ उनी आफ्नो श्रीमान्को खोज गर्दै थिईन् ।
प्रहरीको पोशाकमा आईपुगेकी ति दिदि भन्दै थिईन् –‘सानो सानो भने पनि व्यवसायमा अल्झाईदिन पाए त हुन्थ्यो नी’  ।
ड्यूटी पछि बासस्थान पुग्न हतारमा रहेकी थिईन् पुलिसनी दिदि । दिउँसो, बिहान र रात नभनी उनी ड्युटीमा खटिनुपर्छ । फुर्सदिला श्रीमान् भने कि क्यारेमबोर्ड खेलेर त कि तासको खालमा बसेर समय बिताउँछन् । श्रीमान्को समय केही उपयोगी कार्यमा सदुपयोग होस् भनेर उनी उपायको खोजिमा थिईन् ।
उनको कुरामा कति मर्म लुकेको थियो । अन्दाज मात्र लगाउन सकें मैंले । घर, परिवार, बच्चा अनि श्रीमान्प्रतिको जिम्मेवारी निभाएर ड्युटी पनि पुरा गर्न भ्याउँछिन् ति पुलिसनी दिदि । कति कष्टकर बनेको होला तिनको समय अनि मन पनि ।
जो एउटा श्रीमान्ले कुनै बाटो समातोस् भन्ने चाहना लिएर हिँडेकी छिन् । श्रीमान्को समय सहि काम लगाउन सके परिवार र आफ्नो लागि मात्र नभएर स्वयं श्रीमान्को लागि पनि राम्रो हुने ति पुलिसनी दिदि बताउँछिन् ।

Sunday, May 19, 2013

सन्तान वियोगले देवघाटको बास



उनीहरु दुवैको दैनिकी परिवर्तन भएको छ । बर्दियाको देउडाकला ९ ककौरा घर भएका उनीहरुले जीवनशैली र बास नै परिवर्तन गरेका छन् । घर छाडेर देवघाट आएका छन् । बिहानदेखी साँझसम्म भजन, किर्तन र प्रवचनमा मन लगाउने प्रयत्न गर्छन् । मनको भारी, दुःखलाई भगवानको आराधनामा लाग्दा केही भुलिन्छकी भनेर उनीहरु देवघाट आएका हुन् ।
 ६४ वर्षीय चेतनाथ र ५६ की सावित्रीदेवी अधिकारीले आफ्नो जीवनमा भएको नचाहेको परिवर्तनसँगै सोचेका थिए अब देशमा पनि परिवर्तन हुनेछ । तर, उनीहरुले सोचे अनुसार देशमा केही परिवर्तन भएन् ।
देशमा भएको एक दशक लामो द्वन्द्वलाई सम्झने हो भने त उनीहरुको मुटु नै चिरिन्छ । सावित्रीका आँखा रसाउँछन् । उनको गला अवरुद्ध हुन्छ । चाहेर पनि बोल्न सक्दिनन् ।
यही द्वन्द्वका क्रममा उनीहरुले आफ्ना दुई सन्तान गुमाए । त्यो पनि छ महिनाको अवधिभित्र । उनीहरुका दुवै छोरा एकै दिन नेपाल आर्मीमा भर्ती भएका थिए ।  ‘देशको सेवा गर्न र जनताको सुखका लागि लड्छु भन्थे दुईटै’ सावित्री भन्छिन्–‘खोई उनीहरुले ज्यान दिए पनि के भा’छ र यो देशमा ?’
उनीहरुको जेठो छोरो धर्मेन्द्र कर्णालीमा भएको दोहोरो भिडन्तमा परेका र कान्छो छोरो कृष्ण घर आएका बेला माओवादीले अपहरण गरेर लगेपछि हत्या गरे भन्ने मात्र उनीहरुले खबर पाएका छन् । दुवै छोराहरुको राम्रोसँग अन्तिम संस्कार पनि गर्न पाएका छैनन् । ‘हड्डी मात्र ल्याएर दे पनि कमसेकम मन शान्त त हुन्थ्यो’ सावित्रीले आफ्नो मनको हुटहुटी पोखिन् ।
उनीहरुको ३५ र ३२ वर्षका छोराहरुले ०६१ सालमा देशको लागि बलिदानी दिए । शरीरमा छर्रा लागेर उपचार गरेर बिदामा घर आएका र निशस्त्र अवस्थामा रहेका कान्छो छोरालाई अपहरण गरेर हत्या गर्नु द्वन्द्वको नियम विपरित भएको चेतनाथ बताउँछन् । छोरालाई अपहरण गरेर लैजाने मान्छेहरु खुलेआम घुमिरहेको देख्दा आफुहरु थप पीडित भएको उनीहरु बताउँछन् ।
‘दुवै छोरा त गए, लाश त होईन हड्डी पनि पाईएन’ चेतनाथ भन्छन् ‘ मार्ने मान्छेहरु खुलेआम घुमिरहेको देख्दा बुढियाले मन थाम्न सकिन्, अनि उसकै लागि भनेर नै हामी दुवै देवघाट आएका ।’ २०६५ सालमा ६७ हजारमा किनेको कुटी नै उनीहरुको घरबास बनेको छ । उमेरले ६० को दशक वरिपरि रहेका दुवैको जीवन अहिले १०१ नम्बरको कुटीमा गुजारी रहेका छन् ।
छोराबुहारी र नातिनातिनासँगै हाँसखेल गरेर जीवन बिताउने उनीहरु सपना पनि देशको द्वन्द्वले खोस्यो । नेपालीलाई पीडा र आँशुमा डुबाउने द्वन्द्व देशमा नभएको भए अधिकारी दम्पती अहिले आफ्नै घर आगनमा रमाईरहेका हुन्थे । बर्दियामा रहेको आफ्नो जग्गा जमिन उनीहरुले बटैया दिनु पर्थेन । भने सावित्री मानसिक रुपमा विक्षिप्त पनि हुन्थिनन् र नियमित औषधी खानुपर्ने अवस्था पनि आउँथेन ।
‘जे त भयो मन त बाँध्नु नै पर्ने रहेछ ।’ निशस्त्र अवस्थामा रहेको छोरालाई अपहरण गरेर लैजाने र हत्या गर्ने दोषीलाई कार्बाही हुन्छ की भन्नेसम्म उनीहरुलाई आशा छ । त्यही भएर आफुसँग रहेका कागजपत्र चेतनाथले सम्हालेर राखेका छन् भने मानवअधिकारका क्षेत्रमा काम गर्नेहरुसँग पनि कुराहरु बुझिरहेका छन् । ‘हाम्रो मन बुझाउने बाटो नै त्यही हो कमसेकम दोषीलाई कार्बाही होस् । अनि हड्डी मात्र बुझेर भए पनि अन्तिम संस्कार विधि पु¥याएर गर्न पाम्’ चेतनाथले मनको कुरो फुकाए ।
राहत अन्तर्गत कान्छो छोराको सात लाख रुपैयाँ पाए । भने सावित्रिको नाउँमा मासिक साँढे छ हजार रुपैयाँ पेन्सन पाउँछिन् । वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको लागि सुविधा पाएका छन् । जेठो छोरा धमेन्द्रको राहत रकम बुहारी र नातिनातिनाले १० लाख पाए । रकमको रुपमा पाएको राहतले उनीहरुको मनको पीडा भने शान्त भएको छैन ।
देशमा १० वर्षसम्म चलेको अशान्ति र द्वन्द्व पश्चात् पनि नेपालीले शान्तसँग जीवन बिताउन नपाएको चेतनाथ बताउँछन् । द्वन्द्वले देश र समाजलाई केही फाईदा नभएको उनको ठम्याई छ । भन्छन् –‘कति नेपालीका छोराछोरी मरे, कोही हराए । सम्पतिहरु पनि क्षती भयो । अनि फाईदा अहिले कुन नेपालीलाई भएको छ त?’


Friday, May 17, 2013

कान्दाका हामी साना साना बालबालिका..




लोत्थर गाविसको विकट गाउँ मानिएको कान्दाका बालबालिकाहरु । 

Monday, May 6, 2013

डिग्री गरेका युवा माछा पाल्दै




विज्ञान विषयमा डिग्री गरेका सात युवाहरु अहिले समुहमा बाँधिएका छन् । फरक फरक जिल्लाका उनीहरु सबै विज्ञानको मास्टर तहमा पढ्दा एकअर्कासँग परिचित भएका हुन् । उनीहरुको परिचयले अहिले गाढा रुप लिएको छ । त्यसैले उनीहरु सबै ‘द कोरोना अफ एग्रिकल्चर’ मा आबद्ध छन् । आफ्नै पहलमा खोलिएको कोरोना फर्मबाट माछापालनमा सहभागी छन् ।
फर्ममा सप्तरीका राहुल रञ्जन, दाङका सुनिल पौडेल, चितवनका उत्तम गुरुङ, पाल्पाका मधु नेपाल, मोरङका खगेन्द्र गौतम, कास्कीका हेमन्त ढकाल र स्याङ्गजाका रविन रानामगर छन् । उनीहरु सन् २००७–२००९ का एमएसी जुलोजीका विद्यार्थी हुन् । २५ देखी ३५ वर्ष उमेर समुहका उनीहरु कृषिलाई नयाँ तरिकाबाट अगाडि बढाउन चाहन्छन् ।
उनीहरुले गुञ्जनगर गाविसको शंकरचोकमा ५ विघा १४ कठ्ठा जग्गा भाडामा लिएर माछापालन गरिरहेका छन् । दुई वर्ष अघि १० लाख खर्च गरेर सुरु गरेको व्यवसायमा अहिले ३० लाख लगानी भैसकेको राहुलले जानकारी दिए । ‘माछाबाट भएको आम्दानी पनि हामीले यसैमा लगानी गरेका छौं’ उनी भन्छन् –‘अहिले हामी माछापालनलाई अध्ययन र अनुसन्धानको रुपमा अघि बढाईरहेका छौं ।’
स्नातकोत्तरमा माछासम्बन्धी अध्ययन गरेका राहुल र सुनीललाई माछापालनबारे जानकारी छ भने अरु ३ जनाले वातावरण विज्ञान र २ जना परजीवी विज्ञान पढेका छन् । माछापालनलाई स्याहार गर्ने जिम्मेवारी भने राहुल र सुनीलले गरेका छन् । पोखरी नजिकै सानो घर बनाएर बसेका उनीहरु पूरै समय माछाको स्याहार र पोखरीको हेरचाहमै बिताउँछन् ।
बाँकी ५ जना आ–आफ्नै क्षेत्रमा व्यस्त छन् । उनीहरु माछाको ‘मार्केट’ विस्तारमा सहभागी छन् । हरेक महिना भेटघाटको लागि गुञ्जानगर आउँछन् । सामुहिक मिटिङ्ग गर्छन् । भएका प्रगति बाँड्छन् र आगामी योजनाको बाटोहरु बनाउँछन् ।
लोकल जातका माछा बचाउने र माछामा आत्मनिर्भर बनाउने सोचका साथ उनीहरु यो पेशामा जोडिएको राहुल बताउँछन् । पढेकाले खेती गर्न हुँदैन जागिर नै खानुपर्छ भन्ने सोचलाई बदल्न चाहन्छन् । त्यसैले उनीहरु अहिले अनुसन्धानमा व्यस्त छन् । ‘इजरायलमा एक हेक्टरमा १८ टन माछा उत्पादन गर्छन्’ नेपालको माछा उत्पादन दरलाई बढाउन कोशिस गरेको बताउँदै राहुल भन्छन् –‘यहाँ अहिले प्रति हेक्टर चार टन हुन्छ, त्यसलाई बढाएर १८ नसके नी ८ टन त पु¥याउन सक्छौ नी ।’
अनुसन्धानमा आधारित रहेर माछापालन क्षेत्रको विकासका लागि राहुलले नेपाली सेनाको जागिर पनि छोडेका छन् । नेपाली सेनामा एसिस्टेन्ट केमिस्ट पदमा ४ वर्ष बिताएका उनले माछापालनमा नै आफ्नो भविष्य देखेका छन् । ‘जागिरमा चुनौती थिएन, मज्जा आएन’ राहुलले भने–‘म नयाँ नयाँ प्रयोग गर्न रुचाउने मान्छे, अरुलाई पनि रोजगारी दिनसक्ने काम गर्छु भनेर यता आएँ ।’ पढेका र नयाँ प्रयोग गर्न सक्ने युवाको कृषि क्षेत्रलाई आवश्यकता रहेको उनी बताउँछन् ।
१२ महिनामा एक पटक माछा उत्पादन गर्ने प्रचलन रहेकामा उनीहरुले १४ देखी १६ महिनाको बीच दुई पटक माछा उत्पादन गरेका छन् । कुन समयमा कसरी दाना दिँदा माछा बढ्छ, माछामा लाग्ने रोगहरु कसरी निर्मुल गर्न सकिन्छ, माछापालनमा प्रविधिहरुको प्रयोग, स्थानीय जातिका माछाबाट कसरी फाईदा लिने र अर्गानिक माछाको उत्पादन र बजार विस्तार कसरी गर्ने भनेर आफुहरुले अनुसन्धान गरी राखेको राहुलले बताए । उनीहरुको समुह माछापालनमा लागेपछि अहिले अरु शिक्षित युवाहरुलाई पनि प्रेरणा मिलेको छ ।